२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीमा संरक्षण प्रयोगशाला स्थापना

सोमवार , बैशाख २९, २०८२

भैरहवा, २९ वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको लुम्बिनी संग्रहालय परिसरमा संरक्षण प्रयोगशाला (ल्याब) को स्थापना गरिएको छ । यु.एस. एम्बेसडर फण्ड फर कल्चरल प्रिजरभेसनको सहयोगमा बुद्ध फाउण्डेशन, लुम्बिनी विकास कोष र पुरातत्व विभागको संयुक्त साझेदारीमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

पुरातात्विक वस्तुहरूको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशालाको आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले बुद्ध जयन्तीको अवसरमा लुम्बिनी संग्राहलय संरक्षण प्रयोगशाला (केन्द्र) को उद्घाटन सबैका लागि अत्यन्तै सान्दर्भिक, ऐतिहासिक र गौरवपूर्ण क्षण भएको बताए । ‘लुम्बिनी कुनै एक धर्म र भुगोलको मात्र विषय होइन’उनले भने–‘यो सम्पूर्ण मानव सभ्यता, साँस्कृतिक, पुरातात्विक र कलात्मक सम्पत्ति हो । यसको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो ।’ मन्त्री पाण्डेले अमेरिकी सरकार र नेपालस्थित अमेरिकी दुतावासप्रति आभार व्यक्त गरे । 

उनले संरक्षण प्रयोगशालाले स्थानीय जनशक्तिलाई आवश्यक सीप, ज्ञान र प्रविधिमा दक्ष बनाउनेमा आफू विश्वस्त रहेको बताए । लुम्बिनी जस्तो संवेदनशील र पवित्रस्थलमा संरक्षण र पर्यटनबीच सन्तुलन कायम गर्न अत्यावश्यक रहेको उनको भनाइ थियो । ‘म विश्वास गर्छु यो केन्द्रले दिगो पर्यटनको अवधारणालाई बलियो बनाउने कार्यमा सहयोग पुर्याउनेछ, ’उनले भने । नेपालको पहिलो अत्याधुनिक संरक्षण प्रयोगशाला लुम्बिनीमै स्थापना हुनु सम्पदा संरक्षणको यात्रामा एक महत्वपूर्ण मोड भएको उनले बताए । यसले संरक्षण कार्यलाई वैज्ञानिक, व्यवस्थित र दिगो बनाउने उनको विश्वास छ ।

त्यस्तै प्रयोगशाला उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी विश्वभरका कराडौं श्रद्धाजुहरुको पवित्र तीर्थस्थल मात्र नभइ यो नेपालको प्राचीन सभ्यता र समृद्ध इतिहासको प्रतीक भएको बताए । उनले यो प्रयोगशाला केवल एक प्राविधिक संशाधन मात्र नभइ यो शिक्षा, क्षमता विकास र सामुदायिक सहभागीताको केन्द्र पनि हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले सम्पदा संरक्षणका लागि प्रयोगशाला सञ्चालन हुँदा यसले पुरातात्विक वस्तुहरुको संरक्षणमा ठूलो टेवा पुग्ने अपेक्षा राखेको बताए । उनले लुम्बिनी बौद्ध दर्शनको उत्पति भएको थलोसँगै पुरातात्विक रुपमा समेत ऐतिहासिक भएकाले यहाँका अमूल्य वस्तुहरुको संरक्षणका लागि प्रयोगशाला सहयोगी हुने बताए । 

नेपालका लागि अमेरिकी दूतावासका उपप्रमुख ज्यासन मिक्सले प्रयोगशालाले प्राचीन कलाकृतिको अमूल्य सम्पदाहरुको संरक्षण, अभिलेखन गर्ने विश्वास दिलाए । समारोहमा बुद्ध फाउण्डेशनका कार्यकारी निर्देशक सुम्निमा उदासले नेपाललाई साँस्कृतिक सम्पदा संरक्षणको क्षेत्रमा एक अगुवाका रूपमा स्थापित गर्ने उद्देश्यले अत्याधुनिक संरक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइन् ।

नेपालस्थित अमेरिकी दूतावासले राजदूत साँस्कृतिक संरक्षण कोष (एएफसीपी) मार्फत् सहयोग गरी अत्याधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरिएको हो । प्रयोगशालाले बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक वस्तुहरुको टुटेफुटेको जोड्ने, पुरातात्विक बस्तुहरुलाई जोगाउने काम गर्ने बताइएको छ । 

लुम्बिनी संग्रहालयमा लुम्बिनीमा उत्खनन गरिएका इसा पूर्वको छैटौं शताब्दीदेखि इस्वी संवत्को तेस्रो शताब्दीसम्मका पक्की माटोका प्रतिमा, ढुंगाका मूर्ति, सिक्का र अन्य अवशेषहरू राखिएको छ । प्रयोगशाला सुरु भएसँगै २ जना क्यूरेटर राखिनेछ ।