२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा–१७ का पशुपालक कृषकलाई हाँसको चल्ला वितरण

आइतवार , बैशाख २१, २०८२

तिलोत्तमा, २१ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मागको आधारमा वडा नम्बर १७ का पशुपालक तथा कृषक परिवारलाई लागत सहभागीतामा स्थानीय व्हाइट पेकिङ जातको हाँसको चल्ला वितरण गरेको छ । 

त्यसक्षेत्रका परम्परागत हाँस पालनलाई व्यवसायिक बनाउने र पोषण सुधार कार्यक्रम एवं हाँस प्रबद्र्धन कार्यक्रम अन्तर्गत स्वस्थ वडाबासी बनाउने उद्देश्यले स्थानीयलाई हाँसको चल्ला वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवर मगरले जानकारी दिए । वडाका १ सय ४ कृषकलाई करिब २ हजार ८० वटा चल्ला वितरण गरिएको मगरले जनाए ।

तिलोत्तमा नगरपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रममै राखेर त्यस स्थानका कृषकलाई धान खेतीमा समेत हाँसपालन गर्ने गरी चल्ला वितरण गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए । उनीहरुलाई स्थानीय जातको त्यसमा पनि मासु बढी हुने खालको हाँसको चल्ला खरिदमा ७५ प्रतिशत अनुदान दिइ वितरण गरिएको नगरप्रमुख खाणले जनाए । स्थानीयसँग भएको खोर र पाल्न सक्ने क्षमताका आधारमा कम्तीमा २० वटा चल्ला र तिनीहरुलाई प्रथम चरणमा पुग्ने दाना समेत निःशुल्क दिइएको नगरप्रमुख खाणले जानकारी दिए ।

वडाअध्यक्ष दानबहादुर चौधरीले ३ सय परिवार जतिलाई चल्ला वितरण गर्ने लक्ष्य राखिएको बताए । यसले स्थानीयको जीवनस्तर उकास्न र यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ स्वाद दिन सकिने उनको भनाइ छ । 

पछिल्लो समय स्वास्थ्यका हिसाबले पनि हाँसको मासु तथा अण्डाको माग बढ्दै गएको छ । कार्यक्रममा वडा सदस्यहरु शोभा राना, सन्त बहादुर बस्नेत, रामकुमार लोनिया, स्थानीय कृषक तथा हाँस पालनका अभियन्ता डाक्टर दामोदर भुसाल, पशु चिकित्सक इन्द्रकला खत्री, प्राविधिक गोविन्द खनाल, त्रिविक्रम न्यौपाने लगायतले पन्छीमा सहज पालन र व्यवसायिक सफलताका लागि हाँसपालन निकै प्रभावकारी रहेको बताएका थिए ।