
बुधवार , चैत्र ११, २०७७
बुटवल, ११ चैत । १४ वर्षअघि अन्तरजातीय अर्थात भागी विवाह गरेकी कास्की पोखराकी सुमि अधिकारीलाई अहिले सम्झँदा पछुतो लाग्छ । कक्षा १० पढ्दै गर्दा रविन लोहनीको मायाजालमा फस्न पुगेकी सुमीले माया खाउँला माया लाउँला भन्दै भागेर प्रेमीसंग बुटवल आएको बताउँछिन् ।
मायाको अगाडी न धनी न गरिब । न ठुलो न सानो, न ब्राम्हण न दलित । न कालो न गोरो । भर्खर १६ वर्षे जोवनले ढाकिएकी सुमीले त्यति बेला आँखै देखिनन् रे । आफन्तै पनि चिनिनन् रे, कसैको कुरा सुनिनन् रे । उनको आँखा खुल्दा ढिलो भइसकेको थियो रे, पश्चातापमा जल्नुबाहेक कुनै विकल्प छैन रे अहिले उनीसँग किनकी अहिले सबै टाढा भएका छन् उनिबाट, सबै पराई सरह भएका छन् ।
उनी सम्झिन्छिन-सबैतिर अन्धकार देखिन्थ्यो, केवल एउटा बाटो उज्यालो थियो त्यो मायाको बाटो । नाता गोता ईष्टमित्र सबै पराई लाग्थे, आफन्त लाग्थ्यो त केवल त्यो मायाको पाटो । कसैको आश, भरोसा र बिश्वास लाग्दैनथ्यो, केवल लाग्थ्यो भरोषा उसको मात्रै सबैको साटो । तर अहिले त्यो सबै फगत लागिरहेछ, झुठो लागिरहेछ, किनभने साँझ बिहान पापी पेटले जव खोज्छ मोही र आटो ।
सुमीले आफैले उठाएको कदमका कारण आज आमा, बुवा, दाजु भाई, ईष्टमित्र, साथीभाई, नाता कुटुम्ब सबै उनीदेखि धेरै टाढा छन् । कसैलाई सम्पर्क गर्ने हिम्मत छैन उनीसँग, किनभने एउटा पराईको माया र प्रेम अनि दलित समुदायको पुरुष भएका कारण उनले ती सबै आफ्नालाई त्यागेकी थिइन् । उनीहरुले पनि सायद अब माया मारिसके होलान, सुमीलाई खोज्दैनन् अनि सोध्दैनन् पनि । कलिलै उमेरमा मायामा फसेकी सुमीलाई अहिले बल्ल चेत खुलेको छ, मायाको परिभाषा बुझेकी छन् ।
बुटवलमा केही समयको बसाईपछि विस्तारै ब्राम्हण समुदायकी चेली सुमी र दलित समुदायका छोरा रबिनबीच ठाकठुक पर्न थाल्यो । माया प्रेममा डुबेका बेला गुमाएको होस चेत बल्ल खुल्न थाल्यो । जातपातका कुरा चल्न थाले, झगडा हुन थाल्यो, कुटाकुटै नै भयो कयौं पटक । दैनिकजसो राती रबिनले मदिरा सेवन गरेर आउने र झगडा गर्ने अनि कुटपिट गर्ने गरेको सुमी बताउँछिन् । कहिले झगडा गरेर बाहिर निस्कने र हप्तौं दिनसम्म कोठामा नआउने गर्दा उनी पटक पटक घरवबटीले घर निकाला गरेर बिचल्लीमा परेको समेत बताउँछिन् ।
कयौं दिन कयौं रात रोएर बिताइन् । पतिले कमाएर घरमा नल्याउने, उल्टै मलाई खान ल्या नत्र निस्की जा भन्न थालेपछि उनी बल्ल झस्किइन् पोखरा सम्झिन्, माइती सम्झिन्, साथीभाई सम्झिन्, सबै सम्झिन्। सुमीले जसलाई सम्झिन् उनीहरुले भने बिर्सिसकेका थिए, अर्थात उनका लागि ती ढोकाहरु सबै बन्द भइसकेका थिए ।
बल्ल उनी झल्याँस्स भईन् छाँगाबाट खसे जस्तो भइन् उनले टेकेको जमिन भासिँदै गएको जस्तो लाग्न थाल्यो । तर गर्न के नै सक्थिन र सहनुबाहेक अरु कुनै विकल्प थिएन उनीसंग । पेटका लागि केही त गर्नै पर्यो भनेर सोच्न थालिन, विभिन्न ठाँउमा दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने जोहोको खोजी गर्न थालिन् । उनी भन्छिन्—समस्या कति परे कहिले खाएर सुतियो कहिले भोकै । ज्याला मजदुरीदेखि झाडुपोछा सबै गरें । पापी पेटले दुःखसुख सबै सिकायो जीवन जिउनका लागि ।
बुटवलमा कतै सुन पसलमा कालीगढको काम गर्ने रविनको काम थियो घरमा राती मदिरा सेवन गरेर आउने, पैसा माग्ने, नदिए गाली गर्ने, कुटपिट गर्ने र बाहिर निस्कने अनि कयौं दिन हराउने कता हो कता । बिचरी सुमी जस्को लागि आफ्नो सबै संसार छोडेर आइन् उसैले सताउन थालेपछि उनको के हालत भयो होला, उनले भनेका सबै कुरा योे यहाँ लेख्न पनि सक्दिैन ।
कतिपटक उनि आत्महत्या गर्ने सोच समेत बनाएर हिडिन् । केही वर्ष यस्तै बिते, अन्तिममा उनलाई पापी मायाले फेरी एक पटक लपेट्यो, अर्थात एकपटक फेरी उनि रविनको मायामा लटपटिन पुगिन, उनले एक छोरालाई जन्म दिईन् ।
उनले कारण खुलाईन्—बच्चा पाएपछि त पति सुध्रिन्छन की भनेर ? आफुलाई पनि माया गर्छन की ? घर व्यवहार सम्हाल्छन की ? आफुलाई समाजले हेर्ने दृष्टिकोण बदलिन्छकी ? लगायतका अनगिन्ती आशावादी प्रश्नहरुले घेरिएर उनी आमा बन्न तयार भएको बताउछिन् ।
सेरिएर मर्न नसकेर यस्तो निर्णय गर्न पुगेको उनको भनाइ छ । तर उनलाई थप जिम्मेवारी बढेको भए पनि रविनको चाल पुरानै थियो । जस्ले गर्दा उनलाई सुधार केन्द्रसम्म पनि पुर्यायो तर फेरी उस्तै । परिवार संख्या बढ्यो २ बाट ३ भयो । छोराको पालनपोषण कसरी गर्ने, आफुहरु कसरी बाच्ने ? दुःखजिलो, ऋणधन, सापटी गर्दै जीविका चलाउँदै, छोराको पालनपोषण गर्ने जिम्मेवारी बहन गर्दै अघि बढिन् ।
अब मैले केही गर्नुपर्छ भन्ने अठोटका साथ सुमीले केही ऋण, केही सापटी, केही उधारो गर्दै कोरोना कहरकाबीच एउटा ई—रिक्सा भन्ने तीन पांग्रे सवारी किनिन्—ना १ ह ५२१७ नम्बरको अटोरिक्सा, र चलाउन थालिन बुटवलका सडक र गल्लीहरुमा । सानो दुधे बालक, काखमै राखेर, पछ्यौराले बाँधेर बिहानदेखि साँझसम्म बुटवल सडक तथा गल्लिहरुमा ई-रिक्सा चलाउँछिन् ।
उनलाई देख्नेहरुले भन्ने गर्छन मान्नै पर्छ यो महिलाको हिम्मत, तर उनको त्यो विवशताको पछाडीको कथा कसैलाई थाहा छैन, बताउँदिनन् पनि । किनभने आफ्ना कथा व्यथा बताएर कठै बिचरा भन्नेबाहेक कुनै उपलब्धी हुन सक्दैन भन्ने सुमीले राम्ररी बुझेकी छन् ।
तर एउटा आशा छ, उनलाई भरोषा छ, भविष्य पक्कै पनि उज्यालो छ किनभने अँध्यारो रातपछि उज्यालो दिन पनि आउँछ । उनी त्यही उज्यालोको व्यग्र प्रतिक्षामा छिन, उज्यालो भविष्यको पर्खाइमा छिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij