
बिहिवार , आषाढ ५, २०८२
रुपन्देही, ५ असार । लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवल पछिल्ला केही वर्षयता शैक्षिक केन्द्रको रूपमा पनि परिचित बन्दै गएको छ । भौगोलिक, आर्थिक र सामाजिक दृष्टिकोणले केन्द्र बन्दै गएको बुटवल पछिल्लो केही वर्ष यता शिक्षाको हब बन्न पुगेको छ ।
बुटवल उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा अंगिकार गरेको नविनतम अभ्यास, सामूदायिक र संस्थागत विद्यालयहरुको सहकार्यले बुटवललाई शिक्षाको केन्द्र बनाएको शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।
नेपालका १० उत्कृष्ट विद्यालयको सूचीमा बुटवलका मात्रै तीनवटा विद्यालय रहेका छन् । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय, नविन औद्योगिक कदर बहादुर रिता रायमाझी माध्यमिक विद्यालय र कान्ति माध्यामिक विद्यालय विद्यार्थी संख्या र शैक्षिक गुणस्तरका हिसाबले पनि बुटवलका उत्कृष्ट विद्यालय हुन् ।
त्यसपछि तिनाउ पारीको विद्यालयको रुपमा रहेको नयाँगाउँ माध्यमिक वबद्यालय शैक्षिक गुणस्तर र नतिजाका आधारमा उत्ृकष्ट सामुदायिक विद्यालयको रुपमा रहेको बुटवल उपमहानगरपालिकाका उपनिर्देशक टिकाराम पन्थीले जानकारी दिनुभयो । नयाँ गाउँसँगै नहरपुर मावि र तिलोत्तमा माविले पनि शैक्षिक सुधार गर्दै आएको उपनिर्देशक पन्थीको भनाइ छ ।
शिक्षा क्षेत्रमा बुटवल उपमहानगरपालिकाको लगानी, विद्यार्थीको चाप र गुणस्तरीय शिक्षाको उपलब्धीले बुटवललाई पश्चिम नेपालको ‘शिक्षा राजधानी’ बनाउने सम्भावना बढेको छ ।
शिक्षा क्षेत्रमै लगानी र अभिवृद्धि
बुटवलमा ९७ वटा विद्यालय तहका विद्यालयहरु रहेका छन् । त्यसमध्ये ३९ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालय रहेका छन् । यहाँका विद्यालयहरुले विज्ञान प्रविधि, व्यवस्थापन, स्वास्थ्य, कानून, शिक्षा, इञ्जिनियरिङ, सूचना प्रविधि, नर्सिङ जस्ता बहुविषयगत कक्षा सञ्चालन गरेका छन् ।
विद्यालयदेखि विश्वविद्यालय, प्रविधि, स्वास्थ्य, कृषि, व्यवस्थापनदेखि अनुसन्धानसम्मका शैक्षिक आयामहरू विस्तार हुँदै गएको बुटवलले अबको केही वर्षमा लुम्बिनी प्रदेश मात्र होइन, देशकै प्रमुख शैक्षिक केन्द्रको रूपमा आफूलाई स्थापित गर्ने संकेत देखिएको छ । ९७ वटा विद्यालयमध्ये ३९ वटा माध्यमिक तहका विद्यालयहरु छन् । जसमध्ये सामूदायिकतर्फका २२ वटा मावि तहको अध्ययन हुने विद्यालय रहेका छन भने १७ वटा आधारभूत तहको अध्ययन हुने विद्यालयहरु रहेका छन् । बुटवलमा मात्रै ७१ हजार बढी विद्यार्थीले विद्यालय तहमा अध्ययन गरिरहेका छन् । सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब स्थापनासँगै प्रयोगात्मक शिक्षालाई प्रवद्र्धन गरिएको छ ।
छिमेकी जिल्लाका विद्यार्थीको रोजाइ बुटवल
बुटवलको शैक्षिक विकासको प्रभाव अब रूपन्देही जिल्लाभित्र सीमित छैन् । पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, बाँके, बर्दिया, प्यूठान र रोल्पाका विद्यार्थीहरू उच्च शिक्षाको लागि बुटवल आउने गरेका छन् । विद्यालय शिक्षा अध्ययनका लागि पनि बर्दघाटदेखि कपिलवस्तुसम्मका विद्यार्थीहरु आउने गरेको उपनिर्देशक पन्थीको भनाइ छ ।
विगतमा काठमाडौं, भारतको दार्जिलिङ, देहरादुन वा अन्य सहरहरू जाने विद्यार्थीहरुका लागि अहिले अध्ययनका लागि बुटवल रोजाइमा पर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
विद्यालय तहदेखि स्नातकोत्तर तहसम्मका नतिजामा बुटवलका विद्यार्थीहरू देशैभरीमा अब्बल देखिदै आएका छन् । त्यसको उदाहरणका लागि पछिल्लो तीन वर्षमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेशकै उच्चतम नतिजा दिने विद्यार्थीहरू बुटवलका विद्यालयबाट पर्ने गरेको नगरप्रमुख पाण्डेयको भनाइ छ ।
देशभर विद्यार्थी संख्या धेरै भएका सामूदायिक विद्यालयमध्ये ३ वटा– कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि र कान्ति मावि बुटवलमा अवस्थित छन् । यी विद्यालयहरूले शैक्षिक उपलब्धीमा मात्र होइन, भौतिक पूर्वाधार, प्रविधि प्रयोग र सामाजिक उत्तरदायित्वमा पनि उदाहरणीय भूमिका निर्वाह गर्दै आएका छन् ।
नगरप्रमुख पाण्डेयले बुटवललाई मुलुककै आकर्षक शैक्षिक हब बनाउने गरी काम भइरहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको व्यापक सुधारका लागि नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ६३ करोड रुपमा बजेट बिनियोजन गरेको थियो । जुन कुल बजेटको २६ प्रतिशत बजेट हो ।
गुणस्तर सुधारसँगै परिणाम पनि उत्साहजनक
बुटवलका सामूदायिक विद्यालयहरूले नतिजा पनि व्यापक रुपमा सुधार गरेका छन् । एसईईको नतिजा २०८० लाई हेर्दा सामूदायिक विद्यालयले समग्रमा ६२ दशमलव ८७ प्रतिशत नतिजा ल्याएकोमा बुटवलका ४ वटा विद्यालयले ६९ प्रतिशतमाथि नतिजा ल्याएका छन् । बुटवलको नयाँ गाउँ माविले ६९ दशमलव १८ प्रतिशत नजिता ल्याएको छ । त्यसै गरी नविन औद्योगिक विद्यालयले ७४ दशमलव ३ प्रतिशत, कान्ति माविले ८१ दशमलव ९७ प्रतिशत र कालिका मानव ज्ञानले ८६ दशमलव २२ प्रतिशत नजिता ल्याएको शिक्षा अधिकृत यादव चन्द्र बिष्टले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरीय पूर्वाधार निर्माण, शिक्षक तालिम, डिजिटल शिक्षा कार्यक्रम, सीपमूलक तालिम तथा छात्रवृत्तिमा समेत प्राथमिकता दिएको बिष्टको भनाइ छ ।
शैक्षिक संस्थाहरूको विविधता र विस्तार
बुटवलमा हाल ३९ सामूदायिक र ५८ संस्थागत विद्यालय छन् । त्यस्तै, चार मदरसा, एक धार्मिक विद्यालय र तीन प्राविधिक शिक्षालयहरू सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका २५ वटा क्याम्पसहरू बुटवलमा सञ्चालनमा छन् । बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस (सरकारी), बुटवल कालिका क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस (संस्थागत) रहेका छन् ।
प्राविधिक र स्वास्थ्य शिक्षाको केन्द्र
बुटवलमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, समाजशास्त्र, ग्रामीण विकास, होटल म्यानेजमेन्ट, कानून, सामाजिक मनोविज्ञान जस्ता विषयहरूमा पढाइ हुँदै आएको छ । बुटवलमा दुईवटा सरकारी प्राविधिक शिक्षालय–कोरिया नेपाल प्राविधिक शिक्षालय र बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआई) बाट अटो, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इञ्जिनियरिङतर्फ हजारौं प्राविधिक जनशक्ति उत्पादन भइरहेको छ । बीटीआईकै उत्पादनमध्येका एकजना प्राविधिक प्रदीप गिरी भन्नुहुन्छ–‘बीटीआई बुटवलको शान र पहिचान पनि हो । यसलाई अझ विशिष्टीकृत गर्नुपर्नेछ ।’ गिरी हाल सैनामैना नगरपालिकाको योजना शाखामा सिनियर प्राविधिकका रुपमा कार्यरत हुनुहुन्छ ।
स्वास्थ्य शिक्षाको क्षेत्रमा फार्मेसी, अनमी, नर्सिङ, ल्याब असिस्टेन्ट र हेल्थ असिस्टेन्ट उत्पादन हुने १५ वटा शिक्षण संस्था छन् । निजीस्तरका स्वास्थ्य प्राविधिकका कलेजहरु पनि छन् । यीमध्येको क्रिमसन कलेज प्रविधिमैत्री शिक्षामा अग्रस्थानमा रहेको छ । कृषि शिक्षा (बीएस्सी एजी) कलेज स्थापनाको प्रक्रिया पनि अगाडि बढाइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालको भनाइ छ ।
शैक्षिक सुधारका पहल र नेतृत्वको भूमिका
बुटवलको शैक्षिक विकासमा विगतदेखि नै पहलहरु भइरहेका छन् । विगतमा जनप्रतिनिधिहरू विशेषतः उपमहानगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरु, प्रदेश सांसद्, शिक्षा समितिका सदस्यहरूको पहलमा सिंगो बुटवल एक विद्यालय, सामूदायिक विद्यालयहरूमा स्मार्ट क्लासरूम, इन्टरनेट, पुस्तकालय र विज्ञान प्रयोगशालाको विकासमा जोड दिइएको थियो । सोही बमोजिम सामूदायिक विद्यालयहरुमा विज्ञान र कम्प्युटर प्रयोगशालाहरु स्थापना भएका थिए । अहिले यसलाई अझ व्यापक, विस्तार र विद्यार्थीहरुको रोजाइ अनुरुप काम अगाडि बढाइएको छ ।
शिक्षाविद् रामचन्द्र आचार्यका अनुसार व्यापारिक केन्द्रको रूपमा चिनिएको बुटवल पछिल्ला वर्षहरुमा शैक्षिक गन्तव्य बन्न सफल भएको छ । बुटवल शिक्षा क्षेत्रको हब हुनुमा नीति निर्माताको योजनाबद्धता, शिक्षालयहरूको गुणस्तरीय प्रतिष्पर्धात्मक सेवा र आम जनमानसको विश्वास प्रमुख कारण हुन् । उहाँले अहिलेको पाठ्यक्रममा सीपमूलक र रोजगारमुखी विषय समावेश गरी विश्व बजारसँग प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक वातावरणको समग्र प्रभाव
लोक सेवा, शिक्षक सेवा, अनुसन्धान तथा तालिमका लागि देशभरका विद्यार्थीहरू बुटवल आउने गरेका छन् । अध्ययन अवलोकन गर्न विदेशी शैक्षिक विज्ञहरू आउने क्रम पनि बढ्दो छ । यसले बुटवलमा शैक्षिक बहस, अन्तरक्रिया र नवप्रवर्तनको वातावरण सिर्जना गरेको उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालको भनाइ छ ।
रोजगारमुखी र उद्यमशीलता आधारित शिक्षा कार्यक्रम
सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा साइन्स, वेब÷मोबाइल एप विकास जस्ता नयाँ सीपमूलक विषयहरू समावेश गर्नुपर्नेछ । उद्यमशीलता विकास, स्टार्टअप इनक्युबेसन केन्द्र स्थापना, कृषि तथा ग्रामीण उद्यमतर्फ लक्षित कार्यक्रमको खाँचो देखिएको युवालाई उद्यमशीलता सिकाइरहेका विज्ञ मुकुन्द ज्ञवालीको भनाइ छ ।
स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने प्राविधिक शिक्षा
बुटवलले यसअघि सहरी कृषिको प्रबद्र्धनलाई उच्च प्राथमिकता दिएको थियो । अहिले पनि त्यो कार्यक्रम जारी रहेको देखिन्छ । कृषि विज्ञान (बीएस्सी एजी), डेरी टेक्नोलोजी, वन विज्ञान, माटो तथा जल व्यवस्थापन, स्थानीय स्रोत आधारित व्यवसायिक तालिमहरू सञ्चालन गर्न जरुरी छ । लघु उद्योग सम्बन्धी तालिम (हस्तकला, प्रशोधन र प्याकेजिङ) लाई विद्यालय तहदेखि समावेश गर्नपर्ने ज्ञवालीको सुझाव छ ।
अनुसन्धान तथा नवप्रवर्तन केन्द्रको स्थापना
विद्यालय र क्याम्पसमा ‘इन्नोभेशन ल्याब’ स्थापना गरी विद्यार्थीलाई अनुसन्धानप्रति आकर्षित गराउन सकिन्छ । अहिलेको पुस्ताले विश्वका कयौं मुलुकका शैक्षिक कार्यक्रमहरु नेटमार्फत हेरेर पनि प्रभावित हुने गरेको अवस्था छ । हामीले पनि हाम्रो मौलिकतासहितको त्यस्तो नवप्रवर्तनको कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना रहेको अर्का युवा उद्यमी यादव भण्डारीको भनाइ छ । सामाजिक अनुसन्धान (जस्तो ग्रामीण विकास, सहरी विकास, सार्वजनिक जनस्वास्थ्यका क्षेत्रहरुमा विद्यार्थीको संलग्नता बढाउन सकिने उहाँको भनाइ छ ।
कमाउँदै पढ्दै कार्यक्रम ल्याउन जरुरी
युवाहरु कक्षा १२ पास भएपछि विदेश जाने प्रवृत्ति व्यापक मात्रामा रहेको छ । यसलाई रोक्न कमाउँदै पढ्दै कार्यक्रम ल्याउन जरुरी छ । कामका लागि विदेश जानुपर्ने बाध्यतालाई कम नगरेसम्म युवालाई विदेश जाने विकल्प दिन सकिन्न । त्यो विकल्प भनेको कमाउँदै पढ्दैको कार्यक्रम हो । विदेशबाट फर्किएर कृषि कर्ममा लाग्नुभएका गुल्मी रुरुका किसान खिमबहादुर क्षेत्री भन्नुहुन्छ–‘अहिलेका विद्यार्थीलाई पढ्दै कमाउँदैको कार्यक्रममा जोड्नैपर्छ ।’
विद्यार्थी–उद्योग सहकार्य कार्यक्रमहरु पनि सञ्चालन गर्न सकियो भने त्यसले विद्यार्थीमा कमाउँदै–पढ्दैको वातावरण बन्नेछ । प्राविधिक र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय उद्योग, बैंक, अस्पताल, फार्म र आइटी कम्पनीहरूसँग जोड्ने व्यवस्था गर्न जरुरी देखिन्छ ।
असल अभ्यास र उपलब्धिहरु
बुटवलले शिक्षा क्षेत्रमा केही असल अभ्यास र उपलब्धीहरु पनि प्राप्त गरेको छ । बुटवल उपमहानगरपालिकाका अनुसार सूचना तथा प्रविधिमार्फत शिक्षाको प्रवद्र्धन गर्न स्मार्ट कक्षा स्थापना गरेको छ । नगरका विभिन्न विद्यालयहरूमा स्मार्ट बोर्ड, प्रोजेक्टर, इन्टरनेट सेवा लगायतका प्रविधियुक्त कक्षा सञ्चालनमा ल्याइएको छ । विभिन्न विद्यालयहरुमा लागू गरिएको असल अभ्यासले विद्यार्थीहरुको चाप बढ्नुका साथै नतिजामा पनि व्यापक सुधार आएको नयाँ गाउँ माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासका लागि वर्तमान नेतृत्वले समानुपातिक र विवेकपूर्ण ढंगले लगानी गरेको बताउनुभयो ।
पाँचवर्षे शिक्षा योजना निर्माण र कार्यान्वयन
बुटवल उपमहानगरपालिकाले सन् २०७६–२०८१ सम्मको पाँचवर्षे शिक्षा योजना निर्माण गरी सार्वजनीकिकरण गरेको छ । हाल सो योजना कार्यान्वयनको अन्तिम चरणमा रहेको छ । यसका साथै दोस्रो पाँचवर्षे शिक्षा योजना (२०८१÷८२–२०८६÷८७) को मस्यौदा अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ । जसले शिक्षामा दिगो विकासका लागि मार्गनिर्देशन गर्ने विश्वास गरिएको छ ।
आधारभूत तहको स्थानीय पाठ्यक्रम विकास
कक्षा १ देखि ८ सम्मका लागि स्थानीय संस्कृति, भूगोल र सामाजिक सन्दर्भमा आधारित पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिएको छ । हाल यो पाठ्यक्रम परिमार्जनको चरणमा समेत रहेको छ ।
नगर अनुदान शिक्षक व्यवस्थापन
बुटवल उपमहानगरपालिकाले न्यून दरबन्दी भएका विद्यालयमा नगरको आन्तरिक स्रोतबाट ४१ जना अनुदान शिक्षकको कोटा उपलब्ध गराई शिक्षण कार्यलाई थप सुदृढ पारिएको जनाएको छ । उपनिर्देशक टिकाराम पन्थीले बाल विकासदेखि १२ कक्षासम्म अध्ययन अध्यापन गराउन ४१ जना नगर अनुदानका शिक्षक व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले त्यसका लागि उपमहानगरले आन्तरिक श्रोतबाट ४ करोड रुपैयाँ खर्च गरेको छ ।
शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकास पनि अगाडि
बुटवल उपमहानगरपालिकाले ‘नगरप्रमुख विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम’ र शैक्षिक विकास कोषमार्फत भौतिक पूर्वाधारका क्षेत्रमा काम गरेको छ । ‘नगरप्रमुख विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत विद्यालय भवन, शौचालय, कम्पाउण्ड, खेलमैदान आदिको निर्माण तथा मर्मतका लागि लगानी गरेको छ । भौतिक पूर्वाधार विकासका लागि नगरले वार्षिक २ करोड बढी लगानी गरेको छ ।
‘शिक्षामा अब्बल, हाम्रो बुटवल’ परिकल्पनाअन्तर्गत विकास कार्यक्रम सञ्चालन गरिएको छ । नगरप्रमुख शैक्षिक विकास कार्यक्रम अन्तर्गत विद्यालयहरूको शैक्षिक र भौतिक स्तर सुधार गरिदैछ । यस कार्यक्रमले विद्यालयहरूको मात्र नभइ विद्यार्थीहरूको पनि समग्र विकासमा जोड दिएको छ । पाठ्यक्रमबाहेकका सीप, संस्कार, संस्कृति, खेलकुद, नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने उपमहानगरले जनाएको छ । साथै उत्पादन हुने जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिष्पर्धी बनाउन पहल गरिने जनाएको छ ।
‘छोरी पढाऔं, समाज बनाऔं’ कार्यक्रम
बुटवल उपमहानगरपालिकाले छात्रा (छोरीलाई) निःशुल्क अध्ययन सुविधा दिन लागेको छ । बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआई) मा छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था गरिएको नगरप्रमुख पाण्डेयले जानकारी दिनुभयो । महिला शिक्षा प्रवद्र्धन र लैंगिक समानतामा टेवा पुर्याउनका लागि ४० जना छोरीहरुलाई निःशुल्क प्राविधिक र सीपमूलक शिक्षा पढाउन लागिएको उहाँले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij