२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कलामै रमाउने, कलाबाटै कमाउने

बुधवार , आषाढ २५, २०८२

सानैदेखि उनलाई नाँच्ने ठूलो रहर थियो । आफ्नो रहर पूरा गर्ने थलो भने ठूली भएपछि सिन्धुली कलाघरलाई भेटिन् । सिन्धुली कलाघरले नाँच्ने ठाउँमात्र दिएन । बरु, उनलाई दाइजोविरुद्धको नाटकमा विद्रोही पात्र बनायो । सरसफाइले नै जीवन स्वस्थ राख्न सकिन्छ भनेर नाटकमार्फत् शिक्षा दिदै लैंगिक हिंसाविरुद्धको नाटकमा खरो पात्रका रुपमा आफूलाई परिचित गराइन् ।

दुव्र्यसनी र छुवाछुत सामाजिक अपराध हो भन्ने कुरा उनले नाटकमार्फत् देश, दुनियाँलाई बुझाएकी छिन् । बालविवाह गर्नुहुँदैन भनेर सडकमा असल पात्र बनेर उभिएकी छिन् । कहिले कचहरी, कहिले सडक नाटकमा अनेक पात्रमात्र बनिन् उनी । बनिन्, अझै सशक्त झ्याम्टा बजाउने बाद्यबाधक कलाकार । उनलाई नौमति बाजामध्ये नरसिंहा र सहनाई बाहेक अरु बाजा बजाउन आउँछ । यतिबेला ती दुई बाजा बजाउन सिक्दैछिन् ।

झ्यालबाट लुकेर कल्ले हेरेको, कल्ले हेरेको  ? 
झ्याप्पै मैले चिनिनँ रुमाल फेरेको, रुमाल फेरेको ।

pppppppppppppppp.jpg

सुमधुर स्वरकी धनी उनले कलाघरका मूली ‘नेपाली बाबु सुमन’ को शब्द रचना र स्वर रहेको माथि उल्लेखित आधुनिक गीतमा महिला स्वर भरिन् । गीतलाई कर्णप्रिय र लोकप्रिय बनाउन साथ दिइन् । उनमा रहेको अगणितीय प्रतिभालाई तारिफ गर्दा कतै तातेताते गर्न थालेकी उनको नाक टिप्न बिर्सिएको घिरौंला जत्रो त हुँदैन ! कतै धेरै प्रशंसाले उनको कलामा निख्खरताभन्दा घमण्ड पलाउने त हैन, पिरलो लाग्छ !

उनको घर, सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ७ को धोद्रेमा पर्छ । कक्षा १२ मा अर्थशास्त्र विषय लिएर उत्तीर्ण गरेपछि २०७८ सालमा सिन्धुली कलाघरको पाहुना कलाकार बनिन् । हुन त उनलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) गरेपछि ललितकला विषय पढ्ने इच्छा नभएको पनि होइन । तर, घरको आर्थिक अवस्थाले साथ दिएन । चार सन्तान र बाबाआमाको परिवार छ । उनका बाबा, गाउँका सामान्य किसान हुन् । जीवन निर्वाहका लागि सिकर्मी र डकर्मीको समेत काम गर्छन् । आमा शुद्ध गृहणी हुन् । थोरै जमिन, खनीखोस्रीले परिवार पाल्न हम्मेहम्मे छ । भाइ रुपेश, १२ कक्षा पास गरेर परदेश पुगेको पनि धेरै भएको छैन । दिदी, रुक्सनाले बुटवलतिरै कम्प्युटर डिजाइनिङ्ग गरेर आफूलाई पाल्दै घरखर्चमा परिवारलाई साथ दिएकी छिन् । सानो भाइ अनिषले १२ कक्षाको नतीजा पर्खदै छन् ।

कलाघरमा आएपछि उनलाई संसारकै आनन्द मिल्दो रहेछ । कलाघरका साथीहरु, संसारभरका दर्शक, स्रोताका स्नेह, माया र ममतालाई मनको कुटुरोमा बाँधेर राख्न पाउँदा औधी खुसी रहेछिन् । भन्छिन्–कलाघर मेरो स्र्वस्व हो । घरपछिको घर नै कलाघर हो । कलाघरलाई विश्वकै कलाघर बनाउन मैले पनि सक्दो हातेमालो गरेकी छु । सुमन सरको नेतृत्वमा हामीहरुले सुन्दर सपनालाई साकार बनाउँदैछौं ।

दिदीको बिहे नभएपछि उनको बिहेको प्रसंग चल्ने कुरै भएन । पहिला आफ्नो कलाकारिताको क्यारियर बनाएपछि बिहेका बारेमा सोच्ने कुरा गरिन् । चिटिक्क परेको जिउडाल, सुन्दर अनुहार र नृत्यमा पारङ्गत भएकै कारणले होला थुपै्रपटक म्युजिक भिडियोमा अभिनय गर्न उनलाई निम्तो नआएको पनि होइन । तर, कलाघरमा व्यस्त रहनु परेको र आफ्नै समयको अभावका कारण म्यूजिक भिडियो खेल्ने अफरलाई क्षणिक समयका लागि यतिबेला बीट मारेकी छिन् । समय आउँदा पक्कै पनि हामीले उनको अभिनयलाई म्युजिक भिडियोमा देख्नैछौं ।

hghghghgh.jpg

कहिलेकाँही फुर्सदका बेलामा घर पुग्छिन् । बाबाआमा र भाइको ख्याल राख्छिन् । कलाघरमा आफ्ना प्रतिभाहरुलाई तिखार्न कम्मर कसेर लागेकी हुन्छिन् । कहिले डम्फू बजाउने तालिम लिन्छिन् । घरि मादल बजाउन कम्मर कसेर सहभागी हुन्छिन् । कहिले नृत्यलाई राम्रो बनाउन आफूलाई परिमार्जित गर्छिन् । स्वरलाई कर्णप्रिय बनाउन दैनिक रियाज गर्छिन् । उनीजस्तै कलाकारहरुलाई जन्माउने थलो हो, सिन्धुली कलाघर । भविष्यमा कला विद्यालय सञ्चालन गर्ने, कला आश्रम बनाउने सुन्दर योजनाका प्रवर्तक बन्दैछन् सुमन । उनकै शिष्य र सहयोगी बनेर उभिएकी असल पात्र हुन् रुबिना पुलामी मगर ।

रुबिनालाई आफ्नो औपचारिक शिक्षालाई अघि बढाउने ठूलो धोको छ । त्यसका लागि उचित समयको पर्खाइमा छिन् । अनौपचारिक विश्वविद्यालयको रुपमा परिचित सिन्धुली कलाघरकी असल छात्रा बनेर उनी आफैले गरीखाने सीपलाई व्यवहारमा उतार्दैछिन् । थुप्रै संघ–संस्थाले उनलाई पुरस्कृत र सम्मान गरेका छन् । देशका कुनाकाप्चादेखि सहरबजारसम्म बाजा बजाउन पुगेकी छिन् । कलाकार बनेर भारतका विभिन्न सहरसम्म पुग्न भ्याएकी छिन् । नाँचेकी छिन् । नाटकमार्फत् अभिनय देखाएकी छिन् । गीत गाएकी छिन् ।

रुबिनाले सानै उमेरमा घरपरिवार बुझेकी छिन् । ईष्टमित्र राख्ने कला सिकेकी छिन् । अनुशासित छिन् । कलाको अनुयायी बनेर सबैका माझ आफूलाई सबल र अब्बल कलाकार बनाउने धूनमा छिन् । भविष्यमा कलालाई नै अंगालेर अघि बढ्ने सपना साँचेकी छिन् । कलामा नै रमाउने र कलाबाटै कमाउने योजना बुनेकी छिन् ।