२०८२, आषाढ २५ गते

Jul 09 2025 | २०८२, आषाढ २५ गते

प्रहरी कर्मचारीलाई नेताहरूका घरमा कामदारका रूपमा प्रयोग गरिनु आपत्ति : सांसद साह

सोमवार , आषाढ २३, २०८२

काठमाडौं, २३ असार । आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरूलाई नेताहरू तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरूको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले तपाईको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गर्नुभयो ।

प्रहरीको डिआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानविन गर्न माग गर्नुभयो । उहाँले सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरुको घरको सिसिटिभी समेत जाँच गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सुरक्षा निकायका तल्लो तहका कर्मचारीलाई घरेलु कामदारमा लगाइएको छ । बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्छु, सेवा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका ती सिपाहीहरुलाई नेताहरुको घरमा चाकडी गर्न लगाउँदा, सिपाहीहरुलाई प्रहरी निकायकै उच्च ओहोदाका कर्मचारीको घरमा निजी कामदार बनाउँदा कत्तिको उचित छ ?

म गृहमन्त्रीज्यूलाई सोध्न चाहान्छु, तपाईको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? तपाईहरुको सरकार कानूनअनुसार चल्छ कि चल्दैन ? यदि कानूनअनुसार चल्छ भने यस्तो किन भइरहेको छ ? डिआईजीभन्दा माथिको घरमा सवारी चालक पनि प्रहरी जवान हुने र घुरेलु कामदार पनि प्रहरी जवान हुने ? यहाँ कतिपय सांसदहरुका गाडी पनि प्रहरीेले चलाइरहेका छन् । यो कानूनसम्मत हो कि होइन ? अहिले मौजुदा कानून मिल्छ ?’

उहाँले प्रहरी कर्मचारीहरुको दुरुपयोगको सम्बन्धमा छानविन गर्न समिति गठनको समेत माग गर्नुभयो ।