
मंगलवार , जेठ ७, २०८२
भैरहवा, ६ जेठ । रुपन्देहीको भैरहवास्थित बेलहिया नाका हुँदै भारत लगायत तेस्रो मुलुकमा पछिल्लो तीन वर्षयता निर्यात क्रमशः बढ्दो मात्रामा रहेको छ । पछिल्ला तीन वर्षदेखि भैरहवा भन्सार कार्यालयले लक्ष्यअनुसार राजश्व संकलन गर्न असफल भए पनि निर्यात भने बढेको देखिन्छ ।
कार्यालयका अनुसार आर्थिक वर्ष ०८१/०८२ को बैशाख मसान्तसम्म १० महिनामा १६ अर्ब ४४ करोड मुल्य बराबरको विभिन्न सामान निर्यात भएको छ । आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ७० करोड ९१ लाख ५६ हजार रुपैयाँ मूल्यको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । यता आर्थिक बर्ष ०८०/०८१ मा १३ अर्ब ८२ करोड ४२ लाख ६३ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान बेलहिया नाका हुँदै भारत तर्फ निर्यात भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९/०८० तुलनामा ०८०/०८१ एक वर्षमा सवा तीन अर्बभन्दा बढी रकमको सामान निर्यातमा वृद्धि भएको उल्लेख छ । आर्थिक बर्ष ०८१/०८२ वैशाख मसान्तसम्म १० महिनामा १६ अर्ब ४४ करोडको निर्यात भएको छ । यसरी तुलना गर्दा गत आर्थिक वर्षको १२ महिनामा भन्दा यस आर्थिक वर्षको १० महिनामा २ अर्ब ६२ को निर्यात भएको देखिन्छ ।
भन्सार प्रमुख रेग्मीले तीन वर्षमा लक्ष्य अनुसार राजश्व संकलनमा सफलता हासल गर्न नसके पनि निर्यातमा भने निरन्तर सुधार भइरहेको जानकारी दिनुभयो । उहाँले गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिनाको तुलनामा यस आर्थिक वर्षको वैशाख मसान्तसम्म ४५ दशमलव २२ प्रतिशत निकासीमा वृद्धि भएको उल्लेख गर्नुभयो ।
भैरहवा भन्सार कार्यालय हुँदै बेलहिया नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमा भटमासको तेल प्रशोधित, सेन्थेटिक यार्न, सिमेन्ट खैरो, खयर कत्था, पिना अन्य, फलाम वा स्टीलको भाँडाकुाडा, चाउचाउ, नुडल्स, पास्ता, खोटो रोजिन, जडीबुटी, सुर्यमुखीको प्रशोधित तेल रहेको भन्सार प्रमुख रेग्मीको भनाइ छ । त्यसै गरी चोकर, भुस, अन्य रेसाको कपडा, काँच र डण्डी ट्युबहरू, अदुवा, सुठो, प्लाष्टिकका नली पाइप, दालचिनी, फलामे पत्रु लगाष्तका सामान निर्यात हुने गरेको कार्यालयको भनाइ छ ।
निर्यात भएका अधिकांश सामान भारतकै विभिन्न ठाउँमा खपत हुने र केही सामान अन्य मुलुकमा पनि जाने भन्सार प्रमुख रेग्मीले बताउनुभयो । यस वर्ष बेलहिया नाकाबाट सबैभन्दा बढी भटमासको तेल प्रशोधित निर्यात भएको छ भने दोस्रोमा सेन्थेटिक यार्न निर्यात हुने गरेको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्षका १० महिनामा ४ अर्ब ९३ करोड ४४ लाखको भटमासको तेल प्रशोधित निर्यात भएको छ भने दोस्रोमा रहेको सेन्थेटिक यार्न २ अर्ब ८४ करोड ८४ लाख ९६ हजारको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षसम्म यो नाका हुँदै सेन्थेटिक यार्न निर्यात पहिलो स्थानमा रहेकोमा यस आर्थिक वर्षमा भने भटमासको तेल प्रशोधित बढी मात्रामा निर्यात भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आर्चायले निर्यातमा भइरहेको सुधारले उद्योगी–व्यवसायीमा सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले निर्यातमा थुप्रै झन्झट रहेको उललेख गर्दै समस्यालाई सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij