२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानलस्थल निर्माणसम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्छ : मुख्यमन्त्री पोखरेल 

आइतवार , चैत्र १५, २०७७

भैरहवा, १५ चैत । 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न गर्न प्रदेश सरकारको तर्फबाट विगतदेखि नै सहजीकरण हुँदै आएको र अब पनि सहयोग गर्दै जाने बताएका छन् । उनले आयोजनालाई आवश्यक सामाग्री स्थानीय तहसंगको सहकार्यमा उपलब्ध गराउने र यसमा कुनै समस्या नहुने बताए ।

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको आइतबार निरीक्षण गर्दै मुख्यमन्त्री पोखरलले कोभिड–१९ का कारण प्राविधिक आउने कुरामा समस्या भएका कारण चुनौतीपूर्ण बनेको भए पनि अहिले त्यो समस्या हल भएको बताए । उनले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो विमानस्थल सम्पन्न हुने बलियो आधार तयार भएको बताए । 

‘३ महिनाभित्र सबै काम सम्पन्न गर्ने गरी अगाडी बढेको सुन्दा खुशी लागेको छ, ’उनले भने । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको खांचो रहेको र त्यसलाई नेपाल नागरिक उड्डयन प्राधिकरण तथा पर्यटन मन्त्रालयले व्यवस्थापनको भूमिका निर्वाह गरे यही आर्थिक वर्षभित्र विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज उडान र अवतरणको अवसर प्राप्त हुने बताए ।IMG_6588.JPG

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे जानकारी गराउँदै आयोजना प्रमुख ई. प्रवेश अधिकारीको विमानस्थलको हालसम्म ९६ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको बताए । उनले लकडाउनको समयमा नदीजन्य पदार्थ र हार्डवेयर सामाग्रीको समस्या भएको तर लकडाउनबीच पनि केही काम अगाडी बढाइएको बताए । उनले क्यालिब्रेशन फ्लाइटको लागि थाइल्याण्डबाट जहाज नआउने भएपछि विकल्पको खोजी भइरहेको जानकारी दिए । विभिन्न निकायको समन्वय र सहकार्यले विमानस्थललाई छिटो भन्दा छिटो निर्माणसम्पन्न गर्न आयोजना लागिपरेको उनको भनाइ थियो ।

लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले विमानस्थलको प्रगतिबारे आफूले आयोजनासंग समयसमयमा जानकारी लिइरहेको बताए ।IMG_6587.JPG