२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

विदेशी पर्यटन व्यवसायी र पत्रकार बीआईटीएममा सहभागी हुन लुम्बिनीमा

आइतवार , जेठ १२, २०८२

भैरहवा, ११ जेठ । नेपाली पर्यटन क्षेत्रमा विशेष महत्व राख्ने तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल्स मार्ट (बीआईटीएम) को लागि विदेशी पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्टहरु लुम्बिनी आएका छन् । विश्व पर्यटनको केन्द्र लुम्बिनी र त्यस आसपासको क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेण्ट (नाट्टा) द्वारा आयोजित बीआईटीएमको लागि भारत, चिन, श्रीलंका,  थाईल्याण्ड, मलेसिया, इण्डोनेशिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्डस, श्रीलंकालगायत विभिन्न देशका ट्राभल्स एजेण्टहरु नेपाल आएको नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेण्ट  (नाट्टा) केन्द्रको वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक जिस्वा श्रेष्ठले बताउनुभयो ।

शुक्रबार काठमाडौंमा पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको बीआईटीएमको समापन भने आइतबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुहुनेछ ।

बुद्धिस्ट पर्यटनलाई केन्द्रमा राखेर नेपालको प्रकृति, संस्कृति, पुरातात्विक र साहसिक पर्यटनको प्रवद्र्धन समेत गर्ने गरी आयोजित बीआईटीएममा विदेशी पर्यटन व्यवसायीको उत्साहजनक सहभागीताले नेपाली पर्यटन व्यवसायीलाई खुसी दिएको नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेण्ट  (नाट्टा) लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष तथा बीआईटीएमका सदस्य कृष्ण प्रसाद अधिकारी (सागर) ले बताउनुभयो ।

भैरहवामा होटल, एअरलायन्स, केबलकार, ट्राभल्सहरु गरी ४० वटाले बिटूबीको लागि बुकिङ गरिसकेका छन् । आइतबार विदेशी पर्यटन व्यवसायी र विदेशी पत्रकारहरुको टोलीलाई बुद्ध सर्किटको फार्म ट्रिप गराउने र दिउँसोदेखि बिटूबी गर्ने कार्यक्रम छ । 
त्यसै गरी आइतबार नै औपचारिक कार्यक्रम आयोजना गरिएको र उक्त कार्यक्रममा नेपालको पर्यटन प्रवद्र्धन गर्ने गरी नेपाली र विदेशी मिडियाका प्रतिनिधिहरु सहभागी भइ छलफल गर्ने कार्यक्रम तय भएको नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट  (नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापाले बताउनुभयो ।

बीआईटीएमको सन्दर्भ पारेर बिबिसी, सिन्हा, अलजजिरा, सिसिटिभी, एपी, नेशनल जिओग्राफी, एपी, एएफपी, रिउटर, सार्क, एनएचके, युरोपियन, युरोपियन च्यानल, बुद्धिस्ट म्याग्जीन लगायत विदेशस्थित मिडियाका प्रतिनिधिहरु पनि लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि आएका छन् ।  

विश्वमा रहेका बुद्धिस्ट धर्म अनुयायीलाई लुम्बिनी र नेपाल आउन प्रेरित गर्ने गरी विदेशी ट्राभल्स व्यवसायीको सहभागीतामा आयोजित बुद्धिस्ट इन्टरनेशनल ट्राभल्स मार्टले नेपालको आर्थिक चलायमानमा पनि विशेष योगदान दिने (नाट्टा) का सह–कोषाध्यक्ष ढकनाथ काफ्लेले बताउनुभयो ।

नाट्टाको आयोजनामा भइरहेको बीआईटीएमको यो तेस्रो संस्करण हो । पहिलो संस्करण २०१९ मा र दोस्रो संस्करण २०२३ मा भएको थियो ।

बीआईटीएमको कारण भारतको आइटिओ भन्ने संस्थासँग एमओई भइसकेको नाट्टाका केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले जानकारी दिनुभयो । त्यसै गरी लुम्बिनीमा म्यानमार र चीनको एक पर्यटन सम्बद्ध संस्थासँग पनि सम्झौता हुने भएको छ ।