
बिहिवार , चैत्र १२, २०७७
बुटवल, १२ चैत ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ४ लक्ष्मीनगरमा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाको २३ औं स्थापना दिवस विविध कार्यक्रमकाबीच मनाइएको छ । २०५४ सालमा स्थापना गरिएको उक्त सहकारीको तीन दिनसम्म विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।
संस्थाको २३ औं स्थापना दिवसको अवसरमा सहकारीले रक्तदान, विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान तथा दीप प्रज्वलन लगायतका कार्यक्रम गरेको हो ।
यही चैतको ९, १० र ११ गते तीन दिनसम्म गरिएको कार्यक्रममा पहिलो दिन रक्तदान गरिएको थियो । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जना शेयर सदस्यहरुले रक्तदान गरेका थिए । त्यस्तै सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
बुटवलको दीप नगरमा रहेको निलकण्ठ बाबा धाममा सञ्चालित सञ्तोषी माता कुरुकुलमा अध्ययन गर्ने बिद्यार्थी (बटुक)हरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो । उक्त गुरुकुलमा हाल ४२ जना बटुकहरु अध्ययनरत रहेको त्यस अवसरमा जानकारी गराइएको थियो । स्थापना दिवस विशेष कार्यक्रमको अन्तिम दिन दीप प्रज्वलनसहित मूल समारोह गरिएको कार्यक्रम संयोजक रमेश पाण्डेले बताए।
सहकारी संस्थाका अध्यक्ष सुक्रप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वित्त परामर्शदाता हरि पौडेल, लेखा समितिका संयोजक केशवराज पन्थ, सल्लाहकार नगेन्द्रगोविन्द श्रेष्ठ, शिक्षा उपसमितिका संयोजक सम्झना श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका सचिव विष्णु पौडेलको सञ्चालनमा भएको थियो । २२ वर्षको इतिहास बनाएको एकता सहकारीमा हाल १ हजार २ सय बढी शेयर सदस्य रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij