२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

अन्तरपालिका समन्वयको अभ्यासमा बुटवल, साझा विकासमा एकै ठाउँ

बिहिवार , आषाढ १२, २०८२

रुपन्देही, १२ असार । नेपालको संविधानले देशलाई तीन तहमा विभाजन गरेको छ । संविधानमै नेपाललाई संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको रुपमा विभाजन गरिएको छ । तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य गर्दै मुलुकलाई समृद्ध र दिगो विकासको बाटोमा अगाडि बढाउन सकिने गरी संविधानमा व्यवस्था गरिएको छ ।  

समृद्ध र दिगो नगर निर्माणका लागि अहिलेका स्थानीय तहहरू एक्लै भर पर्न सक्दैनन् । स्रोत, सीप र पूर्वाधार सीमित भएका तथा एक्लैले काम सम्पन्न गर्न नसक्ने  अवस्थामा छिमेकी पालिकाबीच समन्वय अपरिहार्य बन्दै गएको छ । यही आवश्यकतालाई अनुसरण गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकाले अन्तरपालिका समन्वयलाई प्राथमिकतामा राखेर समन्वय र सहकार्यमा जुटेको छ । 

फोहोरमैला व्यवस्थापनदेखि सार्वजनिक यातायात, सडक विस्तार, वातावरणीय सरोकार, विपद् व्यवस्थापन, स्वास्थ्य तथा शिक्षा सेवामा सहकार्यलाई प्राथमिकतामा राखिएको छ ।

हालै सम्पन्न एक अन्तरपालिका समन्वय बैठकमा बुटवल र छिमेकी पालिकाबीच फोहोर व्यवस्थापनका लागि क्षेत्रीय डम्पिङ साइटको सम्भाव्यता, साझा यातायात सञ्जाल विस्तार, नगर योजना समन्वय, बजार क्षेत्र व्यवस्थापन र औद्योगिक सम्भावनाहरूको पहिचान लगायतका विषयमा सहमति जुटाइएको छ ।

उपमहानगरपालिकाले बुटवलसँग जोडिएका तिलोत्तमा, देवदह, सैनामैना, शुद्धोदन गाउँपालिका र पाल्पाको तिनाउ गाउँपालिकबीच अन्तरपालिका समन्वय बैठक बस्दै विभिन्न विषयमा सहकार्य गर्ने निर्णय गरेको छ। बुटवल उपमहानगरसँग जोडिएका रुपन्देही र पाल्पाका ६ स्थानीय तहले सीमा क्षेत्रको समस्या समाधान तथा सहकार्य गर्न सहमति गरेका हुन् । 

संघीयताका जानकारी काशीराज दाहालले स्थानीय सरकारकाबीचमा देखिएका समस्या समाधानका लागि अन्तर समन्वय बैठकले सकारात्मक विकासमा जोड दिने बताउनुभयो । उहाँले संविधानको मर्मअनुसार स्थानीय सरकारले अन्तर समन्वय बैठकले एक्लै काम गर्न नसकिने हुुँदा पालिकासँगको समन्वयले काम गर्न सकिने बताउनुभयो । बुटवलले सुरु गरेको अन्तरपालिका समन्वय बैठकले अन्य पालिकाले पनि सिको गर्दै राम्रो कामको सिको गर्दा राम्रो हुने दाहालको भनाइ छ । 

पालिकाका सीमा क्षेत्रका नदी वा खोलानालाहरुको संरक्षण, नदीजन्य पदार्थको उत्खनन् तथा उपयोगका सम्बन्धमा सबै पालिकाले साझा मुद्दा बनाएर समाधान गर्ने गरी सहमति गरिएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । 

नगरप्रमुख पाण्डेले भन्नुभयो, ‘हामीले एक्लै सबै क्षेत्र समेट्न सक्दैनौं । साझा पूर्वाधार र सेवा प्रणाली विकासका लागि अब अन्तरपालिका सहकार्य अनिवार्य भएको छ । यसको सुरुवात हामीले गरिसकेका छौं ।’
एक्लै पालिकाले गर्न नसक्ने साझा प्रकृतिका काम गर्न अन्तरपालिका समन्वयले महत्वपूर्ण टेवा पुर्याउने प्रमुख पाण्डेयको भनाइ छ । उहाँले ६ वटा पालिकाहरु मिलेर पालिकाहरुका बीचमा सीमा विवाद, पूर्वाधार विकास तथा प्रशासनिक अन्योलहरु समाधानका लागि संयुक्त संयन्त्र निर्माण गरी निरुपण गर्ने सहमति पनि गरेको बताउनुभयो । 

त्यसै गरी सीमा क्षेत्रका सडक तथा अन्य पूर्वाधार विकासमा आवश्यकताअनुसार संयुक्त लगानी वा साझेदारी गर्नका लागि आवश्यक कार्य गर्ने, स्थानीय तहले निर्माण गर्नुपर्ने कानूनहरु निर्माणका लागि यथाशिघ्र निर्माण गर्नका लागि आपसी समन्वय र सहकार्य गर्ने सहमति पालिकाका बीचमा भएको छ । 

त्यस्तै यी ६ पालिकाले पूर्वाधार विकास, विपद् व्यवस्थापन, दमकल तथा एम्बुलेन्स सञ्चालन, फोहोरमैला बिर्सजनस्थल वा प्रशोधन, तीनपांग्रे सवारी सञ्चालन, पर्यटन प्रवद्र्धन, अन्तरपालिका भगिनी सम्बन्ध कायम राख्ने र असल अभ्यासहरुको आदानप्रदान गर्ने सहमति पनि गरेका छन् । पालिका तहका सरकारी तथा सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार विकास निर्माणका लागि छिटोछरितो तवरबाट जग्गा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्ने निर्णय समेत गरेको छ । 

WhatsApp Image 2025-06-26 at 12.20.23 PM.jpeg

त्यस्तै कृषि उपज तथा अन्य उत्पादनको संकलन, भण्डारण र विक्रीवितरणका लागि आपसी साझेदारी गर्ने र अन्य समस्या वा अन्योलहरुको समाधान गर्न एकमत हुने निर्णय भएको नगरप्रमुख पाण्डेयले बताउनुभयो। ६ वटा पालिकाबीच भएको सहमतिलाई सबै पालिकाहरुले आगामी नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरी आवश्यक नीतिगत निर्णय गर्ने उहाँको भनाइ छ । 

यस्ता कार्यक्रमले स्थानीय तहहरुका बीचमा सहकार्य, समन्वय र साझेदारी गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले बताउनुभयो । उहाँले बुटवलले थालेको यो अगुवाइले देशभरमै सकारात्मक सन्देश प्रवाह हुने र अन्य पालिकाहरुले पनि सिक्दै जाने बताउनुभयो । बुटवलले सुरु गरेको समन्वयकारी भूमिकाले संविधानले परिकल्पना गरेको अन्तर समन्वयको मर्म र भावनालाई पनि समेटेको बताउनुभयो ।  

बुटवल र तिलोत्तमाका बीचमा धेरै विषयहरुमा कयौं पटक छलफल गर्नुपर्ने र निकास निकाल्नका लागि यस्ता कार्यक्रमले झनै प्रभावकारी बनाउने तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले बताउनुभयो । उहाँले बुटवलले थालेको यो अभ्यासले छिमेकी पालिकाहरुसँग सहकार्य र समन्वय गर्नका लागि सहज हुने बताउदै अप्ठ्यारा कामलाई पनि सहजै रुपमा पार लगाउन सकिने बताउनुभयो ।  
शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले नदीजन्य पदार्थदेखि विकासका काममा छिमेकी पालिकाहरुका बीचमा अन्योल हुने गरेको अवस्थामा बुटवलले थालेको पहल प्रभावकारी हुने बताउनुभयो । उहाँले अन्य पालिकाहरुसँग समेत यसै गरी समन्वय र सहकार्यको जरुरी रहेको बताउनुभयो । 

तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले बुटवल र तिनाउका बीचमा पानीको स्रोतदेखि अन्य क्षेत्रहरुको सहकार्य रहिआएको र बुटवलले यसै वर्षदेखि आपसी साझेदारीमा विशेष जोड दिएको बताउनुभयो । उहाँले तिनाउबाट बुटवलमा पानी ल्याउने मुहान क्षेत्रको विकासका लागि २ करोड रुपैयाँ विनियोजन गरेको र बुटवलसँगको सहकार्य अझ मजबुत बनेको बताउनुभयो । 

‘बुटवलले सुरु गरेको समन्वयात्मक कदमले फरक फरक जिल्लाका पालिका र नागरिकका बीचमा पनि भाइचाराको सम्बन्ध थप प्रगाढ बनाएको छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘यसले एउटा पालिकामा उत्पादन भएका वस्तु अर्को पालिकामा सहजै विक्रीवितरण र आदानप्रदान गर्न पनि सजिलो बनाएको छ ।’

बुटवलमा भएको अन्तरपालिका बैठकले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, शुद्धोदन गाउँपालिका र तिनाउ गाउँपालिका (पाल्पा) ले संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा संघ र प्रदेशबाट बन्नुपर्ने कानूनहरु यथाशिघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा माग गर्ने निर्णय गरेका छन् । 

बुटवलले सुरु गरेको अन्तरपालिका समन्वय बैठकले गरेको साझा सहमति-पत्र

१. संविधानमा रहेका अधिकारका साझा सूचीका विषयमा संघ र प्रदेशबाट बन्नुपर्ने कानूनहरु यथाशिघ्र निर्माण गर्न सम्बन्धित निकाय र तहमा जोडदार माग गर्ने ।   

२. पालिका तहका सरकारी तथा सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार विकास निर्माणका लागि छिटोछरितो तवरबाट जग्गा उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गर्ने ।

३. पालिकाका सीमा क्षेत्रका नदी वा खोला नालाहरुको संरक्षण, नदीजन्य पदार्थको उत्खनन् तथा उपयोगका सम्बन्धमा नदीको वहावलाई सम्बन्धित पालिकाका विज्ञ प्रतिनिधि सम्मिलित संयुक्त समितिको प्रतिवेदनका आधारमा प्राविधिक विधिबाट व्यवस्थापन गरी प्राकृतिक स्रोतको उपयोग गर्ने । 

४. सीमा विवाद, पूर्वाधार विकास तथा प्रशासनिक अन्योलहरु समाधानका लागि संयुक्त संयन्त्र निर्माण गरी निरुपण गर्ने ।  

५. सीमा क्षेत्रका सडक तथा अन्य पूर्वाधार विकासमा आवश्यकताअनुसार संयुक्त लगानी वा साझेदारी गर्नका लागि आवश्यक कार्य गर्ने । 

६. स्थानीय तहले निर्माण गर्नुपर्ने कानूनहरु निर्माणका लागि यथाशिघ्र निर्माण गर्नका लागि आपसी समन्वय र सहकार्य गर्ने । 

७. निम्नानुसारका विषय तथा क्षेत्रहरुका सन्दर्भमा आपसी समन्वय गर्दै आवश्यकताअनुसार कानून निर्माण, सहकार्य, साझेदारी, सहयोग तथा सहलगानी गर्ने प्रतिबद्धता जनाउँदछौं । 

क) वृहत पूर्वाधार निर्माण, ठूला मेसिन तथा औजार खरिद र व्यवस्थापन,
ख) विपद् व्यवस्थापन, दमकल तथा एम्बुलेन्स सेवाको सञ्चालन,
ग) फोहोरमैला बिसर्जनस्थल वा प्रसोधन प्रणालीको विकास र सञ्चालन,
घ) यातायात (तीनपांग्रे) को सञ्चालन तथा व्यवस्थापन,
ङ) बस्ती विकास तथा भू उपयोग योजना,
च) पर्यटन, प्रविधि तथा संस्कृतिको प्रवद्र्धन र विकास,
छ) स्थानीय बजार व्यवस्थापन र वातावरण संरक्षण,
ज) अन्तर स्थानीय तह भगिनी सम्बन्ध कायम,
झ) असल अभ्यास र अनुभवको आदानप्रदान,
ञ) कृषि उपज तथा अन्य उत्पादनको संकलन, भण्डारण र विक्रीवितरणका लागि आपसी साझेदारी । 

८. उल्लेखित सहमति तथा साझा धारणाहरुलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदछौं । 

९.स्थानीय तहहरुका बीचमा आपसी समन्वय, सहकार्य र साझेदारी कायम राख्ने गरी हरेक वर्ष सबै पालिकाहरुको सहभागीता र सहकार्यमा बुटवल उपमहानगरपालिकाले  अन्तरपालिका समन्वय बैठक तथा अन्तरक्रियात्मक गोष्ठीको आयोजना गर्ने । 

१०. छिमेकी पालिकासँग बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत लगानी र सहभागी पालिकाको ५० प्रतिशत (५–५ लाख) रकम हुने गरी साझेदारीमा मानव संशाधनको विकासका कार्यक्रम सञ्चालन गर्ने ।