२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

१२ वर्षको प्रोफेसर र हाम्रो २५ वर्षको बेरोजगार युवा–दोषी को ?

बिहिवार , बैशाख १८, २०८२


यो प्रश्न मेरा लागि एकदमै अनौठो र असम्भवजस्तो लाग्यो, जब बाबाले मलाई सुबोर्नो इसाक बारीको बारेमा सुनाउनुभयो । सुबोर्नो, एक बंगलादेशी मूलका अमेरिकी नागरिक, जसले १२ वर्षको उमेरमा विश्वविद्यालयमा पढाउने जिम्मेवारी पाएका छन् । उनी मात्र विद्यार्थी हैनन्, विश्वविद्यालयमा अन्य विद्यार्थीहरूलाई भौतिक विज्ञान पढाउँछन् । जब मैले त्यो कुरा सुनेँ, अचम्म मात्र हैन, म त स्तब्ध नै भएँ ।
सुन्न मात्र पनि गाह्रो लाग्ने कुरा हो । हामीकहाँ त्यो उमेरमा त बालबालिका कक्षामा किताब खोल्न सिकिरहेका हुन्छन् । तर, त्यहाँ अमेरिका जस्तो देशमा १२ वर्षको बच्चा विश्वविद्यालयमा पढ्दैछ, अनि अरूलाई पढाउँदै पनि छ । हाम्रो देश नेपालमा त १४ वर्ष नपुगी एसईई दिन पनि पाइँदैन । त्यही उमेरमा विदेशमा प्रोफेसर ? त्यसपछि मेरो मनमा एउटै कुरा गुञ्जियो– ‘हामी कता अड्कियौं ?’
‘ब्याचलर पास गरेपछि मात्र जागिर पाइन्छ’ भनिन्छ, अनि २५ वर्ष कटाउँछ, लाखौं लगानी गर्छ, डिग्रीको प्रमाणपत्र बोकेर अफिसको ढोका–ढोका धाउँछ, अनि अन्त्यमा रोजगारको साटो निराशा, केही घमण्डी अफिसरको हेला र ‘काम गर्न अनुभव छ ?’ भनेर सोधिन्छ । अब सोच्नुस् त–जसलाई काम गर्नै दिइएको छैन, उसले अनुभव कसरी देखाओस् ? कामको मौका नदिएर अनुभव माग्नु भनेको, ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भन्ने जस्तै हो । हामी कहाँ ‘काम गर्न सिक’ भन्दा पहिला ‘कागज देखाउ’ भन्ने चलन छ । यो कस्तो विडम्बना ?

हामीकहाँको यो विडम्बना हो–न नीति स्पष्ट छ, न अवसर समान छ, न नेतृत्व जवाफदेही छ । आजको तथ्य के हो भने, हरेक दिन २ हजार भन्दा बढी नेपाली युवा विदेश गइरहेका छन् । यो आँकडालाई सामान्य मान्न सकिदैन । ती २ हजार जनामध्ये अधिकांश सीप भएका, पढेलेखेका, देशप्रति केही गर्ने अठोट बोकेका युवाहरू हुन् । तर, उनीहरूले आफ्नो सीप, श्रम र समय देशलाई होइन, विदेशलाई बेच्न बाध्य छन् ।

देशको अवस्था यस्तो छ कि युवाहरूलाई स्वदेशमै अवसर छैन । भनिन्छ ‘सीपमाथि विश्वास गरौं’–तर, जब काम दिनुपर्ने बेला आउँछ, भन्छन् ः ‘ब्याचलर पास छैन’, ‘अनुभव छैन’, ‘सिफारिस चाहिन्छ ।’ रोजगार कार्यालयहरूमा ‘घूस’, ‘सिफारिस’ र ‘पहुँच’ बिना जागिर पाउन मुस्किल छ । पहुँचवालाहरू पदमा पुग्छन्, बाँकीले विदेश जान टिकट खोज्छन् । ‘मिहिनेत गरे गुह्य फोडिन्छ’ भन्ने भनाइ सुनेका थियौं । तर, यहाँ त मिहिनेतले होइन– ‘पहुँच’ ले ढोका खोल्छ ।

त्यसैले आज प्रश्न उठ्छ–
कसरी बनोस् देश, जब देशले आफ्ना सन्तानलाई नै चिन्दैन ?
कसरी टिकोस् आशा, जब राष्ट्र नै आफ्ना युवालाई हेप्छ ?

यसले हाम्रो आत्मसम्मानलाई कति चोट पुग्छ भन्ने सरकार बुझ्दैन । एउटा युवा जुनसुकै देशको मूलधारमा समेटिन तयार हुन्छ । तर, आफ्नै देशमा बेकार घोषित हुन्छ । पढेलेखेका, सक्षम, र संघर्षशील युवाहरू जागिरको प्रतिष्पर्धा होइन, प्रमाणपत्रको पर्खाइमा व्यस्त छन् ।

अनि सरकार भने, ‘देश बनाउन युवा चाहिन्छ’ भनेर भाषण दिन्छ । तर, व्यवहारमा त्यी युवा न स्कूलको पाठ्यक्रममा छ, न राज्यको प्राथमिकतामा ।

यदि अमेरिका १२ वर्षको बालकलाई प्रोफेसर बनाउने हिम्मत राख्छ भने, नेपालले आफ्ना २५ वर्षका युवालाई एक अवसर दिने आँट किन गर्न सक्दैन ? किन हामीले सीप, जाँगर, र क्षमता हेर्ने भन्दा पनि उमेर, जात, पहुँच र लिंग हेर्छौं ?

नेपाली युवाको सपना अहिले ‘भिसा’ मा अडिएको छ, भविष्य ‘पासपोर्ट’ मा, र आत्मबल ‘परदेश’ मा । र सरकार भने सधैंझै “युवाहरू देशका आधार हुन्छ“ भनेर टेबुलको पछाडिबाट भाषण दिन्छ ।
सुबोर्नो इसाक बारी बंगलादेशी मूलका अमेरिकी हुन् । जन्म अमेरिकामा भएको हो । तर, आज पनि उनलाई ’बंगलादेशी’ भनेर चिनिन्छ । किनभने बंगलादेशले उनलाई पहिचान त दिन सकेन, तर अमेरिकाले उनको ज्ञान र क्षमताको कदर गर्यो । यही त फरक हो–उनी जहाँ गएका थिए, त्यहाँ ‘तिमी सानो छौ’ भनेनन्, ‘तिमी सक्षम छौ’ भने । विदेशले क्षमताको कदर गर्छ, नेपालले सिफारिसको । विदेशमा तपाईंको क्षेमता, सोच, र मेहनत हेरेर अवसर दिइन्छ । तर नेपालमा त अझै पनि ‘को सिफारिस लिएर आएको छ ?’ ‘कसको मान्छे हो ?’ भन्ने सोधिन्छ ।

नेपालको प्रणाली अझै पनि पुरानै घेरामा घुमिरहेको छ–उमेर, डिग्री, पहुँच, सिफारिस । ‘सुनको थालमा राखेर’ प्रस्तुत नगरेसम्म यहाँ अवसर पाउन गाह्रो  छ । तपाईंको जोश, मेहनत, र प्रतिभालाई एउटै वाक्यले माटो लगाइदिन्छ –‘तपाईंको अनुभव छैन ।’ ‘नाच्न नजान्ने आँगन टेढो’ भनेझैं, सरकार आफैले युवालाई मौका दिदैन, अनि उल्टै सोध्छ–‘तिमीले केही किन गरेनौ ?’

‘आकाशको फल आँखा तरी मर’–हाम्रा नीति निर्माताहरूका सपना यस्तै छन् । नीति बनाउँछन्, तर कार्यान्वयन गर्दैनन् । भाषण गर्छन्, तर युवालाई सुन्दैनन् । ‘मुटु जलिरहेछ रगतको आँसुमा, अनि सत्तामा बसी सुनिरहेछन् सर्कसजस्ता भाषणहरू !’ यो हाम्रो यथार्थ हो।

कसैले भन्छन्–‘देशमा अवसर छैन’,
तर, म भन्छु–‘देशमा सोच छैन ।’
‘जुन जोगी आए पनि कानै चिरेको’–सत्तामा जो भए पनि नीतिको हालत उस्तै छ । ‘बुढीगण्डकीमा बाल्टिन डुबाएर माछा खोजेजस्तो’ हाम्रो रोजगारी नीति बनेको छ । नीति निर्माणकर्ताहरू कुर्सीको गर्मीमा रमाइरहेका छन् । तर, युवाको पीडाको चिसो स्पर्शसमेत गर्दैनन् ।

‘नहुनेको घरमा चैतैमा सान’ भनेझैं, अभिभावकहरूले लाखौं रुपैयाँ खर्चेर छोराछोरी पढाउँछन् । सपना पाल्छन् । तर, जब उनीहरू पढाइ सकेर फर्किन्छन्, त्यही सपना बेरोजगारीको धुवाँमा बिलाउँछ ।

हामी युवाहरू चुप लागेर परदेश धाउन थालेको देखेर सत्ताको मन नदुःख्नु कति निष्ठुरता हो ? हामीलाई स्वदेशमा अवसर चाहिएको हो, दया होइन । हामीलाई सीपको मूल्यांकन चाहिएको हो, उमेरको गन्ती होइन । हामीलाई मार्गदर्शन चाहिएको हो, बन्धन होइन ।