
शनिवार , बैशाख २७, २०८२
तिलोत्तमा, २७ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाएको छ । नगरभित्र छाडा रुपमा रहेका सामुदायिक कुकुरहरुको संख्या न्यूनीकरण गर्नका लागि नगरपालिकाले कुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाएको जनाएको छ ।
छाडा कुकुरको संख्यामा कमी ल्याउन तथा सन् २०३० सम्म रेबिजलाई शुन्यमा झार्नका लागि रेबिजविरुद्धको खोप र बन्ध्याकरण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
कुकुरको प्रजनन क्षमतालाई स्थायी रूपमा रोक्ने प्रक्रियालाई बन्ध्याकरण भनिन्छ । यो भाले र पोथी कुकुरमा फरक विधिबाट गरिने चिकित्सकहरुले जनाएका छन् । भाले कुकुरमा ‘न्यूटर’ र पोथी कुकुरमा ‘स्पे’ विधिबाट गरिने चिकित्सकको भनाइ छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि विभिन्न संघ–संस्थाको सहयोगमा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिनेसन कार्यक्रमलाई हालसम्म अभियानको रुपमा निरन्तरता दिइएको नगरपालिकाका पशु स्वास्थ्य शाखाका प्रमुख राजु कुंवरले जानकारी दिए । छाडा कुकुरहरुबाट रेबिजजन्य संक्रामक रोगहरु बढेपछि त्यसको निदानका लागि भ्याक्सिनेसन शिविर समेत सञ्चालन गरिएको शाखा प्रमुख कुंवरको भनाइ छ ।
नगरपालिकाले २०७८/०७९ मा पक्लिहवा क्याम्पसका बिद्यार्थीहरुको सहकार्यमा वडा नम्बर ४ मा ४० बटा कुकुर बन्ध्याकरण गरेको जनाएको छ । त्यस्तै २०७९÷०८० मा १२० वटा कुकुरको बन्ध्याकरण गरिएको छ । उक्त कार्यक्रमका लागि नगरपालिकाले २ लाख र वडा नम्बर ६ ले १ लाख बजेट खर्च गरेको थियो ।
नगरपालिकाका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा ३ सय २ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । हिमालयन रेस्क्यु ट्रष्ट, भेटेनरी अस्पताल तथा विज्ञ केन्द्र भैरहवाको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो । ४ लाख बजेट खर्च गरिएको उक्त कार्यक्रममा लक्ष्य अनुरुप काम गरिएको नगरपालिकाले जनाएको छ ।
हिमालयन रेस्क्यु ट्रष्टको सहकार्यमा भएको बन्ध्याकरण शिविरमा आर्थिक वर्ष २०८१/०८२ मा २५५ वटा कुकुरको बन्ध्याकरण गरिएको शाखा प्रमुख कुंवरले जानकारी दिए । उनका अनुसार चैत ८ देखि १३ गतेसम्म वडा नम्बर ६ भित्र रहेका ५० र अन्य वडाका २०० कुकुर बन्ध्याकरण गर्ने लक्ष्य लिइएकोमा २५५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
नगरपालिकाले भालेपोथी दुवै जातका कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप समेत लगाइएको थियो । छाडा कुकुरलाई समात्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य अवस्था ठीक भएकालाई सर्जरी गरी पुनः समातेकै ठाउँमा लगेर छाडिने गरिएको छ ।
सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा बढेपछि नगरपालिकाले त्यसको न्यूनीकरणका लागि अभियान चलाएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए । नगरप्रमुख खाणका अनुसार कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोपपछि कुकुरको टोकाईबाट हुने संक्रमणमा कमी आएको बताए । नगरले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने तिलोत्तमा नगरप्रमुख खाणले बताए । यसअघिको नेतृत्वले समेत कुकुरको बन्ध्याकरण कार्यक्रमलाई नीति तथा कार्यक्रममै समेटेर कार्यक्रम गरेको थियो ।
नगर उपप्रमुख जगेश्वर देवी चौधरीले नगरक्षेत्रमा धेरै संख्यामा सामुदायिक कुकुर रहेकाले त्यसको नियन्त्रणको लागि सामुदायिक कुकुरलाई रेबिजविरुद्धको सुई साथै स्थायी बन्ध्याकरण आवश्यक रहेको हुँदा पालिकाले अभियानको रुपमा कार्यक्रम चलाइएको बताइन् । कुकुरको उचित व्यवस्थापन र सुरक्षाको दृष्टिकोणले कुकुर र मानिसको स्वास्थ्यलाई ख्याल राख्दै आगामी दिनमा पनि कुकुरको बन्ध्याकरणलाई निरन्तरता दिइरहनुपर्ने उनको भनाइ छ ।
नगर उपप्रमुख चौधरीले भनिन्–‘सामुदायिक कुकुरको आतंकका कारण मानिसमा त्रास रहेको समेत देखियो, मानिसमा देखिएको त्रास हटाउन र कुकुर आतंक नियन्त्रणका लागि बन्ध्याकरण नै एकमात्र विकल्प हो।’
सामुदायिक कुकुरको बन्ध्याकरणका धेरै फाइदा छन् । जसले समाज, मानव स्वास्थ्य र पशु कल्याण तीनै क्षेत्रमा सकारात्मक असर पार्दछ । कुकुरको बन्ध्याकरणपछि कुकुरको संख्या नियन्त्रणमा आउँछ । बन्ध्याकरणले अनावश्यक रूपमा कुकुरको प्रजनन रोक्छ, जसले गर्दा सडकमा कुकुरहरूको संख्या बढ्न पाउँदैन । यसका कारण सवारी दुर्घटनामा पनि कमी आउने पालिकाको ठम्याई छ ।
यसले रोगको नियन्त्रणमा पनि सहयोग पुर्याउँछ । बन्ध्याकरण भएका कुकुरहरूमा केही रोग (जस्तै प्रजनन अंग सम्बन्धी क्यान्सर) को सम्भावना घट्छ । साथै, नियन्त्रणमा आएको कुकुर जनसंख्या र टीकाकरणको माध्यमबाट रेबिज जस्ता रोग पनि कम हुन्छ । समाजमा सुरक्षाको महसुस हुने अर्को फाईदा हो । बन्ध्याकरणले कुकुरहरू कम आक्रोशित हुने अनुसन्धानले देखाएको छ । झगडा कम गर्छन्, र मानिसहरूलाई टोक्ने सम्भावना पनि घट्छ ।
पशु कल्याणमा सुधार आउँछ । अनियन्त्रित प्रजननले गर्दा धेरै पिल्लाहरू जन्मिएर सडकमा छाडिन्छन्, जसले तिनीहरूको जीवन कष्टकर बनाउँछ । बन्ध्याकरणले यस्तो अवस्थालाई रोक्न सहयोग पुर्याउने गर्दछ । बन्ध्याकरणपछि कुकुरहरूको व्यवहारमा सुधार आउने बताइएको छ । बन्ध्याकरणपछि कुकुरहरू कम आक्रोशित, कम घुमन्ते र आपसी झगडाबाट टाढा हुन्छन्, जसले गर्दा उनीहरूको जीवनशैली शान्त हुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij