२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

विवाद निस्किए पनि टिम एक भएर खेल्यौं : सावित्रा भण्डारी

सोमवार , आषाढ २३, २०८२

काठमाडौं, २३ असार । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एशियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक उर्जा लिएर फर्किएको बताइन् । 

छनोटको समूह ‘एफ’ को निर्णाायक तथा अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाली टोली सन् १९९९ पछि एशियन कप खेल्ने अवसरबाट वञ्चित भएको थियो । यसपल्ट नेपाली टोलीलाई एसियन कप खेल्नसक्ने दाबेदारका रूपमा हेरिए पनि पेनाल्टी सुटआउट पराजित हुँदा सफलता पाउन भने सकेन ।

यद्यपि यसै छनोटको पूर्वसन्ध्यामा कप्तान नियुक्त भएकी सावित्राले असफलता मिले पनि धेरे सकरात्मक उर्जा लिएर फर्किएको बताएकी छन् । सुरुमा उज्वेकिस्तानको वातावरणमा भिज्न गाह्रो भएको उनको भनाइ छ । हरेक एक खेलमा ध्यान दिएर र प्रशिक्षकको रणनीति अनुरूप खेलेको कप्तान सावित्रा बताउँछिन् ।

उनले टोलीमा तीन जना डिफेन्डर खेलाएर पनि आक्रामक फुटबल खेल्न सफल भएको भन्दै टोलीको बचाउ गरेकी थिइन् । कप्तान सावित्राले शुरुमा तीन गोल खाएर पनि खेलमा फर्कन सफल हुनु सहज नभएको उल्लेख गरेकी छन् । समग्रमा आफूभन्दा माथिल्लो स्तरको टोलीसँग राम्रो खेलेको र आफ्नो सकारात्मक उर्जा लिएर फर्किएको उनको विश्वास छ ।

आफूहरूको प्रदर्शनबाट त्यहाँ उपस्थित सबै समर्थकले पनि प्रशंसा गरेको उनी बताउँछन् । उनले यो प्रतियोगिता आफूहरूका लागि ठूलो अवसर रहे पनि त्यसलाई सही तरिकाले सदुपयोग गर्न नसकेको बताइन् । छनोटको अन्तिम खेलमा ५०÷५० को अवसर रहे पनि त्यसमा सफल हुन नसकेको उनको बुझाइ छ । यसले गर्दा भविष्यमा पिरोल्ने उनी बताउँछन् ।

खेलको सुरुआतमै गोल बेहोरेपछि समालिन गाह्रो भएको उनको बुझाइ छ । त्यसमा पनि अर्को गोल बेहोरेपछि थप कठिन स्थिति बने पनि कोचिङ स्टाफको उत्साहले खेलमा फर्किएको कप्तान सावित्रा बताउँछिन् । दोस्रो हाफ प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेलमा फर्कन सक्छौं भनेर उत्साह दिएर टोलीलाई प्रोत्साहित गरिरहेको उनको भनाइ छ । 

छनोटको उक्त खेलमा नेपाल पहिलो हाफमा नै ३–१ गोलले पछि परेको थियो । तर, पहिलो हाफको थप समयमा उज्बेकिस्तानको एक खेलाडीले रातो कार्ड पाउँदा नेपालीका लागि केही सहज पनि भयो । दुई गोल फर्काउँदै नेपालले ३–३ को बराबरीमा ल्यायो । निर्धारित समयमा खेल बराबरी भएपछि प्रतियोगिताको नियमअनुरूप सीधै पेनाल्टीतर्फ धकेलिएको थियो ।

तर पेनाल्टी प्रहारमा कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर सफल नभएपछि नेपाली टोलीले ४–२ को हार सामना ग¥यो । यससँगै नेपालले आगामी वर्ष अस्ट्रेलियामा हुने एशियन कपमा छनोट हुने तेस्रो दक्षिण एसियाली राष्ट्र बन्ने अवसर पनि गुमायो । दक्षिण एसियाबाट बंगलादेश र भारत छनोट हुन सफल भए । 

यसै छनोटको अगाडि प्रशिक्षक प्याट्रिक डे वाइल्डले नियमित कप्तान र गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई दुवै जिम्मेवारीबाट बाहिर राखे । प्याट्रिकले कप्तानमा सावित्रालाई र गोलकिपरमा अञ्जनालाई जिम्मेवारी दिए । एन्फाले नै कप्तानमा शुरुमा रेनुका नगरकोटीको नाम सार्वजनिक गरेको थियो । तर पछि सावित्रालाई कप्तानी दिइएको भन्दै एन्फाले नै नाम परिवर्तन ग¥यो ।

कप्तान कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा त्यो घटना सार्वजनिक भएको थियो । सावित्राले कप्तान चयन गर्ने विषयमा केही चुनौतीपूर्ण रहेको र विवाद भएको स्वीकार गरिन् । त्यसले गर्दा केही दिन आफू सुत्न पनि नसकेको उनको भनाइ छ । यसले आफूलाई छुट्टै किसिमको दबाब भएपनि टोलीका सहकर्मीले सहयोग गरेको उनी बताउँछिन् ।

उनले कप्तान बनाउने विषय टोलीभित्रको आन्तरिक कुरा रहेको पनि बताइन् । तर पनि विवाद निस्किएको र यो हुनु सही नभएको उनको बताउँछिन् । यस्तो स्थितिमा पनि टिम एक भएर खेलेको उनको विश्वास छ । आगामी दिनमा यस्तो विवाद नआओस् भन्ने उनको आग्रह छ । सावित्राले प्लेइङ एलाभेन होस् या बाहिरका खेलाडी सबै कप्तान कप्तान जस्तै भएर खेल्ने पनि बताएकी छन् । सबैजना कप्तान र लिडर बन्ने क्षमता रहेको पनि उनको बुझाइ छ ।

साथै उनले कप्तानको जिम्मेवारी पाउँदा खुशीसँगै केही दबाब पनि महशुस गरेको बताइन् । यस छनोटमा नेपालले विपक्षीको पोस्टमा कुल २० गोल गरेको थियो । त्यसमध्ये सावित्रा एक्लैले ९ गोल गरेकी थिइन् । तर, पेनाल्टी सुटआउटमा भने असफल हुँदा ४१ वर्षे महिला फुटबलको इतिहास बोकेको नेपाली टोली सुन्दर सपना बुन्नबाट भने वञ्चित रह्यो ।