
आइतवार , आषाढ ८, २०८२
रुपन्देही, ८ असार । केही वर्ष अघिसम्म रुपन्देहीको बुटवलका धेरै अस्पतालमा विशिष्टीकृत उपचार पाउन सक्ने अवस्था थिएन । पैसा हुनेहरू राजधानी काठमाडौं र छिमेकी देशसहित तेस्रो मुलुकसम्म उपचार गराउन पुग्थे । तर, अहिले भने अवस्था फेरिएको छ । विशेषज्ञ डाक्टरद्वारा उपचार पाउन थालेपछि अहिले बुटवलमा बिरामीहरुको चाप बढ्न थालेको छ ।
यहाँका साना तथा ठूला अस्पतालहरुमा दैनिक हजारौं बिरामीले स्वास्थ्य सेवा लिइरहेका छन् । यहाँ अवस्थित प्रदेशकै गौरवको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा–नेपाल (सिद्धार्थ बाल तथा महिला अस्पताल), गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, तिलोत्तमा हस्पिटल, बुटवल हस्पिटल प्रा.लि., चौराहा हस्पिटल, साझा अस्पताल लगायतका निजी, सरकारी तथा सामुदायिक अस्पतालहरुले विशेषज्ञ सेवाहरु प्रदान गरिरहेका छन् ।
बुटवल उपमहानगरपालिकाले नगरका सबै वडामा स्वास्थ्य केन्द्रहरु सञ्चालन गर्ने योजनाअनुसार वडा नम्बर ९ बाहेकका १८ वटै वडामा स्वास्थ्य केन्द्रहरु सञ्चालनमा ल्याएको छ । वडा नम्बर ९ मा नगरको आफ्नै भवन नभएकाले थप व्यवस्थापन गरी छिट्टै नै स्वास्थ्य केन्द्र स्थापना गरिने नगरपालिकाले जनाएको छ ।
१० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र, ५ वटा वडामा ल्याबसहितका शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।
त्यस्तै वडा नम्बर १३ मा फिजियोथेरापी सेवा, १३ मा अक्सिजनसहितको स्वास्थ्य सेवा सञ्चालत हुने तयारीमा छ भने २ वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा रहेको छ । ती स्वास्थ्य केन्द्रबाट पारामेडिक, नर्सिङ, आयुर्वेदिक र ल्याब सेवालगायतका करिब ६५ जना स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा दैनिक रुपमा प्रदान गरिदै आएको बुटवल उपमहानगरपािलका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने गरी योजना अगाडी बढाएको बताउनुभयो । स्वास्थ्यमा बुटवललाई देशकै अग्रणी बनाउनका लागि अस्पतालको स्तरउन्नति, थप अस्पताल निर्माण, सेवासुविधा थप तथा विस्तारको कार्यक्रम ल्याएको उहाँको भनाइ छ ।
नगरप्रमुख पाण्डेयले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्लल सहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा प्रयाप्त अवसर सिर्जना हुने गरी बजेट विनियोजन गरिने बताउनुभयो । उहाँले बुटवललाई समृद्ध बनाउनका लागि नगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकोले सबै नगरबासीको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्वास्थ्य सेवामा बुटवल अगाडी रहेको बताउनुभयो । केही निजी अस्पताल/क्लिनिकहरुले मापदण्ड पूरा नगरी सञ्चालनमा रहेकोले उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको उहाँले जानकारी दिनुभयो । उपप्रमुख अर्यालले स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति सम्बन्धि मापदण्ड, २०८० बनाएर स्वास्थ्य संस्था दर्ता, नवीकरणको कार्य अगाडि बढिरहेकोले मापदण्ड पुगेका करिब ६० वटा स्वास्थ्य संस्थालाई अनुमति प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो ।
स्वास्थ्यको केन्द्र बन्दै बुटवल
बुटवलमा सामान्यदेखि जटिल किसिमका उपचार गर्ने अस्पतालहरु छन् । ती अस्पतालहरुमा मेडिसिन, ई.एन.टी, सर्जिकल, कार्डियोलोजी, न्यूरोलोजी, दाँत तथा मुख रोग, छाला तथा यौनरोग, स्त्री तथा प्रसूति, हाडजोर्नी, बालरोग, आँखारोग, न्यूरो सर्जरी, युरोलोजी, मनोरोग, फार्मेसी, प्याथोलोजी (रगत जाच), एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउण्ड (भिडियो एक्स–रे), इण्डोस्कोपी, क्लोनोस्कोपी, ई.ई.जी., ओ.पि.जी., इकोकार्डियोग्राम, आईसीयू, एन.आई.सी.यू. लगायतका सेवाहरु उपलब्ध छन् । ती स्वास्थ्य सेवाहरु लिनका लागि देशका विभिन्न ठाउँहरु र छिमेकी देश भारतबाट पनि बिरामीहरु बुटवल आउने गरेका छन् ।
प्रदेशकै गौरव : लुम्बिनी प्रादेशिक अस्पताल
बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई देशकै सुविधासम्पन्न र ठूलो सरकारी अस्पतालका रूपमा स्तरोन्नति गरिदैछ । १२ सय शैयामा स्तरोन्नति हुन लागेको अस्पतालको पूर्वाधार निर्माणका काम अगाडि बढेका छन् । यो अस्पताल एक सय १५ वर्षअघि बुटवलमा स्थापना भएको हो । १९६७ साल फागुन १५ गते ६ वटा शैयाबाट सुरु भएको अस्पतालमा हाल ५ सय शैया छन् । लुम्बिनी प्रदेश सरकारले यो अस्पताललाई गौरवको आयोजनामा राखेर १२ सय शैयामा स्तरोन्नति गर्न लागेको हो ।
निर्माण सम्पन्नपछि यस अस्पतालबाट अत्याधुनिक बहिरङ्ग (ओपिडी) सेवा, इमर्जेन्सी सेवा, इण्डोर सेवा, ग्याष्ट्रो, न्यूरो, कार्डियोलोजीलगायतका विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुनेछन् । हाल यी सेवा प्रदान हुँदै आएका भवनबाट प्रसुति, महिला तथा बालरोग सेवा, डाइग्नोष्टिक एन्ड रिसर्चलगायतका सेवा उपलब्ध हुनेछ । क्यान्सर उपचारका लागि अण्डरग्राउण्डसहित पाँचतले भवन बन्नेछ ।
मुटु अस्पताल र आम्दा, उपचारसँगै जनशक्ति उत्पादन पनि
वि.सं. २०७० सालमा स्थापित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले हृदय र डायलाईसिस सेन्टरमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । यो पश्चिमी नेपालका नागरिकका लागि मुटु र मृगौलासम्बन्धि उपचारको लागि गतिलो स्वास्थ्य संस्थाको रुपमा छ ।
त्यस्तै महिला र बालरोग उपचारका लागि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) रहेको छ । आम्दा स्वास्थ्य उपचारका साथमा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनमा पनि क्रियाशील छ । यहाँ महिला तथा बालबालिकाको उपचारसँगै जनशक्ति उत्पादनका लागि एचए, नर्सिङ्ग र फार्मेसीको अध्ययन शुरु भएको छ । आम्दाबाट दिइने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन हाल कायम रहेको १ सय बेड क्षमताबाट बढाएर ३ सय बेडमा लैजानका लागि डीपीआर तयार हुने अवस्थामा रहेको उपमहानगरले जनाएको छ ।
आर्थिक सहायतादेखि निःशुल्क रगत
बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले ८ प्रकारका जटिल रोगहरु (मुटुरोग, मृगौलारोग, क्यान्सर, प्रार्किन्सन, अल्जाइमर, स्पाईन इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को थप उपचार व्यवस्थापनका लागि बिरामीलाई सहयोग उपलब्ध गराउँदै आएको बताउनहुन्छ । ती रोग लागेका विपन्न परिवारका बिरामीहरुलाई उपमहानगरपालिकाले १७ हजार रुपैयाँ उपचार खर्चवापत प्रदान गरिदै आएको बताउनुभयो । त्यस्तै विपन्न नागरिकलाई सिफारिस हुने दीर्घ रोग भएका बिरामीलाई १७ हजार रुपैयाँ सहयोग दिने गरेको छ । एचआईभी संक्रमित १८ वर्षमुनीका बालबालिकालाई पोषण खर्चस्वरूप मासिक ३ हजार प्रदान गर्ने गरेको छ ।
त्यस्तै नगरप्रमुख स्वस्थ शिशुपोषण कार्यक्रम अन्तर्गत मातृ मृत्यु र शिशु मृत्युदरमा कम गर्न स्वास्थ्य संस्थामा प्रसुति सेवालाई बढावा दिनका लागि सुत्केरी आमाहरुलाई २ हजार रुपैयाँ सुत्केरीपछि वडा तहबाटै दिने गरिएको छ ।
नगरबासीलाई स्वास्थ्य समस्याको कारण रगत तथा रक्तजन्य पदार्थको आवश्यकतालाई उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक बुटवल शाखासँग निःशुल्क उपलब्ध गराउन सम्झौता गरी सो सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
बुटवलको द्रुत प्रतिकार्य टोली
नगरले महामारी र महामारीजन्य समस्यालाई रोकथाम तथा नियन्त्रण गर्नका लागि द्रुत प्रतिकार्य टोली बनाएको छ । स्वास्थ्य शाखा प्रमुखको नेतृत्वमा रहेको टीमले कुनै पनि महामारी र महामारीजन्य समस्या देखा परेमा तत्काल रोकथाम र नियन्त्रणका लागि खट्ने गरेको छ ।
केही वर्ष अघि महामारीको रुपमा देखा परेको डेंगु रोगको रोकथामका लागि हरेक वर्ष अभियान नै सञ्चालन गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो । चालु आर्थिक वर्षमा पनि नगरभित्रका ३ सय टोलका प्रतिनिधि तथा स्वास्थ्यकर्मी (पारामेडिसिन, नर्सिङ्ग र ल्याब) सहितको टीमले डेंगू निर्मुल अभियान सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
बालबालिका, महिला र सुत्केरी कार्यक्रम
गर्भवती महिलाहरुको स्वास्थ्य जाँच, पाठेघर र स्तन क्यान्सर परीक्षण शिविरहरु उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । महिला र बालबालिकाको उपचारका लागि आम्दा अस्पताललाई पनि थप सुधार गर्दै स्तरीय सेवा दिनका लागि १ सय बेडबाट ३ सय बेडमा लैजानका लागि डीपीआर तयार हुँदैछ ।
वडा नम्बर ११ र १२ का स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । गर्भवती आमाको स्वास्थ्य सेवालाई ध्यानमा राखि निरन्तर निःशुल्क युएसजी सेवा प्रदान गरिएको छ । गर्भवती महिलाहरुलाई लक्षित गरी निःशुल्क प्रयोगशाला सेवा प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरेको छ ।
क्षयरोग मुक्त पालिका
बुटवललाई क्षयरोगमुक्त पालिका बनाउनका लागि अभियान सुरु गरिएको छ । नेपाल सरकारले सन् २०५० सम्ममा क्षयरोग अन्त्य नेपाल भनेर घोषणा गरेको छ । त्यसैलाई मध्यनजर गरेर क्षयरोग मुक्त पालिका घोषणा गर्न प्रत्येक वार्डका प्रत्येक टोलस्तरसम्म पुगेर ‘क्षयरोग मुक्त पालिका’ भनेर बुटवल उपमहानगरपालिका यो अभियानमा पनि जुटिरहेको छ । जसका लागि विपन्न तथा अतिआवश्यक र कुपोषित क्षयरोगका बिरामीहरुलाई पोषण सामग्री वितरण कार्यक्रम सञ्चालनमा छ ।
‘बा आमासँग नगरप्रमुख’
जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर बाआमासँग नगरप्रमख कार्यक्रमअन्तरगत घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम उप–महानगरपालिकाले सञ्चालनमा ल्याएको छ । यसको कानून बनाएरै वर्षमा तीनपटक घरदैलोमा स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था मिलाइएको छ । बा–आमासँग नगरप्रमुख स्वास्थ्य परीक्षण उपचार कार्यक्रममार्फत बुटवल उपमहानगरपालिकाका करिब २ हजार ६ सय जना जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने, स्वास्थ्य सेवामा समान पहुँचको हक प्राप्त हुने व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ कार्यान्वयन भएसँगै स्वास्थ्यसम्बन्धी मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने, स्वास्थ्य सेवामा समान पहुँचको हक प्राप्त हुने, कसैलाई पनि आकस्मिक सेवाबाट वञ्चित नगरिने जस्ता संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारबाट विभिन्न ऐन, नीतिनियम, निर्देशिका तथा रणनीतिहरू कार्यक्रमको चरणमा छन् । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि तीनै तहका सरकार अघि बढेका छन् । खास गरी नागरिकको नजिकको सरकार भएकाले स्थानीय पालिकाले आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकता दिएका कार्यक्रम बनाएका छन् । जसअन्तर्गत आम नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन बुटवलले यस्ता योजनाहरु अघि सारेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij