
शुक्रवार , जेठ १७, २०८२
लुम्बिनी, १६ जेठ । लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन सुरु भएको छ । लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रीत रही आर्थिक शिखर सम्मेलन आयोजना गरिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको भन्दै त्यसलाई विश्वव्यापी बनाउनुपर्ने बताउनुभयो । उहाँले यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको बताउनुभयो ।
उहाँले लुम्बिनी प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको जानकारी समेत दिनुभयो । ‘लम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ । तसर्थ, लुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ,’ मुख्यमन्त्री आचार्यको भनाइ थियो ।
सम्मेलनमा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि पर्यटक लोभिने क्षेत्र र बस्ने सेवा सुविधा आवश्यक रहने बताउनुभयो । लुम्बिनीको विकासमा पर्यटन शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै उहाँले पर्यटक रम्न सक्ने प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक संरचना नहुँदासम्म पर्यटनको विकास हुन नसक्ने बताउनुभयो ।
सूचना प्रविधिको उच्च प्रयोग गर्दै लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारतीय पर्यटकको कार्यथलो हुनेगरी सेवा मूलक पूर्वाधारको आवश्यकता रहेको उहाँले बताउनुभयो । छिमेकी मूलुक भारतका आईटी कामदारहरुलाई लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बसेर काम गर्ने वातावरण बनाउन सकिन्छ, ’उहाँले भन्नुभयो–‘भरपर्दो विद्युत र इन्टरनेट अनि बस्ने होटल राम्रो भए धेरै पर्यटक आउन सक्छन् ।’
लुम्बिनी प्रदेशको प्रमुख गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी भएको यसको प्रर्वद्धनका लागि अन्तर्राष्ट्रियस्तरमा प्रचार बढाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले सडक मात्रै आर्थिक विकास नभएकाले अन्य क्षेत्रमा सरकारको बजेट विनियोजन हुनुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवद्र्धनात्मक कार्यक्रम बनाइरहेको बताउनुभयो । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । उपकुलपति बज्राचार्यले प्रदेश सरकार र विश्वविद्यालयबीच समन्वय आवश्यक रहेको भन्दै सहकार्यमा प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले समग्र लुम्बिनीको पर्यटन विकासका लागि प्रदेश सरकारले प्राधिकरण स्थापना गर्ने नीति लिएको बताउनुभयो । उहाँले लुम्बिनी विश्वकै लागि महत्वपूर्ण स्थान भएकाले यसमा प्रदेश सरकारको समेत भूमिका बलियोगरी स्थापना हुँदा पर्यटन प्रवद्र्धनमा सहयोग हुने बताउनुभयो ।
प्रदेश सरकार, विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालयसहितका संस्थाहरुको सहकार्यमा लुम्बिनीको प्रवद्र्धन महत्वपूर्ण रहने उहाँले बताउनुभयो । उहाँले लुम्बिनीमा रहने पर्यटक गाइड पनि कुनै निकायबाट सूचीकृत रहेको बताउनुपर्ने बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयका अनुसन्धानहरु सरकारका नीति योजनामा पर्नेगरी अनुसन्धानमूलक कार्य गर्न आवश्यक रहेको औल्याउनुभयो । लुम्बिनीसहित प्रदेशका पर्यटकीय क्षेत्रको प्रवद्र्धन, सम्भावना पहिचान तथा विकासका लागि विश्वविद्यालयले अनुसन्धान गर्ने भन्दै प्रदेश सरकारसँग सहकार्यका लागि विश्वविद्यालय तयार रहेको बताउनुभयो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा बौद्ध दर्शन, आर्थिक विकास तथा पर्यटनसँग सम्बन्धित रहेर सातवटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij