
सोमवार , बैशाख २९, २०८२
लुम्बिनी, २९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध जयन्तीको अवसरमा आयोजित ‘लुम्बिनी साँस्कृतिक तथा खाना महोत्सव–२०८२’ को सोमबार उद्घाटन गरेका छन् । लुम्बिनी होटल संघ, नेपाल, लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र लुम्बिनी पर्यटन विकास परिषदले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् ।
यो महोत्सवले बौद्धकालीन समयको नाट्य श्रृंखला र रैथाने खानालाई समेत प्रवद्र्धन गर्ने उद्देश्य राखेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । महोत्सवमा देशभित्र र बाहिरबाट आएका बौद्ध धर्मावलम्बीहरूसहित स्थानीयहरूको उल्लेखनीय सहभागीता रहेको छ ।
महोत्सवको उद्घाटन सत्रमा मुख्यमन्त्री आचार्यले गौतम बुद्धले प्रतिपादन गरेका वाणी, वचन र सिद्वान्तहरू दिन प्रतिदिन सत्य सावित हुँदै गएको बताए । उनले विश्वमा देखा परेको अशान्ति र हिंसाको अन्त्यका लागि बुद्धले अंगालेको मार्ग नै शान्तिको सन्देशको रुपमा स्थापित भएको धारणा राखे । ‘हामी गर्व गर्न सक्छौं, शिर उचो पारेर, छाती चौडा पारेर भन्न सक्छौं । बुद्धको सन्देश विश्व शान्तिको लागि उपयुक्त छ’ उनले भने–‘यो पवित्र भूमिमा जन्मिएका हौं भनेर विश्वमा चिनाउने अवस्था पुगेका छौं ।’
एक अर्काे प्रसंगमा मुख्यमन्त्री आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि व्यवसाय क्षेत्रमा लगानी बढेको तर, नियमित उडान नहुनु चिन्ताको विषय भएको उल्लेख गरे । यसप्रति प्रदेश सरकार संवेदनशील र गम्भीर बनेको जानकारी दिँदै अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्न संघीय सरकारको ध्यानाकर्षण गरिएको र यसले चाँडै निकास पाउने विश्वास व्यक्त गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशको मुहार फेरिने उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij