२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलौराकोट गुरुयोजना निर्माण गरेर विकास गर्ने उपाध्यक्ष डा. लामाको प्रतिबद्धता

मंगलवार , बैशाख ३०, २०८२

कपिलवस्तु, ३० वैशाख । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) लाई अन्तर्राष्ट्रिय बौद्ध मार्गीहरुको केन्द्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन विकास कोष लागिपरेको बताएका छन् । 

उपाध्यक्ष डा. लामाले प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटको संरक्षण सम्बद्र्धन तथा प्रवद्र्धन गर्न र पर्यटनलाई सुविधासम्पन्न क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढाउन लागिपरेको बताएका हुन् । उनले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकोतर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भइसकेको भन्दै तिलौराकोट छिटै विश्व सम्पदा सूचीमा सूचीकृत हुने विश्वास समेत व्यक्त गरे ।

बुद्ध जयन्ती मूल समारोह समितिद्वारा आयोजना गरिएको २५६९ औं बुद्ध जयन्ती तथा प्रसुती उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले तिलौराकोटको विकासमा सहयोग निम्ति स्थानीय जनसमुदाय, सरोकारवाला र प्रदेश सरकारलाई आग्रह गरे ।

कार्यक्रमको अवसरमा मंगलबार बिहान ‘बेबी बुद्ध’को प्रतिमालाई शोभायात्रासहित नगर परिक्रमा गराउँदै तिलौराकोट लगेर ’प्रसूति उत्सव’ गरिएको थियो  ।  ‘बेबी बुद्ध’को प्रतिमा लिन कपिलवस्तुका प्रमुख जिल्ल अधिकारी दिल कुमार तामाङसहितको टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेर बेबी बुद्धलाई बाजागाजासहित नगर परिक्रमा गरेका थिए ।