बुधवार , मंसिर ९, २०८३
बुटवल, ९ मंसिर । स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै कार्यकारी नेतृत्व र अर्थपूर्ण भूमिका स्थापित हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । बुधबार जागरण मिडिया सेन्टरले रुपन्देहीको देवदहमा आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरूले अब दलित महिला कोटामा मात्र सीमित नभइ मुख्य नेतृत्वमा आउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा संविधान सभा सदस्य कमला विश्वकर्माले संविधानको बाध्यकारी व्यवस्थाले सहभागीता सुनिश्चित गरे पनि समाजले महिला नेतृत्वलाई अझै सहजै स्वीकार गर्न नसकेको बताउनुभयो । ‘दलित महिला जनप्रतिनिधि कहाँ छन् र के गर्दैछन् भन्ने खोजी भइरहेको छ, विश्वकर्माले भन्नुभयो–‘महिला जतिसुकै सक्षम भए पनि समाजको दृष्टिकोण बदलिएको छैन, अझ प्रविधिबाट समेत हिंसा भइरहेको छ ।’
उहाँले दलित समुदायका महिलाहरु वडा सदस्यमा मात्र सीमित नभइ कार्यकारी नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यपालिका सदस्य लक्ष्मी विकले पार्टीले टिकट दिए आगामी निर्वाचनमा वडाअध्यक्षको उम्मेदवार बन्ने इच्छा रहेको बताउनुभयो । हिजो धेरै कुरा थाहा नहुँदा पनि काम गरेको स्मरण गर्दै उहाँले अहिले धेरै कुरा सिकेका कारण काम गर्न सहज हुने बताउनुभयो । अर्का कार्यपालिका सदस्य टिकिसरा सुनारले एक्कासि टिकट पाउँदा सुरुका दुई वर्ष काम सिक्नमै बितेको र बल्ल बुझ्ने बेला कार्यकाल सकिएको अनुभव सुनाउनुभयो ।
त्यस्तै देवदह–५ की वडा सदस्य संगीता विकले चुनाव जिते पनि काम गर्ने वातावरण र अधिकार नपाएको गुनासो गर्नुभयो । ‘दलित महिला सदस्य भएर केही पनि थाहा पाइएन, हामी थापना मात्रै भयौं, कोटामा मात्रै सीमित भइयो, उहाँले भन्नुभयो–‘अब दलित सदस्यमा मात्र होइन, वडाअध्यक्षमै उठ्नुपर्छ ।’ उहाँले सामुदायिक वनको भ्रमण र वडाकै कतिपय गतिविधिमा समेत विभेद भोग्नुपरेको बताउनुभयो ।
देवदह–१० की वडा सदस्य कमला दर्जीले बजेट बाँडफाँड र निर्णय प्रक्रियामा भूमिका नपाएको गुनासो गर्नुभयो । देवदह–८ की दलित महिला सदस्य झपिन्द्र कुमारी विकले कार्यवाहक वडाअध्यक्षको भूमिका समेत निर्वाह गरिसकेको उल्लेख गर्दै अबको चुनावमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने धारणा राख्नुभयो ।
देवदह–७ का वडा सदस्य टिकाराम सुनारले विगतको तुलनामा विभेद कम भए पनि दलित समुदायको अर्थपूर्ण उपस्थिति अझै आवश्यक रहेको बताउनुभयो । कार्यपालिका सदस्य गोविन्द पासीले भने दलित समुदायका विषयमा आवाज उठाउँदा स्वयं समुदायको सहभागिता कमजोर हुने गरेको टिप्पणी गर्नुभयो ।
टोल विकास संस्थाकी अध्यक्ष सीता सुनार र राधा परियारले बाटो हिंड्दादेखि नेतृत्व लिने बेलासम्म समाजमा विभेद कायम रहेको बताउनुभयो ।
अधिकारकर्मी गोविन्द ठडराईले प्रत्यक्ष विभेद नदेखिए पनि कोठा भाडा नदिने जस्ता सूक्ष्म विभेद कायम रहेकाले गैरदलित समुदायसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
देवदह प्रेस क्लबका अध्यक्ष विष्णु प्रसाद पोखरेलले पालिकामा सीमान्तकृत समुदायको उपस्थितिको तथ्यांक संकलन र मुद्दा उठानमा मिडियाले काम गरिरहेको बताउनुभयो । पत्रकार टंकबहादुर सुनारले देवदहका संघ–संस्थामा दलित समुदायको उपस्थिति शून्य प्रायः रहेको औंल्याउनुभयो । मिडियाकर्मी पवन पौडेलले धार्मिक कार्यक्रममा हुने विभेद विरुद्ध मिडियाले खबरदारी गरिरहेको बताउनुभयो ।
जागरण मिडिया सेन्टरको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अधिकारकर्मी, टोल विकास संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूले आगामी निर्वाचनमा दलित समुदायको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व विकासका विषयमा छलफल गरेको जागरण मिडिया सेन्टरका विनोद परियारले बताउनुभयो । साथै छलफलले कार्यपालिका सदस्य लक्ष्मी सुनारको संयोजकत्वमा दलित महिला सञ्जाल देवदह गठन गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij