
शनिवार , जेठ १८, २०८२
भैरहवा, १७ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा होटल पर्यटनको सम्भावना अधिक भएकाले निजी क्षेत्रकोतर्फबाट पनि यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ।
सिद्धार्थ होटल संघ, नेपालको १९औं स्थापना दिवस तथा सत्कार दिवसको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूलाई लक्षित गरेर होटल व्यवसायमा लगानी बढाउन जोड दिनुभएको हो । उहाँले होटल क्षेत्रको लगानीलाई पर्यटन व्यवसायसँग जोडेर हेर्न पनि आह्वान गर्नुभयो ।
‘हाम्रा पर्यटकीय क्षेत्रमा भ्रमणको उचित वातावरण बनाउन जरुरी छ । पर्यटकलाई धेरै दिन कसरी बसाल्न सकिन्छ र घुमाउन सकिन्छ भन्नेमा सबैले ध्यान दिन जरुरी छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘अर्घाखाँचीको नरपानी, प्यूठानको स्वर्गद्वारी, रोल्पाको जलजला जस्ता ठाउँ वरपर राम्रा होटल खोलेर प्याकेजको रूपमा पर्यटकलाई घुमाउन लैजान सकिने हो भने छुट्टै पहिचान बनाउन सकिन्छ । यसमा पनि ध्यान दिन जरुरी छ।’
उहाँले पर्यटकहरू बास बस्न नपाएर चाँडै फर्किनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले यसतर्फ व्यवसायमा संलग्न सबैले सोच्नुपर्ने स्पष्ट पार्नुभयो । ‘कतै होटलमा लगानी उठ्न नसक्ने अवस्था छ भने कतै होटल नै नभएर पर्यटकले सास्ती भोग्नुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘यस्तो असन्तुलन हटाउन पनि आवश्यक छ ।’
सरकारले पर्यटन क्षेत्रको विकास, लगानी र व्यवसाय प्रवद्र्धनका लागि अनुकूल नीति ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित भएर अघि बढ्न आह्वान गर्नुभयो ।
‘हरेक समस्याको समाधान छलफल र सहमतिबाटै हुने हो । त्यसैले कोही पनि कुनै नाममा उद्देलित हुन आवश्यक छैन,’ उहाँले भन्नुभयो, ‘सरकार व्यवसायीहरूको समस्या समाधान गर्न गम्भीर छ । अहिलेको नीति तथा कार्यक्रम र बजेटले धेरै कुरा सम्बोधन गरिसकेको छ ।’
सरकारले सकारात्मक कामको लागि सहजीकरण र आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उहाँले छिट्टै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिनुभयो ।
संघीय सरकारले अघि सारेको नीति तथा कार्यक्रम र प्रस्तुत गरेको बजेटबाट विमानस्थल सञ्चालनको आधार तयार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउँछ भन्ने विश्वासमा छौं । प्रदेश सरकारले पनि निरन्तर पहल गरिरहेको छ ।’
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनैपर्ने बताउनुभयो । उहाँले मुलुकको समृद्धिको आधार पर्यटन भएको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले बृद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउने गरी प्याकेज बनाउनुपर्नेमा जोड दिए । उहाँले लुम्बिनीको विकासले देशको विकास हुने बताउनुभयो ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले संघले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै त्यसको प्रवद्र्धन तथा व्यवसायिक हकहितमा काम गर्दै आएको बताउनुभयो । उहाँले पर्यटन व्यवसायलाई उद्योग सरहको मान्यता दिनुपर्ने माग गर्दै आएको र यो विषय अहिलेको बजेटले समेटेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले सत्कार दिवसको अवसरमा शुक्रबारदेखि आइतबार (तीन दिन) सम्म पर्यटकलाई होटलमा खान र बस्न छुट सुविधा रहेको जानकारी दिनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले पर्यटन प्रवद्र्धनका लागि सधै आफूहरु हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा होटल एशोसिएसन नेपालका अध्यक्ष विनायक शाह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशी, उपाध्यक्ष भोज बहादुर खत्री, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवाल लगायतले भनाइ राख्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij