
आइतवार , बैशाख १४, २०८२
त्यो २०७२ साल अनि आज २०८२ साल
एकदशकको फन्को लगाएर
वैशाख १२ गते फेरि आएको छ।
त्यो भयाभह दिनको झझल्को दिलाएको छ।
सन्चोभैसकेको घाउलाई फेरि कोट्याएको छ।
१२ वर्ष अघिको त्यो वैशाख १२ ,
भुइँमात्र हल्लिएको थिएन,
विशाल भवन र इमारत मात्र टुटेका थिएनन्
हल्लिएको थियो हाम्रो भरोसा, भविष्य,
र टुटेका सपनाका भित्ताहरु ।
संसार अघि बढ्यो,
कसैले अन्तरिक्षको फेरो लगाए
कोही चन्द्रमामा घुमेर आए
ढलेका इँटामाथि उठे महलहरू,
घाउहरूलाई सिलाएर
फेरि हाँस्नथाले शहरहरू ।
तर हाँसेनन् गाउँघरहरु।।
मरिरहे युवाहरुका रहरहरु।।
हामी अझै उहीँ छौँ।
हाम्रो देशको हाल उही छ।
देश छोडेर जानेहरुको लर्को उस्तै छ।
देश लुटेर खानेहरुको जमर्को उस्तै छ।
पदमा पुगेकाहरुको अकर्मण्यता उही छ।
पदमा नपुगेकाहरुको पदलोलुपता उही छ।
यही देशमा बस्छु ,
देशकैलागि केही गर्छु
भन्नेहरुको जमात घट्दोछ,
देशको माया मारेर
देशमा भविष्य नदेखेर
विदेश पलायन हुनेहरुको बथान बढ्दो छ।।
भत्किएको सपना बोकेर
धुलोमाटोको गन्धमै बाँचिरहेका
भुँइमान्छेको हाल उही छ।।
हामीलाई फेरिनु छैन जस्तो लाग्छ कहिल्यै,
दुखद स्मृतिहरूले बाँधेको छ आत्मालाई,
न हामीले सुधृने कोशिस गर्यौं
न उनीहरुले सुधृने कोशिस गरे
हामी सहनशील भएर हेरीरह्यौं
उनीहरुले देशदोहन गरीरहे।।
र प्रत्येक वैशाख १२ आउँदा,
फेरि उही सम्झनाको दलदलमा
भासिन्छ मन।।
विगत सम्झेर झस्किन्छ मन।।
वर्तमान देखेर तर्सिन्छ मन।।
तर पनि एक दिन
त्यो उज्यालो दिन आउनेछ,
सानाहरुको घाउमा मलम लगाउनेछ
यो देशले विकास र उन्नतिको गति समाउनेछ।
हरेक नेपालीको मुहारमा चमकछाउनेछ।।
भन्ने दृढ विस्वास बोकेर
अन्तरात्माको पुकार सुनेर
ढुक्क हुन्छ मन।।।।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij