२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

टिकट काउण्टर महिलामैत्री नहुँदा महिलालाई निकै असहज

शुक्रवार , बैशाख १२, २०८२

बुटवल, १२ वैशाख । नेपालका बसपार्कहरुमा महिलामैत्री टिकट काउण्टर नहुँदा महिला यात्रुहरुले असहज महसुस गर्नुका साथै विभिन्न समस्याहरु झेल्नुपरेको छ । खास गरी महिला र पुरुषका लागि अलगअलग टिकट काउण्टर नहुँदा पुरुषसँगै लाइन लाग्नुपर्ने, भिडभाडमा पुरुषसँगै ठेलमठेल गर्नुपर्ने, कर्मचारीमा अनुशासनको अभाव, लाइन पनि व्यवस्थित नहुने लगायतका समस्याहरु रहेको महिला यात्रुहरु बताउँछन् । चाडपर्वका बेलामा यो समस्या कयौं गुणा बढी हुने उनीहरु बताउँछन् । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासकी मन्जु बस्नेतले चाडपर्वका बेला निकै भिडभाड हुने भएकोले महिला यात्रुहरुले निकै सास्ती खेप्नुपरेको बताइन् । उनले आफूले महिलामैत्री टिकट काउण्टरका लागि आवाज उठाइरहेको बताइन् । पश्चिम नेपाल बस प्रा.लि.को सल्लाहकार समेत रहेकी बस्नेतले महिलाहरुले टिकट काट्दा पुरुषहरुको भर पर्नुपर्ने अवस्था रहेको बताइन् । यसको अन्त्य गर्न सरकार र व्यवसायीहरु गम्भिर हुनुपर्ने उनको धारणा छ । 

तिलोत्तमा नगरपालिका, मणिग्राम निवासी व्यवसायी तथा सल्लाहकार बिना न्यौपानेले आफू बस व्यवसायी भए पनि कतिपय अवस्थामा यात्रा गर्दा महिलामैत्री काउण्टर र व्यवहारको अभाव र असहजता महसुस गरेको बताइन् । यसका लागि आफनो तर्फबाट प्रयास गरिरहेको उनले जानकारी दिइन् । 

बालबालिका, गरगहना साथमा हुने भएकाले हराउने वा चोरी हुने डर, टिकट काउण्टरमा महिला कर्मचारी पनि नहुने लगायतका कारण अत्यन्तै असहज अवस्थाबाट गुज्रिनुपरेको महिला यात्रुहरुको भनाइ छ । 
पुरुष यात्रु वा काउन्टरका कर्मचारीले महिला यात्रुहरुलाई सहजै टिकट उपलब्ध गराउने, सवारीसाधन सम्बन्धी जानकारी गराउने, यात्राको विषयमा सहजीकरण गर्ने लगायतका विषयमा सहानभुति देखाए पनि टिकट प्रदान गर्ने सवालमा भने पुरुषसरह नै भिड्नुपर्ने बाध्यता रहेको महिलाहरु बताउँछन् । 

बस सञ्चालकहरु भने काउण्टरलाई व्यवस्थित गरी महिलामैत्री बनाउने प्रयास भइरहेको बताउँछन् । कर्मचारीहरुलाई तालिम प्रदान गरी महिलामैत्री ढंगले यात्रुहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले काउण्टरसमेत व्यवस्थित गर्ने प्रयास गरिएको बस सञ्चालकहरुको दावी छ । उनीहरु भन्छन्–‘हामीले महिला यात्रुहरुलाई पुरुषलाई भन्दा बढी प्राथमिकतामा राखेर टिकट व्यवस्थापन गर्दै आएका छौं ।’

पश्चिम नेपाल बस प्रा.लि.का अध्यक्ष दधिराम खरेलले काठमाडौं र लुम्बिनी प्रदेशमा रहेका टिकट काउण्टरमा महिला कर्मचारी राखेर महिलामैत्री सेवा प्रदान गर्ने योजना अघि सारिएको बताए । पाल्पाबाट सुरु भएको महिलामैत्री काउण्टर सेवालाई क्रमशः देशैभरी लागू गर्ने योजना रहेको अध्यक्ष खरेलले जानकारी दिए । पाल्पाको तानसेनमा रहेको टिकट काउण्टरमा महिला कर्मचारी रहेको र महिलामैत्री सेवाको सुरुवात भइसकेको अध्यक्ष खरेलको दावी छ । महिला कर्मचारी हँुदा बढी अनुशासन, इमान्दारिता र कर्तब्यबोधको पालना हुने खरेलले विश्वास व्यक्त गरे । अध्यक्ष खरेलले भने–‘अब निकट भविष्यमै यो व्यवस्था लागू गर्छौं।’

राज्यका सबै तहमा महिला मैत्री, अपांगमैत्री, बालबालिकामैत्री लगायतका समतामूलक ढंगले सेवा प्रदान गर्ने नीतिगत व्यवस्था छ । तर, यातायातको क्षेत्रमा यो लागू हुन नसकेको आम नागरिकको भनाइ छ । अझ चाडपर्वका बेला त निकै समस्या झेल्नुपर्ने बाध्यता रहेको यात्रुहरु बताउँछन् । 

दैनिक लाखौं मानिसहरुले यात्रा गर्ने यातायात क्षेत्रमा काउण्टर व्यवस्थापन, टिकट व्यवस्थापन र महिलामैत्री सेवाको व्यवस्था लागू गर्न भने कसैको ध्यान पुगेको छैन । यसतर्फ स्थानीय प्रशासन, प्रहरी, यातायात व्यवसायी, कर्मचारी सबैको पहल आवश्यक रहेको आम सर्वसाधारणको धारणा छ ।