
शुक्रवार , बैशाख १२, २०८२
लुम्बिनी, १२ वैशाख । लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको सम्मेलन बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिरिङ) ले समापन गरेका हुन् । विश्व सम्पदा सम्मेलनले लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनमा ठूलो सहयोग पुगेको धारणा व्यक्त गर्दै सम्मेलन समापन घोषणा गरेका हुन् ।
लुम्बिनी विकास कोषको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातत्व विभाग, युनेस्को र आईकोमोस नेपालको सहयोगमा आयोजित सम्मेलनले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको संरक्षणबारे स्थलगत अनुगमन निरीक्षण गर्दै लुम्बिनीको पुरातात्विक महत्व, संरक्षण, अनुसन्धान र लुम्बिनीलाई आध्यात्मिक बनाउने विषयमा विशेष रुपमा छलफल र विमर्श भएको थियो ।
सम्मेलनमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले पुरातत्व विभाग र युनेस्कोले दिएको निर्देशन र सुझावको आधारमा गरेको कार्यप्रगति प्रस्तुत गरेका थिए । सम्मेलनमा डरहम विश्वविद्यालय युके प्राध्यापक रोबिन कोनिङ्घमले पुरातात्विक खोज तथा अनुसन्धानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै लुम्बिनी विकास कोषको विश्व सम्पदा इकाईका वरिष्ठ निर्देशक तथा प्रमुख ज्ञानिन राईले तीर्थयात्रा व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा सम्पदा व्यवस्थापनमा अन्तर्राष्ट्रिय विशेषज्ञ डा. काई वेइसले पुरातात्विक महत्व र गुम्बा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष गेशे जिग्दोलले लुम्बिनीमा धार्मिक महत्वबारे चर्चा गरेका थिए । दुईदिन आयोजना भएको सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवद्र्धन र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वरिपरी भइरहेका पूर्वाधार निर्माण र प्रदूषणका कारण परेको प्रभावबारे सुधारको लागी पहल गर्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij