
मंगलवार , बैशाख १६, २०८२
भैरहवा, १६ वैशाख । सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवा मण्डपका लागि तत्काल आवश्यक जग्गा व्यवस्थापन गर्न सिद्धार्थनगर नगरपालिकासँग माग गरेको छ । सोमबार नगरप्रमुख (मेयर) इश्तियाक अहमद खानलाई ध्यानाकर्षण–पत्र बुझाउँदै सञ्जालले भैरहवा मण्डपको आवश्यकता रहेको बताएको छ ।
‘यस क्षेत्रमा अति नै महत्वपूर्ण विकासको पूर्वाधारमध्ये भैरहवा मण्डपको आवश्यकता रहेको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । विभिन्न राजनीतिक दलको कार्यक्रम, मेला महोत्सव, ठूला ठूला आमसभा लगायत विभिन्न वस्तुगत महोत्सवहरु सञ्चालन गर्नका लागि अति नै आवश्यक भैरहवा मण्डपको लागि जग्गाको व्यवस्थापन गर्नु आजको अति नै आवश्यकताको विषय रहेको छ, ’उनले भने ।
विगत केही वर्षदेखि सिद्धार्थ क्रिकेट रंगशालामा विभिन्न प्रतियोगिताहरु आयोजना भइरहेको र केही वर्षदेखि सिद्धार्थनगरको अञ्चलपुरस्थित उद्योगी सीताराम उप्रेतीको निजी जग्गामा मेला महोत्सव सञ्चालन हुँदै आइरहेकोमा त्यहाँ पनि क्यान्सर अस्पताल निर्माण हुने भएकाले भैरहवा मण्डपका लागि जग्गा खोजी गर्नुपर्ने अवस्था रहेको अध्यक्ष ज्ञवालीको भनाइ छ ।
सिद्धार्थनगर नगरपालिकाभित्र नभए मायादेवी, ओमसतिया र रोहिणी गाउँपालिकामा भए पनि जग्गा व्यवस्थापन गर्न संघीय सरकारसँग पनि पहल गर्न सञ्जालले मेयर खाँलाई आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij