
मंगलवार , जेठ २१, २०८२
भैरहवा, २० जेठ । सवारी दुर्घटनाको बढ्दै गएपछि रुपन्देहीको बुटवल उपमहानगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गरेको छ । बुटवलमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दै गएपछि उपमहानगरले सडकमा छोडिएका गाई गोरुको व्यवस्थापन गरेको हो ।
२०८० चैतबाट अभियानको रुपमा छाडा चौपायाको व्यवस्थापनमा जुटेको उपमहानगरले थुप्रै चुनौतीका वीच ५÷६ सय गाई गोरुको व्यवस्थापन गरिएको नगरप्रमुख खेलराज पाण्डेय जानकारी दिनुभयो । उपमहानगरले चलाएको अभियानमा जनप्रतिनिधिसहित सुरक्षाकर्मी, नगरप्रहरी, स्थानीयवबसीको साथ र सहयोग रहदै आएको उपमहानगरले जनाएको छ ।
कतिपयले झुक्काएर गाईवस्तुलाई सडकमा ल्याएर छाडे पनि कतिपय दानवीर तथा समाजसेवीले भने गौशालामा पुगेर गौसेवा गर्ने गरेका छन् ।
उपमहानगरको नेतृत्वमा सुरु गरिएको अभियानमा छाडा चौपायालाई नियन्त्रणमा लिएर शिवनगरस्थित गौशालामा राखिएको छ । २०८० बाट सुरु गरिएको छाडा छौपाया व्यवस्थापनको कार्यलाई अहिले पनि निरन्तरता दिइएको नगरप्रमुख पाण्डेयले बताउनुभयो । ‘हामीले दुई वर्षदेखि नै नियमितजसो अभियानकै रुपमा छाडा चौपाया व्यवस्थापनमा लागिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘चारैतर्फबाट गाई गोरु छाडिदिदा बुटवलबासीलाई दुःख दिएको छ ।’
‘छाडा चौपाया जस्ता कतिपय विषयबस्तुहरु जोडिएका पालिकाहरुको साझा समस्याहरु हुन् । यस्ता खालका समस्या अन्तरपालिका समन्वय गरेर समाधान गर्नु पर्ने हुन्छ, ’नगरप्रमुख पाण्डेयले भन्नुभयो–‘यसको समस्या समाधानका लागि हामी साझा मुद्वा बनाएर समाधानमा जुट्ने प्रयत्नमा लागेका छौं ।’ उहाँले प्रदेश सरकारसँग समन्वय गरेर यसको दीर्घकालिन व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
बुटवल उपमहानगरपालिकामा छाडा चौपायाको समस्या चुनौती रुपमा खडा भएको छ । सडकमा यत्रतत्र हिँड्ने गाई, गोरुसहितका छाडा चौपायाले सवारी दुर्घटनाको जोखिमसँगै व्यवसायीलाई पनि समस्या पारेको छ । स्थानीय पैदलयात्रीदेखि व्यवसायी र यात्रुहरूलाई दैनिकजसो समस्या हुने गरेको पैदलयात्री गीता भण्डारीले जानकारी दिनुभयो । सडकमा हिडिरहेका बेला कतिबेला कहाँबाट हान्ने हो भन्ने पिरलोले सधैभरी सताउने गरेको भण्डारीको भनाइ छ ।
पुर्वपश्चिम राजमार्ग र अन्य सडकहरुको केन्द्र बुटवल भएका कारण चारै तर्फबाट चौपाया आउने गरेको उपमहानगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख झबिन्द्र बन्जाडेले जानकारी दिनुभयो । उहाँले छिमेकी पालिकाका किसानले दुध दिन छाडेपछि सडकमा ल्याएर छाड्ने गरेकाले आम बुटवलबासीलाई समस्या हुने गरेको बताउनुभयो । किसानले छाडेका गाईवस्तुले पुनः किसानलाई नै दुःखदिने गरे पनि किसान वर्ग अझै सचेत नभएको बन्जाडेको भनाइ छ ।
बुटवलसहित विभिन्न छिमेकी पालिकाबाट चौपाया बुटवल र राजमार्ग केन्द्रीत हुँदा सडक दुर्घटनासमेत बढेकाले उपमहानगरपालिका प्रभावकारी रुपमा नियमित रुपमै छाडा चौपायाको व्यवस्थापन गर्दै आएको जनाएको छ।उपमहानगरपालिकाले सुरु गरेको अभियानलाई स्थानीयस्तरका टोल विकास संस्था, वडा कार्यालय र सुरक्षा निकायका युनिटहरुलाई पनि प्रयोग गरेर नियमित रुपमा व्यवस्थापन गर्दै आएको छ ।
गौशालामा पुर्याइएका गाई गोरुको नियमित संरक्षण्का लागि उपमहानगरपालिकाले दाना र पराल एवं हेरालुको पनि व्यवस्थापन गरेको छ । वडा नम्बर ७ स्थित शिवनगर सामुदायिक वनमा नन्दिनी गौशालामा गाई गोरुको व्यवस्थापन गर्दै आएको उपमहानगरले गाईगोरुको आहारालाई वार्षिक ५० लाख बढी खर्च गर्दै आएको जनाएको छ । उपमहानगरले गौशलामा व्यवस्थापन गरेका गाई गोरुका स्वास्थ्य उपचार गर्नका लागि पशु चिकित्सकको व्यवस्था गरेको जनाएको छ । (संचारिका फिचर)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij