२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

बिहिवार , जेठ ९, २०८२

जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ । यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

आज मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । एक समय सम्पर्कको माध्यममात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ । दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन् । ‘झिल्को’ले यही ज्वलन्त समस्यालाई उजागर गरेको छ ।

निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई चलचित्र ‘झिल्को’मार्फत उजागर गरेका छन् । आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा ‘भिडियो’हरू हेर्ने बानी बालबालिकाका लागि सामान्य जस्तै भइसकेको छ ।

चलचित्रमा यिनै विषयवस्तु र त्यसले पार्ने नकारात्मक असरलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेल जस्ता कलाकारको सशक्त अभिनयले कथालाई जीवन्त बनाएको छ ।

अभिभावकहरूले पनि बालबालिकाको मोबाइल प्रयोगलाई सामान्य ठानेर वेवास्ता गर्दा भविष्यमा यसले कस्तो गम्भीर रूप लिन सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले चित्रण गरेको छ । चलचित्रमा एक पत्रकारको सुखी र खुसी परिवारको कथा छ, जहाँ उनको श्रीमती र छोरी छिन् । तर, यही सुखी परिवारमा डिजिटल कुलतको सानो ‘झिल्को’ कसरी सल्किन्छ र त्यसले कस्तो असर पुर्याउँछ भन्ने कुरालाई चलचित्रमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । यसले समयमै सचेत नभए परिवारमा आउन सक्ने सम्भावित खतरालाई उजागर गर्छ ।

प्रविधिमैत्री यो समयमा डिजिटल कुलतबाट आफू जोगिनु र आफ्ना बालबालिकालाई जोगाउनु एउटा ठूलो चुनौती बनेको छ । सुरूमा सामान्य लाग्ने यो लतले भविष्यमा परिवारमात्र नभइ सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले स्पष्ट रूपमा देखाएको छ । 

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । मोबाइल चलाउनु दैनिकीको हिस्सा बनिसकेको छ । अहिले सामाजिक सञ्जालमा ‘झिल्को’ बनेर फैलिने खबरले न्यायालयभन्दा अगाडि फैसला सुनाइसक्छ । एउटा सानो श्रव्यदृश्य वा कसैले केही लेखेकै भरमा डिजिटल माध्यमले मानिसलाई गर्ने असरलाई पनि चलचित्रले समेटेको छ ।

कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा बालबालिकाले प्रविधिको सहायताले कक्षा लिए । ‘अनलाइन क्लास’का कारण धेरै बालबालिकासम्म मोबाइल पुग्यो । तर, त्यसबाट फिर्ता ल्याउन वा मोबाइलको लत छुटाउन अभिभावकले ध्यान दिएनन् । जसकारण त्यो विस्तारै लतमा परिणत भएको पनि बुझ्न सकिन्छ ।

मिडिया फर कल्चर प्रा.लि.को निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन भइरहेको छ । उक्त चलचित्रमा निर्देशक भट्टराईसँगै अरूणदेव जोशी र देव व्रतले कथा लेखनको काम गरेका छन् ।

डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको दर्शकको भनाइ छ । चलचित्र हेराउन केही अभिभावक बालबालिका लिएर चलचित्र भवन पुगिरहेका छन् । 

‘झिल्को’ चलचित्रले विशेषगरी डिजिटल कुलतका कारण र त्यसले निम्त्याउने नकारात्मक असरलाई उजागर गरेको छ । यही कारणले पनि अभिभावकले आफ्ना बालबालिकालाई यो चलचित्र देखाउन चलचित्र भवनसम्म पुग्नु आवश्यक छ । के थाहा, चलचित्रमा देखाइए जस्तै डिजिटल कुलतको सानो ‘झिल्को’ कतै तपाईको परिवारमा त पनि सल्किरहेको छैन ? यो चलचित्रले समयमै सचेत हुन र आवश्यक कदम चाल्न प्रेरित गर्छ ।