२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

यी उपलब्धीलाई भुलेर गणतन्त्रलाई गाली ?

बुधवार , बैशाख १७, २०८२

समाजमा सकारात्मक विषयको खडेरी परेको होइन बरु सकारात्मक बहसको चाहिँ खडेरी परेको हो । मानिसमा नकारात्मक भावनाको रुची जगाउने विभिन्न गैह्र जैविक तत्वहरु सक्रिय छन् । आम रुपमा प्रयोग हुने गरेको जलवायु परिवर्तनको कारण पनि मानिसका हर्मोनमा सकारात्मक ग्रन्थी कमजोर हुँदै गएको पो हो कि ? यो जैविक शास्त्रीहरुको खोजीको विषय हो ।

अचेल मानिसको झुकाव कतातिर छ भनेर जाँच गर्ने सजिलो विधि छ । त्यसका लागि आफ्नै पहुँचमा भएको सामाजिक सञ्जालमा कसैको प्रशंसा, उपलब्धी, विकास, उन्नतिका कुरा राख्नुहोस् । मानिसहरुको प्रतिक्रिया न्यून आउँछ । सकारात्मक आशयको सामाजिक सञ्जालको कथनमा पनि कतिपय प्रतिक्रियाहरु चाहिँ नकारात्मक दिशातिर नै निर्देशित हुन्छन् । उस्तै समयमा अर्को सामग्री सामाजिक सञ्जालमा राख्नुहोस् जहाँ कसैलाई गाली, आरोप, होच्याउने भाषा प्रयोग गरिएको हो । त्यसमा असंख्य मानिसहरु धुइरो लाग्दछ । त्यसले देखाउँछ मानिसहरुको रुची सकारात्मकता भन्दा नकारात्मकतातिर बढी छ । सकारात्मकताभित्र पनि नकारात्मक भावना खोज्न केही मानिसलाई भ्याइनभ्याइ छ ।

निश्चित व्यक्तिबाट सञ्चालित सामाजिक सञ्जालले बाँड्ने नकारात्मकताको खेतीबाट बाहिर निस्किएर एकपटक हेरौं नेपाल कहाँ थियो र अहिले कहाँ छ ? पञ्चायतका ३० वर्षमा नेपालले गरेको उन्नती ज्यादै न्यून थियो । त्यसबेला ‘मौसुफको इच्छा’ बमोजिम विकास र बजेटको बाँडफाँड हुँदा जनताको आवश्यकता प्राथमिकतामा पर्दैन थियो । बहुदलपछि राजा संवैधानिक बने । प्रधानमन्त्री कार्यकारी बने । जनताले चुनेको संसद्ले जनताका आवश्यकतालाई सम्बोधन गर्नेतिर देश उन्मुख भयो । जसले गर्दा विकासमा पारदर्शिता र तीव्रता आउन थाल्यो । सामाजिक सञ्जालमा गरिएका केही मिथ्या खेतीसँग वास्तविक तथ्यांकको लेखाजोखा गर्दा थाहा हुन्छ देश पञ्चायतमा भन्दा प्रजातन्त्रकालमा, प्रजातन्त्रकालमा भन्दा गणतन्त्रकालमा विकास र आर्थिक सामाजिक सूचकहरु तीव्र गतिमा अघि बढेका छन् । यसै सरोफेरोमा बहुदलका ३३ वर्ष र गणतन्त्रका १७ वर्षमा नेपालमा विकास र सामाजिक अवस्थामा भएको सकारात्मक परिवर्तनलाई यसरी हेरौं ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘वि.सं. २०४७ सालपछिको आर्थिक सामाजिक रुपान्तरणको अवस्था’ पुस्तिकाका अनुसार बहुदलीय व्यवस्थाको स्थापना भएसँगै देश बन्द अर्थतन्त्रबाट खुला अर्थतन्त्रमा प्रवेश गरेको हो । त्यसपछि नेपालको आर्थिक वृद्धिदर औसतमा ४ प्रतिशतभन्दा माथि रह्यो र प्रतिव्यक्ति आयमा पनि वृद्धि हुँदै गएको हो । समाजमा एउटा भाष्य स्थापित गर्ने अनवरत प्रयास जारी छ । विकास भएन, नागरिक झन् झन् गरीब भए । रोजगारी साँघुरियो । सामाजिक सुरक्षाको प्रबन्ध झन् कमजोर भयो । लोक कल्याणकारी काममा सरकारहरु असफल भए । तर, के यी आरोप सत्य हुन् त ? होइनन् तथ्यांकले यी सबै सूचकहरुमा सकारात्मक परिवर्तन भएका देखाएका छन् ।

घटे गरीब, पुरिँदै गरिबीको खाडल
पछिल्ला तीन दशकमा नेपालको गरिबी प्रतिवर्ष १.५ प्रतिशत विन्दुले घटेको छ । २०५२ सालमा निरपेक्ष गरिबी औसतमा ४२ प्रतिशत थियो । २०६१ मा ३१ प्रतिशत र हाल यो दर २० प्रतिशतमा झरेको छ । यस अवधिमा समग्र गरिबीको दरमात्र घटेको होइन, सहर र गाउँको गरिबीको खाडल पनि तीन दोब्बरले घटेको छ । २०५२ सालमा शहरी र ग्रामीण गरिबीको फरक २१ प्रतिशत थियो भने हाल उक्त दर ७ प्रतिशतमा झरेको छ । यस कुरालाई अर्को तथ्यांकले पनि पुष्टि गरेको छ । त्यो हो २०५२ सालमा समाजको सबैभन्दा तल्लो १० प्रतिशत गरिब र माथिल्लो १० प्रतिशत धनी वर्गको अन्तर ९ गुणा थियो । २०६१ र २०६८ मा यो विभेद बढेर गयो । तर, हाल धनी र गरीबबीचको असमानता घटेर ६ प्रतिशतमा झरेको छ । यसलाई उन्नती मान्ने कि अवनति ? उपलब्धी मान्ने कि क्षति ?

३० वर्षमा १२ गुणाले बढ्यो सडक, ९ वटा जहाज कम्पनी थपिए
प्रधानमन्त्री कार्यालयका अनुसार २०४७ सालमा नेपालको सडकको कुल लम्बाइ ९ हजार किलोमिटर मात्र थियो । अहिले १ लाख ९ हजार मिलोमिटर सडक छ । तीन दशकमा सडकको लम्बाइ १२ गुणाले बढेको छ । प्रजातन्त्रको स्थापनापछि सडक विस्तारलाई सरकारहरुले प्रमुख प्राथमिकतामा राखे । २०५१ सालमा एमालेको सरकारले ‘आफ्नो गाउँ आफै बनाऊँ’ भन्ने कार्यक्रम अन्तरगत नागरिकले स्वतस्फूर्त रुपमा गाउँ–गाउँमा सडक बनाए । ती कच्ची सकडहरुलाई राज्यले ग्राभेल र पक्की बनाइदियो । गणतन्त्रको स्थापनापछि वैकल्पिक राजमार्गका रुपमा पहाडै पहाड नेपाल छिचोलिने गरी पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण भयो । चुरेको फेदैफेद मदन भण्डारी राजमार्ग बनाइयो । हुलाकी सडक निर्माणलाई तीव्रता दिइयो । उत्तरी नाकाबाट तराई जोड्ने उत्तर दक्षिण राजमार्गहरु निर्माण भए । जसले आम मानिसको जनजीवनलाई सहज मात्र बनाएको छैन रोजगारी वृद्धि र अर्थतन्त्रलाई चलायमान पनि बनाएको छ । २०५२ सालमा २५ प्रतिशत ८० प्रतिशत पुगेको छ ।

सडकको पहुँच बढेसँगै मानिसहरुको दैनिकी सहज बनेको छ । यातायातका साधन थपिएका छन् । पञ्चायतकालको अन्त्यमा करिब डेढ लाख वटा सवारीसाधन भएकोमा अहिले त्यो संख्या थपिएर ४० लाख पुगेको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

विद्युत र आवासमा पनि लामो फड्को
सडक यातायात मात्र होइन हवाइ यातायात पनि तीन दशकमा उसैगरी विस्तार भएको छ । २०४८ सालसम्म तत्कालीन शाही नेपाल वायु सेवा निगम हालको नेपाल वायु सेवा निगम एक मात्र सरकारी हवाइ यातायात कम्पनी रहेकोमा हाल निजी क्षेत्रका ९ वटा विमान कम्पनी नेपालमा थपिएका छन् । १२ वटाजति हेलिकप्टर कम्पनी थपिएका छन् । ६ वटा विमानस्थलमा रात्रीकलिन उडान अवतरण भइरहेको छ ।

सञ्चार र सुचना प्रविधिको क्षेत्रमा पनि नेपालीहरुले लोकतन्त्रकालमा अभूतपूर्व फड्को मारेका छन् । २०४७ सालमा प्रति ३ हजार मानिस बराबर एउटा टेलिफोन सेवा उपलब्ध थियो भने हाल एकजना नेपालीसँग एक भन्दा बढी मोबाइल फोन उपलब्ध छ । राष्ट्रिय जनगणना २०७८ अनुसार करिब ९३ प्रतिशत मानिससँग मोबाइल फोन उपलब्ध छ  । ७५ प्रतिशत मानिसहरु इन्टरनेटको पहुँचमा छन् भने देशको करिब आधा जनसंख्याले फ्रिजको प्रयोग गर्दछन् । राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा विं.सं. १९६८ सालमा नेपालमा विद्युत उत्पादन सुरु भए पनि पञ्चायतकाल भरी यसले उल्लेख्य गति लिन सकेन । पञ्चायतको आखिरी समयसम्ममा नेपालमा जम्मा २२७ मेघावाट विद्युत उत्पादन हुन्थ्यो । तर, त्यसयताका तीन दशकमा ३४०० मेघावाट उत्पादन भइरहेको छ । त्यतिबेला केवल १४ प्रतिशत घरपरिवारले विद्युत उपभोग गर्न पाएकोमा अहिले त्यो संख्या करिब शतप्रतिशत अर्थात ९७ प्रतिशत घरपरिवारले विद्युतको उज्यालो उपभोग गर्न पाएका छन् ।

यस अवधिमा नेपालीहरुले गुणस्तरीय आवासको सुविधा पनि बढेको छ । २०५२ सालमा ११ प्रतिशत मानिसहरु पक्की गारो भएको घरमा बस्ने गरेकोमा हाल करिब ६० प्रतिशत मानिसहरु सिमेन्टको गारो भएको घरमा बस्ने गरेका छन् । २०५२ सालमा ९० प्रतिशत परिवार फुसको छानो भएको घरमा बस्ने गरेकोमा हाल २० प्रतिशत परिवार मात्र फुसको छानो भएको घरमा बस्ने गरेका छन् । पक्की घरमा बस्ने परिवारको संख्या हाल ४० प्रतिशत पुगेको छ । जनताको आधारभूत सुविधाका लागि पछिल्ला सरकारहरु प्रयत्नशिल भइरहेका छन् । हाल ९५ प्रतिशत मानिसहरुले आधारभूत पिउने पानीको सुविधा पाएका छन् । शौचालय सुविधा भएका घरहरु तीन दशको अवधिमा २२ प्रतिशतबाट बढेर ९५ प्रतिशत पुगेका छन् ।

शैक्षिक सामाजिक अवस्था झनै मजबुत
भौतिक पूर्वाधार मात्र होइन नेपालीहरुको सामाजिक शैक्षिक अवस्था पनि राजतन्त्रकाल भन्दा पछि उल्लेख्य रुपमा सुधार भएको छ । २०४८ सालमा विद्यालय शिक्षामा ४६ लाख विद्यार्थी भएकोमा अहिले ५ लाख छन् । खुद भर्ना दर अहिले ९ प्रतिशत पुगेको छ । विद्यालय बाहिर करिब २ प्रतिशत बालबालिका छन् । तिनलाई पनि विद्यालय प्रवेश गराउन सरकारले प्रयत्न जारी राखेको छ । त्यसबेला नेपालीको साक्षरता दर ५४ प्रतिशत रहेकोमा हाल ७७ प्रतिशत पुगेको छ । महिला साक्षरता २५ प्रतिशत मात्र रहेकोमा हाल ६६ प्रतिशत पुगेको छ । व्यवस्था परिवर्तनसँगै सुरु भएको महिला स्वतन्त्रता, अधिकार प्राप्ती, सशक्तिकरण जस्ता विषयले नेपाली महिलाहरुको साक्षरतासँगै सामाजिक अवस्था पनि परिवर्तन भएको हो । २०४७ सालमा नेपालीको औसत आयु ५५ वर्ष रहेकोमा हाल ७२ वर्ष पुगेको छ । यस अवधिमा विस्तार भएको स्वास्थ्य सुविधा, खाद्यान्नको उपलब्धता आदि कारणले शिशु तथा बाल मृत्युदरमा व्यापक कमी आएको छ । जसले गर्दा २०४७ सालमा प्रतिहजार १३९ जना बालबालिकाको ५ वर्षको उमेर नपुग्दै मृत्यु हुने गरेकोमा हाल त्यो संख्या घटेर २७ मा झरेको छ । त्यसबेला प्रसुतिजन्य कारणबाट प्रति १ लाख महिलामा ८५० जनाको मृत्य हुने गरेकोमा हाल १५१ मा झरेको छ ।

संसदमा महिला ३ बाट ३३ प्रतिशत
राजनीतिक रुपमा पनि महिलाहरुको उपस्थिति बलियो हुँदै गएको छ । २०५१ सालको संसदमा ३ प्रतिशत महिला सांसद भएकोमा हाल ३३ प्रतिशत पुगेका छन् । स्थानीय तहमा त ४१ प्रतिशत महिलाहरु निर्वाचित भएका छन् । त्यसमध्ये २७ जना त प्रमुख पदमा कार्यरत छन् । पञ्चायतकालमा शुन्य अवस्थामा रहेको सामाजिक सुरक्षा कार्यक्रम प्रजातन्त्रकालमा सुरु गरियो भने गणतन्त्रकालमा यसको व्यापक विस्तार भयो । ज्येष्ठ नागरिक भत्ता लगायतका १३ वटा सामाजिक सुरक्षा कार्यक्रम सरकारले नागरिकलाई उपलब्ध गराइरहेको छ । मानव विकास सूचकांकमा पनि नेपालको उल्लेख्य सुधार भएको छ ।

शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था आदिमा भएको प्रगतिका कारण २०४८ सालमा ०.४० रहेको यो मान २०७८ मा बढेर ०.६० मा पुगेको छ । मानव विकास सूचकांक ०.५५ भन्दा माथि गएमा मध्यमस्तरीय मानव विकास भएको देशमा गणना हुन्छ ।

प्रजातन्त्रकालमा उकासिन थालेको नेपालीको प्रतिव्यक्ति आय गणतन्त्रकालमा अझ तीव्र गतिमा बढेको छ । त्यसबेला प्रतिव्यक्ति आय ७ हजार ६ सय ९० रुपैंया रहेकोमा हाल १ लाख ३६ हजार ७ सय ७ रुपैयाँ पुगेको छ । जसले नेपालीहरुलाई गरिबीको चंगुलबाट क्रमशः बाहिर ल्याउँदैछ । न्यून आयस्तर भएको देशबाट मध्यम आयस्तर भएको देशमा स्तरोन्तति गरिरहेको छ ।

निचोड
सूचना प्रवाहको अथाह गतिमा रहेको सामाजिक सञ्जाललाई माध्यम बनाएर नकारात्मक भावना फैलाइन्छ । क्षणभरमै लाखौं मानिसका बीच पुग्ने सञ्जालको बलियो स्रोतलाई प्रयोग गरेर नकारात्मकताको खेतीपाति गर्नेहरुले त्यसप्रकारका जानकारी प्रवाह गर्ने गरेका छन् । व्यक्तिव्यक्तिको पहुँचमा भएको यो सञ्जालमार्फत समाजलाई दिग्भ्रमित पार्नेहरुले समाजका सकारात्मक पक्षलाई छाँयामा पारेका छन् । उज्यालो पाटोलाई प्रवाह गर्न नसक्नु अर्काखाले सामाजिक सञ्जाल प्रयोगकर्ताको कमजोरी हो ।

नेपाली समाज विकासको संक्रमणकालीन अवस्थामा छ । यसले न पुराना मान्यताहरु छोड्न सकेको छ न त नयाँ मान्यताहरु पूर्ण रुपमा अंगिकार गर्न सकेको छ । ५० को दशकमा सुरु भएको सशस्त्र युद्धले नेपाली समाजलाई उथलुथल पारिदियो । मानिसले सोच्नै नसक्ने अपराधिक क्रियाकलाप यसै समयमा भए । मिलेर बसेको नेपाली समाजलाई जाति, धर्म, भाषा, भूगोल, समुदाय आदिका नाममा व्यापक रुपमा विभाजन गर्ने त्यसबाट राजनैतिक फाइदा लिने स्वार्थी राजनीतिको विजारोपण यसै समयमा भयो । २०६३ सालमा गणतन्त्रको स्थापना भएपछि समावेशी नेपाल निर्माणका लागि स्थापना भएका विभिन्न संस्था, तिनलाई सशक्तिकरण गर्नका लागि आएको वैदेशिक लगानी र त्यसबाट दिक्षित एउटा समूह नकारात्मकताको खेतिपातीको प्रमुख कारक बन्यो । जसले विद्यमान सामाजिक अवस्थामा सामन्तवाद देख्यो । आपसमा थिचोमिचो भएको सम्झियो र द्वन्द्वको बीउको रुपमा जाति, धर्म, भाषा भूगोल जस्ता अस्त्र प्रयोग भयो।

त्यसैले व्यवस्थालाई गाली गर्नुअघि आफूलाई हेरौं । आफ्ना बाबुबाजेलाई हेरौं । उनीहरु पहिला कस्तो अवस्थामा थिए अहिले कस्तो अवस्थामा छन् ? पहिला उनीहरुको चेतनास्तर कुन तहमा थियो ? अहिले कुन तहमा वृद्धि भएको छ । उनीहरुले परिवर्तन आफ्नै जीवनकालमा भोगेका छन् । ढाकर र तोक्मामा नुन चामल बोकेर पालिनुपर्ने अवस्थाबाट नेपालीले मुक्ति पाएका छन् । अहिले अधिकांश नेपालीहरु आधा घण्टाको पैदल दुरीमा सानासाना बजारहरु पाउन थालेका छन् । आखिर यी काम कसले गर्यो त ? हाम्रै सरकारले गर्यो, हाम्रै राजनीतिक दलका नेताले गरे, हाम्रै प्रणालीले गर्यो । स्वभाविक रुपमा यस्ता काम हुन्थे भने पञ्चायतका ३० वर्षमा पनि त हुन्थ्यो होला नि । त्यसबेला एउटा परिवारलाई केन्द्रमा राखेर तिनकै स्वार्थमा काम हुन्थे । अहिले आम जनताको हितलाई ध्यानमा राखेर काम हुन थालेको छ । त्यसबेला आफूलाई मन नपरेको कुरा बोल्ने र लेख्ने हक मानिसलाई थिएन तर अहिले गणतन्त्रले दिएको अभिव्यक्ति र राजनीतिक स्वतन्त्रतालाई उपभोग गरेर त्यही गणतन्त्रलाई गाली गर्ने हक कसले उपलब्ध गरायो होला ? 
(लेखक प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष हुन् ।)