२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्यटन प्रवद्र्धनका लागि अघि बढ्दै बुटवल, के–के बन्दैछन् योजना ?

शुक्रवार , आषाढ ६, २०८२

रुपन्देही,६ असार । पर्यटन क्षेत्र विकास र समृद्धिको आधार हो । मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य छ । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन स्थानीयस्तरबाटै सुरु गर्नुपर्छ । अनि मात्र हामीले परिकल्पना गर्दै आएको समृद्धिको सपना साकार हुन्छ । समृद्धिको नारा लगाएर मात्र हुँदैन, त्यो प्राप्त गर्ने किसिमको उपयुक्त काम पनि गर्न आवश्यक छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पर्यटन क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनका लागि विभिन्न कामहरु अघि बढाएको छ । बुटवलमा पर्यटन विकासको धेरै सम्भावना छन् । यहाँ आएका पर्यटकलाई रोक्न सकिए मात्र पनि यहाँको आर्थिक विकासले फड्को मार्नेमा दुईमत नै छैन । 

यस्ता छन् बुटवल घुम्ने पर्यटकिय स्थल 
बुटवलमा फूलबारी, ऐतिहासिक जितगढी किल्ला, हिलपार्क, रामापिथेकस पार्कलगायत महत्वपूर्ण पर्यटकीय स्थलहरु छन् । तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्देहीको जितगढी किल्ला परिचित छ । नयाँ स्वरूपमा यसको विकास भइरहेको छ । इस्ट इण्डिया कम्पनीसँग वि.सं.१८७१ देखि १८७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरेका थिए ।

WhatsApp Image 2025-06-20 at 9.07.35 AM.jpeg

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहाससँग जोडिएको यो किल्ला हेर्नलायक बनेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको यो स्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि गतिलो गन्तव्य बन्दैछ ।

Mani mukunda.jpg

बुटवल उपमहानगरपालिकाले त्यही ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलका रूपमा विकास गर्न थालेपछि जितगढीको मुहार बदलिएको नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो । यसलाई नेपालकै हेर्नलायक बनाउने उहाँको भनाा छ । गुरुयोजना बनाएरै जितगढीको विकासका लागि काम सुरु गरिएपछि कर्णेल उजिरसिंह थापाको ९ फिट उचाईको पूर्ण कदको तामाको सालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएपछि यहाँको दृश्य हेर्नलायक बनेको छ ।

उपमहानगरपालिकाले किल्लामा भएको अतिक्रमणलाई हटाएर यसको पहिचान र अस्तित्वको जगेर्ना गरेको छ । ५० लाख रुपैयाँ विनियोजन गरी काम सुरु गरिएकोमा गत वर्ष १ करोड बजेट विनियोजन गरी गुरुयोजना बनाएरै सम्पदा स्थलमा विभिन्न संरचना निर्माण गरिएको छ ।

किल्लामा ८ करोड १२ लाख ८९ हजार २७ रुपैयाँ लागतसहितको काम सकिएको छ । किल्ला नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरणसमेत गरिसकेको छ । गुरुयोजनामा जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवललाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ ।

पर्यटकको बसाई लम्बाउन रात्रीकालीन बजार

kalika-path.jpg


पर्यटकको बसाई लम्ब्याउन महत्वपूर्ण काम भनेको रात्रीकालीन बजार सञ्चालन हो । रात्रीकालीन बजारले पर्यटकलाई भुलाउन र उनीहरुको बसाईको अवधि लम्ब्याउन सहयोग गर्छ । बजार चलायमान बनाउनका लागि रात्रीकालीन बजार सञ्चालन गर्न आवश्यक रहेकाले सुरक्षा व्यवस्था मिलाउनका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई अनुरोध गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

रूपन्देहीमा रात्रीकालीन बजार सञ्चालनको माग गर्दै बुटवल उपमहानगरपालिकासहित ४ स्थानीय तहले २०८१ चैतमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बुटवल उप–महानगरपालिकाले रात्रीकालीन बजार घोषणा गरेपछि राति अबेरसम्म व्यवसाय सञ्चालनका लागि पहल थालिएको बताउनुभयो । उहाँले रात्रीकालीन व्यवसाय सञ्चालनका लागि व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको बताउनुभयो । बुटवलमा धेरै स्तरीय होटलहरु छन् । ती होटलमा एक दिन बस्न आउने पर्यटकलाई तीन दिनसम्म पनि बसाई अवधि लम्ब्याउन सकिन्छ । त्यसका लागि लागि रात्रीकालीन बजार अपरिहार्य छ । बुटवल उपमहानगरपालिकाको प्रमुख खेलराज पाण्डेयका अनुसार बुटवलको कालिकानगरको रात्रीकालीन बजारलाई व्यवस्थित बनाउन स्ट्रेट लाइट र सिसिटिभी क्यामेराका लागि रु. २५ लाख रकम बजेट छुट्याएको बताउनुभयो ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलमा रात्रीकालीन बजार चलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले दिउँसोको समयमा बजार गर्न नभ्याउने मानिसहरू धेरै रहेको र उनीहरुले रातीको समयमा बजार गर्ने तथा पर्यटकीय हिसाबले पनि रात्रीकालीन बजार जरूरी भएको धारणा राख्नुभयो । बुटवल उपमहानगरपालिकाका अधिकृत अरविन्द पाण्डेले रात्रीकालीन बनार क्षेत्रमा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजनाका साथ उपमहानगरपालिकाले नीति तथा कार्यक्रम बनाउन लागेको बताउनुभयो । रात्रीकालीन बजारले २५–३० हजार जनालाई रोजगारी दिन सकिने उहाँको भनाइ छ । ‘पर्यटन क्षेत्रमा अझ राम्रो गर्न सके त्यसले अर्थतन्त्रको चलायमानमा टेवा पुर्याउँछ,’  उहाँले भन्नुभयो ।

त्यस्तै बुटवलभित्र रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रम गरिने पाण्डेले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रमबाट आएका सल्लाह–सुझाव अनुसार थप कदम अघि चाल्ने योजना रहेको उहाँको भनाइ छ ।

बुटवल पर्यटकका लागि विश्रामस्थ

WhatsApp Image 2025-06-20 at 9.07.35 AM (1).jpeg


त्यस्तै बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उद्देश्यका साथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्राउन बुटवल उपमहानगरपालिकाले पहल थालेको छ । भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दू धर्मावलम्बी र चीनबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी पर्यटकहरु ल्याउने र बुटवलमा विश्राम गर्ने गरी उपमहानगरपालिकाले पहल थालेको हो ।

स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, बाग्लुङको जैमिनी, मुस्ताङको लोमान्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहहरुसँग भेटघाट गरी पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने र छिटै नै पालिकाहरुका बीचमा सम्मेलन आयोजना गर्ने निर्णय भएको नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग बुटवल उपमहानगरपालिकाले भगिनी सम्बन्ध कायम गर्ने सहमतिसमेत भएको छ ।

‘बुटवल मुलुकका सबैजसो स्थानबाट र भारत तथा चीनबाट समेत आउन जानका लागि सहज सहर हो । यहाँबाट देशका सबैजसो स्थानमा जाने सवारीसाधन चल्छन् र गौतमबुद्ध विमानस्थलबाट समेत हवाइ सेवा उपलब्ध छ, प्रमुख पाण्डेयले भन्नुभयो–‘यसको लाभ उठाउने गरी बुटवललाई केन्द्र मानेर भारतबाट आउने हिन्दू पर्यटकलाई मुक्तिनाथ र कोरला नाकासम्म लैजाने तथा चीनबाट कोरला नाका हुँदै लुम्बिनी आउने बौद्ध धर्मका पर्यटकलाई सहजीकरण गर्ने हाम्रो उद्देश्य हो ।’ उहाँले बुटवलमा सबैका लागि उपयोगी हुने पर्यटक सूचना केन्द्र निर्माण गर्ने र पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा टुर प्याकेजहरु तयार गरेर भारत र चीनका पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

‘बुटवल र आसपासका पर्यटकीय स्थलहरु घुम्ने र बुटवलमा रात बिताउने गरी यस्तो प्याकेज तयार गरी भारत र चीनका पर्यटकलाई बुटवलमा भ्रमणको निम्तो दिइनेछ,’उहाँले भन्नुभयो–‘यसले गर्दा बुटवलको मात्रै नभइ लुम्बिनीदेखि कालीगण्डकी करिडोर क्षेत्रमा पर्ने स्थानीय तहहरुको समेत पर्यटन प्रवद्र्धनमा योगदान पुग्नेछ ।’

बेलहियादेखि बुटवल हुँदै कोरला नाकासम्मका पालिका प्रमुखसहित जनप्रतिनिधि तथा व्यवसायिक संघ–संस्थाका प्रमुखहरुको बीचमा धार्मिक पर्यटकीय यात्रा अभिवृद्धिलगायत क्षेत्रमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरिने अधिकृत पाण्डेले बताउनुभयो । उहाँका अनुसार बुटवल उपमहानगरपालिकाले बुटवलको आधिकारिक मायाको चिनो निर्माण गर्ने योजना बनाएको छ ।

त्यस्तै पर्यटकको बसाई लम्ब्याउन बुटवलमा होमस्टे सञ्चालन गर्ने योजनामा उपमहानगरपालिका छ । ‘पर्यटक धेरै आउँछन्, तर, उनीहरु त्यसै दिन फर्कन्छन् । मुख्य चुनौती भनेकै पर्यटकलाई रोक्ने चुनौती हो, हामीले पर्यटक भुलाउने र बसाई अवधि लम्ब्याउने वातावरण बनाउन सक्यौं भने निश्चय नै पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्छ, ’उहाँले भन्नुभयो । बुटवलमा स्थानीय सम्पदाको संरक्षण, विभिन्न वाटर पार्क बनाएर पर्यटक आर्कषित गर्न सकिने उहाँको भनाइ छ ।

उहाँका अनुसार बुटवलमा सञ्चालन हुँदै आएको सडक खाना महोत्सवमा बुटवल उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ । सडक खाना महोत्सवमा आन्तरिकसँगै बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । सडक खाना महोत्सवले बजार चलायमान बन्ने होटल व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव राजेश महोत्रा बताउनुहुन्छ ।
उज्यालो बुटवल

बुटवल उपमहानगरपालिकाले ‘उज्यालो बुटवल’ अभियान अन्तर्गत विभिन्न चोक तथा सडकमा हाईमास्ट बत्ती जडान गरेको छ । बुटवलमा रात्रीकालीन बजारको अवधारणाअनुसार काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ  । सोही अवधारणाअनुसार बुटवलका विभिन्न ५२ वटा स्थानमा अहिले उच्च क्षमतायुक्त सडक बत्ती ‘हाईमास्ट लाइट’ जडान कार्य भइरहेको छ । बुटवलको अस्पताल लाईन, बसपार्क, तीनकुने, देवीनगर लगायतका स्थानमा बत्ती जडान काम सकिएको छ भने प्राविधिक रूपमा परीक्षणपश्चात नियमित रूपमा बत्ती बल्नेछन् ।

उज्यालो बुटवल

उज्यालो बुटवल अभियान अन्तर्गत बुटवलका ५२ वटा स्थानमा उच्च क्षमताका सडक बत्ती हाईमास्ट लाइट जडानका लागि प्रस्ताव तयार गरी संघीय सरकारमा पठाइएको र सोहीअनुसार काम भइरहेको योजना महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिनुभयो । हाईमास्ट लाईटले सवारी दुर्घटना न्यूनीकरणका साथै साना व्यवसायीहरू, ठेला व्यवसायी, चिया–कफी बेच्नेलाई, पर्यटकीय क्षेत्रको रूपमा तथा सुरक्षाको लागि पनि महत्वपूर्ण हुने उपमहानगरको भनाइ छ । बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा ट्राफिक लाईट जडान गरिएको छ । यहाँ विभिन्न स्थानमा सिसिटिभी जडान गरिएको छ ।

Turquoise and Yellow Summer Collage Facebook Post (1).png

पछिल्लो समय बुटवलमा सञ्चालन भएको लुम्बिनी केबलकार पर्यटकको रोजाइमा परेको छ । यसले आन्तरिकसँगै विशेष गरी भारतीय पर्यटकलाई आकर्षित गरेको छ । लुम्बिनी केबलकारले २ वर्षमा साढे तीनलाख पर्यटक भित्राएको छ । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारले (वैशाख मसान्तसम्ममा ३ लाख ४७ हजार ९ सय ७६ पर्यटक भित्राएको कम्पनीले जनाएको छ । केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेका अनुसार साढे ३ लाख पर्यटकमध्ये भारतीय पर्यटकको संख्या मात्रै ४१ हजार ६ सय ४८ जना र तेस्रो मुलुकका पर्यटकको संख्या २ सय जना छन् । केबलकार चढ्न आएका पर्यटकलाई कम्तीमा एक रात बुटवलमा बास बस्ने योजना बनाउन जरुरी छ।