
आइतवार , जेठ २६, २०८२
भैरहवा, २५ जेठ । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले अध्ययन अवलोकन भ्रमण गरेको छ । संघका अध्यक्ष बाबुराम पाण्डेयको नेतृत्वमा टोलीले पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पास्थित ढोलीमाराको भ्रमण गरेको हो ।
भ्रमण टोली ढोलीमारा सामुदायिक होमस्टेमा बास बसेको अध्यक्ष पाण्डेयले बताउनुभयो । ‘संघले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ । वार्षिक कार्ययोजना अन्तर्गत आन्तरिक पर्यटन प्रवद्र्धनका लागि प्रत्येक वर्ष अध्ययन अवलोकन भ्रमण गर्दै आएका छौं, ’पाण्डेयले भन्नुभयो । दुईदिने भ्रमणका क्रममा यसपटक मदिरा व्यवसायी संघ भैरहवाको टोली ढोलीमारा पुगेको उहाँले बताउनुभयो ।
मदिरा व्यवसायी संघ भैरहवाका पदाधिकारी, सदस्य, सल्लाहकार लगायत गरी ३६ जनाको टोली ढोलीमारा पुगेको कार्यक्रम संयोजक तथा संघका सचिवालय सदस्य प्रकाश पाण्डेले बताउनुभयो ।
गत वर्ष संघको टोली अध्ययन अवलोकन भ्रमणका लागि प्यूठानको स्वर्गद्वारी र रोल्पा पुगेको महासचिव यादव पोख्रेलले जानकारी दिनुभयो ।
आगन्तुक पाहुनाहरुलाई स्वागत गर्ने ढोलीमाराका स्थानीयले बाजागाजासहित गरेको सत्कारलाई भुल्न नसकिने संघका कोषाध्यक्ष सुन्दर भण्डारीले बताउनुभयो ।
‘अध्ययन अवलोकन भ्रमणलाई निरन्तरता दिन्छौं’
मदिरा व्यवसायी संघ भैरहवाले ढोलीमारामा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरेको हो । छलफलमा सहभागी व्यवसायीहरुले अध्ययन अवलोकन भ्रमणलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा संघका अध्यक्ष बाबुराम पाण्डेयले २०७७ सालमा स्थापना भएको मदिरा व्यवसायी संघ भैरहवाले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले अध्ययन अवलोकन भ्रमण गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।
लुम्बिनी प्रेस क्लबका सचिव शशि पन्थीले मदिरा व्यवसायी संघ भैरहवाले राम्रो काम गर्दै आएको बताउनुभयो । यति ब्रुअरीका बजार प्रबन्धक प्रितम गिरीले मदिरा व्यवसायी संघ भैरहवासँग सहकार्य गर्दै जाने बताउनुभयो ।
मदिरा व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण रेग्मीले भ्रमणका लागि पाल्पाको रमणीय स्थल ढोलीमारालाई रोजेको भन्दै मदिरा व्यवसायी संघ भैरहवाप्रति आभार व्यक्त गर्नुभयो । मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले पहिलोपटक आफूहरु ढोलीमारा पुगेको बताउनुभयो ।
संघका वरिष्ठ सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्रीले भ्रमण खुसी साटासाट गर्ने र नयाँ कुरा सिक्ने अवसर पनि भएको बताउनुभयो । मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष गिरीराज पौडेलले मदिरा व्यवसायी संघ भैरहवा सशक्त रुपमा अगाडि बढेको बताउनुभयो ।
मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले संघले राहत वितरण, अध्ययन अवलोकन भ्रमण लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।
संघका अध्यक्ष बाबुराम पाण्डेयको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डेको स्वागत, संस्थापक एवं निवर्तमान अध्यक्ष केशवराज ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij