
शनिवार , जेठ २५, २०८२
पाल्पा, २४ जेठ । हस्पिटालिटी क्षेत्रमा दक्ष कामदार आपूर्ति गराउने उद्देश्यले शनिबारदेखि पाल्पाको तानसेनमा १० दिने वेटर वेट्रेस तालिम सुरु भएको छ । स्विस सरकारको सहयोगमा नेपाल होटल संघ (हान), होटल संघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ होटल संघको आयोजना र पाल्पा होटल संघको समन्वयमा तालिम सुरु भएको हो ।
तानसेन बतासेडाँडास्थित होटल श्रीनगरमा तालिमको उद्घाटन गर्दै होटल संघ नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक चन्द्र प्रकाश श्रेष्ठले होटलमा कार्यरत कामदार कर्मचारीको दक्षता अभिवृद्धि साथै नयाँ जनशक्ति तयार गर्ने र दक्ष जनशक्तिले मात्रै हस्पिटालिटी क्षेत्रको स्तरवृद्धि गर्ने बताउनुभयो । उहाँले स्विस सरकारसित सहकार्यमा तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । सीप सिकेर अझै दक्ष हुने र नयाँले तालिमबाट धेरै कुरा सिकी रोजगार प्राप्त गर्न सहज हुने भएकाले तालिममा दत्तचित्त भएर १० दिनसम्म सहभागी बन्न श्रेष्ठले आग्रह गर्नुभयो ।
पाल्पा होटल संघका अध्यक्ष एवं श्रीनगर होटलका प्रबन्ध निर्देशक जयन्त भुसालले धेरै पछि पाल्पा तानसेनमा यस किसिमको तालिम सुरु भएको बताउनुभयो । उहाँले तालिमले रोजगारमा रहेकालाई थप दक्ष बनाउने र नयाँ जनशक्ति समेत तयार हुने बताउनुभयो । तालिमले होटल क्षेत्रको सेवा साथै नेतृत्व र व्यक्तित्व विकास समेत हुने जनाउँदै यो तालिम निःशुल्क रहेको र होटलमा निःशुल्क प्रयोगात्मक साथै सैद्धान्तिक शिक्षाको माध्यमबाट सिक्न भुसालले प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
तालिमका प्रशिक्षक धिरेन राकस मगरले तालिममा वेटर वेट्रेसले हस्पिटालिटी क्षेत्रमा गर्ने काम र भूमिका मात्र नभई हस्पिटालिटी क्षेत्रका अन्य सैद्वान्तिक कुरा पनि सिकाइने भएकाले १० दिनको तालिममा कुनै पनि दिन नछुटाउन आग्रह गर्नुभयो ।
सिद्धार्थ होटल संघका उपाध्यक्ष भोज बहादुर खत्रीले होटल पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको खाँचो रहेकाले यो तालिमले केही रुपमा मद्दत गर्ने बताउनुभयो ।
तालिममा पाल्पाका विभिन्न होटल रिसोर्टका २० जना युवायुवतीको सहभागीता रहेको छ । पाल्पामा निकट भविष्यमा हाउसकिपिंगको प्रशिक्षण पनि सुरु हुने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij