२०८२, मंसिर २९ गते

Dec 15 2025 | २०८२, मंसिर २९ गते

मुख्यमन्त्री आचार्यको दावी : विकासका उपलब्धीहरू संघीयताको परिणाम हुन्

शुक्रवार , बैशाख १२, २०८२

  • 967
    Shares
  • 967
    Shares
  • पाल्पा, १२ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयता लागू भएपछि विकासको गतिले फड्को मारेको र यसलाई उपलब्धीको रूपमा लिनुपर्ने बताएका छन् । रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था पाल्पाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संघीयता लागू भएपछि प्राप्त भएका उपलब्धीहरूलाई नजरअन्दाज गर्न नहुने बताएका हुन् ।

    ‘संघीयता लागू भएपछि के भयो ? उपलब्धीहरूको चर्चा गर्न जरुरी छ । सडक कालोपत्रे गाउँ छिरेको २०७४ सालपछि हो । प्रदेश स्थापना भएदेखिका उपलब्धिलाई हेरौं’ उनले भने–‘२०७४ सालअघि के थियो, त्यसपछि के भयो तुलना गरौं । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतमा भएका उपलब्धिलाई हेर्न जरुरी छ ।’

    स्वास्थ्यतर्फ लुम्बिनीले भौतिक पूर्वाधार विकासमा प्रगति गरेको र अब सेवाको प्रभावकारिताका लागि ध्यान दिने उनले बताए । ‘अस्पतालहरू बनेका छन् । अब सेवालाई बढाउन जरुरी छ’उनले भने–‘सेवा प्रवाहलाई चुस्त बनाउने योजना प्रदेश सरकारसँग छ ।’ महत्वपूर्ण र उपलब्धि देखिने योजनाहरूलाई बहुवर्षीय योजनामा समावेश गर्दै सरकार अघि बढ्ने उनले स्पष्ट पारे ।

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा शुद्ध खानेपानीको पहुँच सबै नागरिकसम्म पुर्याउने प्रतिवद्धता दोहोर्याउँदै ‘एक घर एक धारा’ अभियानकै कारण १५ लाख घरधुरीमा खानेपानीको धारा पुगेको बताए । अधुरा रहेका खानेपानीका योजनाहरू पूरा गर्दै प्रदेशका सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने योजना रहेको उनले उल्लेख गरे ।

    त्यस्तै, मुख्यमन्त्री आचार्यले सामाजिक संघ–संस्थामा राजनीतिक विचारको लडाई आवश्यक नरहेको स्पष्ट पारे । ‘संघ–संस्थामा कुनै जुंगाको लडाइँ लड्नु छैन । राजनीतिक गन्ध नआउने गरी सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न जरुरी छ, ’उनले भने, ‘जनताको निम्ति, सेवाको भावना भएका व्यक्तिलाई नेतृत्वमा पठाउन प्रेरित गर्न जरुरी छ ।’

    विकासका लागि एउटै पार्टी बन्न आवश्यक रहेको उनले धारणा राखे । ‘विकासका निम्ति तपाईंहरू एउटै पार्टी बन्नुस् । कुनै पनि संघ–संस्थामा पार्टीको विचार बोकेर, जुंगाको लडाइँ लडेर जानुपर्छ भन्ने छैन’ उनले भने, ‘विकासको ठाउँमा तपाईंहरू एक ठाउँमा उभिन सक्नुपर्छ । जहाँ विकासको नाममा एक ठाउँमा उभिन सक्नु भएको छ, त्यहाँ विकासले फड्को मारेको छ ।’