
शनिवार , जेठ १८, २०८२
भैरहवा, १७ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ नम्बर वडा कार्यालयको आयोजनामा विपद् व्यवस्थापनको पूर्वतयारी सम्बन्धी छलफल गरिएको छ । मनसुनमा हुन सक्ने विपद्जन्य घटना र अवस्थाको कसरी व्यवस्थापन गर्नेबारे छलफल गरिएको सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेलले बताउनुभयो । उहाँले विपद् व्यवस्थापनमा प्रहरीसँगै समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जनचेतनामूलक कार्यक्रम गर्ने उल्लेख गर्दै कही कतै वडा कार्यालको ध्यान नपुगेको भए सल्लाह–सुझाव दिन आग्रह गर्नुभयो ।
शुक्रबार वडा कार्यालयमा भएको छलफल कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बि.ओ.पी. डण्डा), रुपन्देहीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदिप कुमार बस्नेतले विपद् व्यवस्थापनमा सबैको आ–आफ्नो भूमिका रहेको बताउनुभयो । उहाँले कहीकतै घटना भइहाले तत्कालै सुरक्षाकर्मीलाई जानकारी दिन आग्रह गर्नुभयो । उहाँले जनशक्ति, उपकरण तयारी अवस्थामा राखिएको बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक मुकेश न्यौपानेले विपद् व्यवस्थापनमा सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सिद्धार्थनगर–१ का वडा सचिव बसन्त घिमिरेले वडा नम्बर १ मा धेरै क्रियाशील संघ–संस्थाहरु रहेको बताउनुभयो । उहाँले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । उहाँले वडा नम्बर १ काममा पनि १ नै हुने बताउनुभयो ।
श्री बेलहिया माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सुरेन्द्र क्षेत्रीले नाला पुरिदा डुबानको समस्या आउने गरेको बताउनुभयो । उहाँले नाला नखुले पुनः बस्ती डुबानमा पर्ने भएकाले नाला खोल्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
समाजसेवी अर्जुन कुमार गिरीले नाला जाम हुँदा वर्षातको समयमा डुबानको समस्या आउने गरेको बताउनुभयो । उहाँले कुनै विपद् आइपरे बेलहियाबाट सहयोगको कुनै कमी नरहने बताउनुभयो । उहाँले डण्डा खोला नजिकै रहेकोले सजग रहनुपर्नेमा जोड दिनुभयो ।
पर्यटन व्यवसायी श्रीचन्द गुप्ताले मनसुनको बेला विशेष ध्यान दिनुपर्ने र पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । आधारभूत स्वास्थ्य केन्द्रकी इञ्चार्ज जानुका जि.सी.ले विपद्को समयमा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाबाट सहयोग हुने बताउनुभयो । कार्यक्रममा वडा कार्यालयले इलाका प्रहरी कार्यालय बेलहियालाई उद्वार सामग्री हस्तान्तरण गरेको थियो ।
यसैबीच सामुदायिक प्रहरी साझेदारी सञ्जाल समितिको बैठक पनि सम्पन्न भएको छ । बैठकमा सहभागीहरुले सीमा नाका बेलहियामा भारतीय सवारीसाधनको अव्यवस्थित पार्किङका कारण समस्या भएको बताउनुभयो । उहाँहरुले भारतीय सवारीसाधनले लामो समयसम्म पार्किङ गर्ने र सीमावारीबाटै यात्रु बोक्ने गरेको गुनासो गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij