२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

पत्रकार शर्मालाई उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार

शुक्रवार , चैत्र २०, २०७७

तिलोत्तमा, २० चैत ।
उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार टोपराज शर्मा पुरस्कृत भएका छन् । अनलाइनखवरका बुटवलस्थित वरिष्ठ संवाददाता शर्मालाई शुक्रबार आयोजित एक समारोहकाबीच पुरस्कृत गरिएको हो ।

६४ औ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर लुम्बिनी प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल र जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले संयुक्त रुपमा पत्रकार शर्मालाई पुरस्कृत गरेका हुन् । पुरस्कारको राशी नगद रु १० हजार रहेको छ । रुपन्देहीमा रहेर १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका शर्मा तिलोत्तमा मिडिया क्लबका सचिव समेत हुन् ।

त्यस अवसरमा बोल्दै मन्त्री पौडेलले सहकारीहरु आफ्नो प्रकृति, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिंदै केही सहकारी संस्थाहरुको बदमासीले गर्दा सिंगो सहकारी क्षेत्रमाथि नै प्रश्न उठ्ने गरेको बताइन् । उनले नवीनतम, उद्यमशील र रोजगारमूलक काम गर्ने सहकारीहरुलाई मन्त्रालयले अनुदानको समेत व्यवस्था गरेको जानकारी दिइन् । 

राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खाणले गरिबी न्युनीकरण र रोजगारी सिर्जनामा सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकारी क्षेत्रले पुँजी परिचालनमा पनि ठूलो योगदान गरेको बताए ।

बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालले सहकारीका सञ्चालकहरु नीति, विधि र प्रविधिमा अझै पनि कमजोर रहेको र सहकारी शिक्षामा पनि पछाडि रहेको उल्लेख गर्दै पुँजीको विकास भएपनि उत्पादनशील क्षेत्रमा लगानी हुन नसकेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधव देवकोटा, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, देवदह नगरपालिकाका प्रमुख हिरा केसी, नेफ्स्कुनका सञ्चालक सन्दिप सापकोटा, लुमिबनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्मालगायतले गरिवी निवारणमा संविधानले नै तीनखम्बे अर्थनीतिको व्यवस्था गरेकोले सोही अनुसार अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा कोरोना संकटको बेला किसानको तरकारी विक्री लगायत कोरोना प्रभावितलाई स्वास्थ्य सामग्री सहयोग गरेका सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । त्यस्तै जिल्ला सहकारी संघले आयोजना गरेका हाजिरीजवाफ र निवन्ध प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा संघका अध्यक्ष भीम तुलाचन, सचिव टिका न्यौपाने, जिल्ला बचत तथा क्रृण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराई, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका हरि काफ्ले, जिल्ला दुग्ध उत्पादक सहकारी संघका लेखनाथ पाण्डे लगायतले पनि बोलेका थिए ।