२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

आइतवार , बैशाख २८, २०८२

भैरहवा, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नका लागि सरकारलाई बाध्य बनाउनुपर्ने बताएका छन् । उनले विमानस्थल सञ्चालन सरकारको प्राथमिकतामा नपरेको दावी गरे ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि छलफल कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । ‘यो विमानस्थल नचल्नुपर्ने कुनै कारण छैन । तपाईहरुको अभियानमा हाम्रो पूर्ण साथ र समर्थन रहनेछ, ’उनले भने–‘यो विमानस्थल सञ्चालन गर्नका लागि हाम्रो महत्वपूर्ण भूमिका रहन्छ ।’ उनले सरकारले धार्मिक पर्यटनमा जोड दिनुपर्नेमा बताए । उनले लुम्बिनी आउने पर्यटकलाई फोकस गर्नुपर्ने धारणा राखे । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङ्देनले पैसा खानकै लागि नेपालमा योजनाहरु बनेको भन्ने बुझ्नुपर्ने बताए । ‘ठूलो योजना ल्याएपछि ठूलो कमिसन एकैपटक खान पाइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि मान्छे पनि खुसी हुन्छन् र विरोध गर्दैनन् भन्ने बुझाइ छ’उनले भने–‘भैरहवा विमानस्थलमा ४ सय विगाह जग्गा किन्नुपर्नेमा किन ८ सय किनियो ?’ 

उनले भैरहवा र पोखरा विमानस्थलबारे पटकपटक संसदमा कुरा उठाएको बताए । विमानस्थल निर्माणमा भएका भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारवाही र विमानस्थल सञ्चालन हुनुपर्ने उनको भनाइ थियो । यो सरकारको लगानी होइन हाम्रो टाउकोमा ऋण बोकाएर ४१ ऋर्ब खर्च गरेर किन नचल्ने एअरपोर्ट बनाइयो, उनले प्रश्न गरे ।

निजी क्षेत्रको विकास बिना देशको अर्थतन्त्र मजबुत र देशको विकासको कल्पना गर्न नसकिने उनले बताए ।

सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका लिङदेनले अहिले सबैभन्दा प्रताडित निजी क्षेत्र रहेको बताए । उनले कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था रहेको बताए । निजी क्षेत्रलाई बलियो नबनाएसम्म देश बलियो हुन नसक्ने उनले जिकिर गरे । अहिलेको व्यवस्था र प्रणालीमा सुधार नल्याएसम्म देश र जनताको अवस्थामा सुधार आउन नसक्ने उनको भनाइ थियो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सभापति कृष्ण प्रसाद शर्माले पटकपटक विमानस्थल सञ्चालन हुनुपर्ने माग राखे पनि सुनुवाइ नभएको बताए । ‘स्वर्गीय दीपक बोहराको पनि एअरपोर्ट सञ्चालन होस् भन्ने सपना थियो, ’उनले भने । काठमाडौं विमानस्थलमा चाप हुँदा भैरहवामा भने सुनसान रहेको उनले बताए । सबै राजनीतिक दलको चासो हो भने विमानस्थल सञ्चालन हुनुपर्ने उनले बताए ।

राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको ३ वर्ष बितिसक्दा पनि पूर्ण र नियमित रुपमा सञ्चालन हुन नसकेको बताइन् । ‘विमानस्थल सञ्चालन नहुँदा उद्योगी–व्यवसायी संकटमा परेका छन्’उनले भनिन्–‘विमानस्थल सञ्चालन राजनीतिक मुद्दा भन्दा पनि विकासको मुद्दा हो ।’ के कुराले विमानस्थल सञ्चालन भएन भनेर पत्ता लगाउनुपर्ने उनले बताइन् । केन्द्रीय सदस्य थापाले विकासका मुद्दामा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

‘स्वर्गीय दीपक बोहराले विमानस्थल निर्माणका लागि पहल गर्नुभएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पटकपटक विमानस्थलबारे आवाज उठाउनुभएको छ, ’उनले भनिन् उनले सिद्धार्थनगर नगरपालिकाले डण्डा नदीमा फोहोर फालिरहेको भन्दै विमानस्थल नजिकै रहेको क्षेत्रमा फोहोर फाल्दा धेरै जोखिम रहेको बताइन् । फोहोरमैला व्यवस्थापन विमानस्थल भन्दा टाढा गर्नुपर्ने उनको भनाइ थियो ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले अरबौं लगानी गरेर निर्माण गरेको विमानस्थल र पछि निजी क्षेत्रले पनि सरकारले गरेको भन्दा दोब्बर लगानी गरेको बताए । उनले व्यवसाय झुण्डिने अवस्थामा पुगे पनि सरकार कानमा तेल हालेर बसेको बताए ।

संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विमानस्थल सञ्चालनका लागि विशेष रुपमा पहल गर्न आग्रह गरे । उनले विमानस्थल नचल्दा अत्यन्तै पीडादायी अवस्था सिर्जना भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपानेले विमानस्थल सञ्चालनप्रति यहाँहरुको महत्व कम हो कि भन्दै प्रश्न गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले सरकारले विमानस्थल सञ्चालन गर्न नसक्ने भए अन्तर्राष्ट्रिय संस्थालाई दिनुपर्ने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने भिषा सेन्टर, श्रम कार्यालय, स्वास्थ्य परीक्षण केन्द्र, मेनपावर लगायतका पूर्वाधारहरु बन्नुपर्ने बताए ।

उद्योगी चन्द्रमान श्रेष्ठले विमानस्थल सञ्चालनका लागि सरकारले तदारुकता नदेखाएको बताए । किराना तथा प्लाष्टिक व्यवसायी संघ भैरहवाका महासचिव झबिन्द्र प्रसाद बेल्बासेले बोलीले मात्र नभइ कामले देखाउनुपर्ने बताए ।

चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्र बाटोमा आउनुपर्ने बिडम्बना रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव मंगल भण्डारीले भ्रष्टाचार गर्नका लागि मात्र विमानस्थल बनेको हो भन्दै प्रश्न गरे । संघका सल्लाहकार गोपाल भण्डारीले मुलुकमा नीतिगत भ्रष्टाचार हुँदा राज्य मौन भएको बताए ।

व्यवसायी चन्द्र रोक्काले यो विमानस्थल सञ्चालनका लागि पहल गर्नुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी आशा गुरुङले एअरपोर्ट सञ्चालनका लागि पनि समिति बनाउनुपर्ने र राप्रपाले पहल गर्नुपर्ने बताए ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थलका बारेमा धेरैपटक छलफल भएको बताए ।

प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले राज्यले आश्वासन मात्र नदिइ नीतिगत निर्णय गर्नुपर्ने बताए ।

WhatsApp Image 2025-05-11 at 12.39.43 PM.jpeg

सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।