
मंगलवार , बैशाख ३०, २०८२
भैरहवा, ३० वैशाख । चितवनका पर्यटन व्यवसायीहरुले चितवन सैराहा घुम्न आउनका लागि लुम्बिनीबासीलाई आग्रह गरेका छन् । ‘घुमौं सौराहा, चितवन अभियान २०२५’ को क्रममा भैरहवामा चितवन र रुपन्देहीका व्यवसायीहरूबीचको छलफल चितवनका व्यवसायिले सैराहा घुम्न आउन आग्रह गरेका हुन् ।
सोमबार क्षेत्रीय होटल संघ नेपाल, चितवनले भैरहवामा आयोजना गरेको कार्यक्रममा पर्यटकीय गन्तव्य सौराहाको भ्रमण गर्न व्यवसायीले आग्रह गर्दै पर्यटन पर्वद्धनमा जोड दिएका छन् । उनीहरुले पर्यटन क्षेत्रको विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक–अर्काको भावना जोड्ने कडी भएको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले बागमती प्रदेशको चितवन र लुम्बिनी प्रदेशबीच पर्यटन लगायत अन्य क्षेत्रको विकासमा समन्वय र सहकार्य हुँदा दुवै प्रदेशलाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।
‘लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य र छिमेकी प्रदेशका पर्यटकीय स्थलहरूबीच समन्वय र सहकार्य बढाउनु जरुरी छ’ उनले भने–‘चितवन आउने पर्यटकलाई लुम्बिनी, लुम्बिनी आउने पर्यटकलाई चितवन, पोखरा र अन्य गन्तव्यमा जान मिल्ने व्यवस्था गर्न सकिन्छ । साझा मञ्चको रूपमा विकास गरेर अघि बढ्न सकिन्छ ।’
उनले व्यवसाय क्षेत्रको विकासका लागि प्रदेश सरकार अनुकूल वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री आचार्यले सिद्धार्थनगरलाई केन्द्रीत गरेर व्यवसायीले अरबौं लगानी गरेको तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नआउँदा व्यवसायी मर्कामा परेको बताए । उनले व्यवसायीको मनोबल बढाउने सरकार लागिपरेको बताए ।
त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले सौराहा पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य रहेको बताए । उनले सम्बन्ध जोडेर काम गर्दा सफल हुन सकिने बताए । बुटवल–नारायणगढ सडक निर्माणसम्पन्न नहुँदा पर्यटन क्षेत्रमा ठूलो असर पुगेको उनको भनाइ छ ।
रत्ननगर नगरपालिकाको कार्यपालिका सदस्य पर्यटन प्रबद्र्धन गर्ने खालका कार्यक्रमलाई नगरपालिकाले जोड दिएको बताइन् । उनले प्राकृतिक सौन्दर्यतामा रमाउन सौराह आउन निमन्त्रणा गरिन् ।
क्षेत्रीय होटल संघ नेपाल, चितवनका अध्यक्ष ओम प्रकाश पाण्डेले चितवन नेपालको मध्यभागमा पर्ने बताए । उनले पर्यटकलाई सहज ढंगले भित्र्याउनुपर्नेमा जोड दिए । उनले चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्न मुख्य पर्यटकीय प्रवेशद्वारको रुपमा समेत चिनिएको बताए ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले यो अभियानले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय होटल संघ, नेपाल चितवनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक संयोजक गुणराज थपलिया, संघका महासचिव महेश खनाल लगायतले बोलेका थिए ।
कार्यक्रममा सौराहाको विशेषता प्रस्तुत गर्दै सौराहामा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिइएको जानकारी गराइएको थियो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल संघ चितवन सौराहाको अगुवाइमा विभिन्न पर्यटनसँग सम्बन्धित संघ–संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपालको तेस्रो प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको चितवनको सौराहामा हात्ती चढेर गैंडा हेर्न पाइने भएकाले यहाँ स्वदेशी र विदेशी पर्यटकको आकर्षण बढिरहेको छ । कोरोनाकालपछिको अवस्थामा पर्यटन उद्योगलाई पुनर्जीवन दिन स्वदेशी पर्यटकहरूको साथ खोजिएको जनाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने प्रमुख प्रवेशद्वारको रूपमा चिनिएको छ । राप्ती नदीको किनारमा अवस्थित सौराहामा वार्षिक झण्डै ४ लाख पर्यटक आउने गरेको विवरण सार्वजनिक गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij