२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गुरू पूर्णिमाको महत्व

बिहिवार , आषाढ २६, २०८२

“गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर :, गुरु साक्षात् परमं ब्रहमा तस्मै श्री गुरुवे नमः” हरेक वर्ष असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा सनातन संस्कृतिको एक महत्वपूर्ण दिनको रुपमा लिइन्छ, अज्ञानताबाट ज्ञानको सागरमा डुबुल्की मार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रेरणा दिने सम्पूर्ण मान्यजनहरुलाई श्रद्धा भाव प्रकट गरी गुरुको रुपमा पूजा गर्ने र सम्मान दिने दिनको रुपमा लिइन्छ । आदि अनादि कालदेखि गुरु–शिष्य परम्पराको पवित्रता आज पनि उत्तिकै महत्व रहेको पाइन्छ । प्राचीन संस्कृत श्लोक ॐ असतो मा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय जस्तो असत्यबाट सत्यतर्फ, अन्धकारबाट उज्यालोतर्फ र मृत्युबाट अमरत्वतर्फ लैजाने र त्यस भावका श्वलोकहरु जसले जीवनमा महत्वपूर्ण अर्थ राख्दछन् ।

यी सबै गुरुको प्रेरणा र वाणिबाट प्राप्ती भएको मानिन्छ । यो दिन विशेष गरी हामीले हामीलाई शिक्षा र दिक्षा दिने गुरुहरुको सम्झना, उहाँहरुको प्रेरक वाणीहरुलाई अनुसरण गर्दौ सम्भव भए सामीप्यमा रहेर नभए उहाँप्रति श्रद्धाभाव प्रकट गरेर मनाउने गरिन्छ । गुरु शब्दको शाब्दिक अर्थ खोज्ने हो भने ‘गु’ शब्द ले अन्धकारलाई जनाउने र ‘रु’ शब्दले नास गर्ने वा हटाउने भन्ने अर्थ आउने हुँदा ‘गुरु’ भनेको मानिस भित्रको अज्ञान वा अन्धकारलाई हटाइ उज्यालोतर्फ हिंड्न प्रेरणा प्रदान गर्ने वा मार्गनिर्देश गर्ने स्रोत हो, गुरु भनेको शिक्षक मात्र नभएर जीवनको पथ पर्दशक पनि हो ।

हुन त अहिलेको आधुनिक समयमा हामीले विभिन्न प्रविधिहरुको प्रयोग गरिसकेको हुनाले गुरुको महत्व घटेको जस्तो लाग्न सक्छ, हाम्रा विद्यालय विश्वविद्यालयहरुमा गएर शिक्षा लिने परम्परा जसले गर्दा परम्परागत रुपमा लिने शिक्षा र हामीले सिक्नु्पर्ने संस्कृति त्यति राम्रोसँग अध्ययन गरेको र व्यवहारमा उतेरेको अनुभूति गर्न सकिएको छैन । तैपनि विद्यालयहरुमा सामान्य कार्यक्रम गरेर भए पनि यो दिनलाई सम्झनयोग्य भने भइरहेको छ । गुरु पुर्णिमा भनेको अष्टचिरञ्जीवीमध्येका एक चिरञ्जीवी ऋषि पराशर र सत्यवतीका सुपुत्र, महाभारत र १८ पुराणका रचयिता मात्र नभइ एक जीवन्त पात्र, गुरुहरुका पनि गुरु, महर्षि बेदव्यासको जन्मजयन्तीका साथ साथै उहाँले बेदलाई वर्गीकरण गरी हिन्दू धर्मको ज्ञानलाई समेत बाँडेको दिन भएका कारण पनि यो गुरु पूर्णिमा अति महत्वपूर्ण र पवित्र दिनको रुपमा समेत लिने गरिन्छ ।

पूर्णिमा तिथि आफैमा धार्मिक, आध्यात्मिक र वैज्ञानिक रुपले पनि महत्वपूर्ण तिथिको रुपमा मानिन्छ । यो तिथिमा चन्द्रमा सर्वाधिक तेजिलो र चम्किलो हुने गर्दछ भने यसको सकारात्मक प्रभाव सबैमा परेको हुन्छ । यी सबै कुराहरु गर्दै गर्दा के गुरुको सम्मान यो एक दिन ले पुग्छ त ? गुरुका वाणीहरुलाई अनुसरण गर्न हामीले गुरु पूर्णिमा नै कुर्नु पर्ने हो त ? अहिलेको शिक्षामा यी परम्परा र संस्कृतिहरु अपनाइएको छ त ? समाजले जुन संस्कारको कल्पना गरेको छ त्यो भएको छ त ? हिजो झुप्रामा अध्ययन गरेर संस्कार बचाइराख्ने परम्परा अहिले ठूलाठूला सुविधा सम्पन्न भवन तरिकाले बसेर सम्भव देखिएको छ त ? के त्यो संस्कार हामीले दिएका वा पाएका छौ त ? धेरै प्रश्नहरु उब्जने अवस्था सृजना भएको छैन र ?

सहज रुपमा भन्नुपर्दा हामीले हरेक असार शुक्ल पूर्णिमाको दिन मनाउने गुरु पूर्णिमा एक दिनमा मात्र सीमित गर्ने कि हरेक दिन गुरुहरुको वाणीलाई अनुसरण गर्ने भन्ने प्रश्न उब्जन सक्दछ । हरेक दिन गुरुहरुले दिनुभएको सु–कर्मको क्षेत्रमा लाग्ने प्रेरणलाई ससम्मान अभ्यस्त भएर लाग्नुपर्ने हुन्छ अनि पो गुरु प्रतिको त्यो सम्मान प्रकट भएको भाव देखिन्छ । तर, अहिले त शिक्षालाई शिक्षाको रुपमा नलिइ व्यापार जस्तो बनाएको, शिक्षक गुरु नभएर व्यापारी जस्तो भएको देखिने कारण अहिले हामीले जुन समाजको परिकल्पना गरिरहेका छौं । त्यो अनुसार संस्कार संस्कृतियुुक्त र समुन्नत समाज निर्माण हुन सकिरहेको छैन, हामी गुरु शिष्य परम्परालाई पुरातनवादी सोच र संस्कृतिको रुपमा व्याख्या गरी स्वतन्त्रताका नाममा छाडातन्त्रलाई प्रश्रय दिदा समाज कुरीति, कुसंस्कार र विकृतिको दलदलमा फसेको जस्तो अनुभुति हुन्छ । एउटा असल शिक्षक मात्र हो जसले समाजलाई पूर्णतया समुन्नत र संस्कारयुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । 

गुरु पूर्णिमा महिर्षी बेदव्यासको जन्मदिनको साथ साथै भगवान गौतमबुद्धले पनि आफ्नो पहिलो उपदेश यही दिन सारनाथमा दिनुभएको दिन भएर पनि यो हिन्दू धर्म र बौद्ध धर्ममा महत्वपूर्ण दिनको रुपमा मानिन्छ ।

प्राय यो दिन गुरु पुजन गरी मनाइने गरिन्छ । गुरु पुजनका अनेकन महत्व रहेको छ । गुरु पुजन गर्दा व्यक्तिको मनमा सकारात्मक उर्जा र विनम्रता पैदा हुनुका साथै गुरुजनहरुको आर्शीवाद पाइने हुन्छ । विद्यार्थी र शिक्षकबीचको सम्बन्धहरु अझ सुमधुर र प्रगाढ हुन पुग्छ । आध्यात्मिक रुपले पनि यस दिन गुरु पुजा गर्ने ध्यान, गुरु मन्त्र जप गर्ने संयमित भोजनग्रहण गर्ने गर्दा मनमा शान्ति भाव पैदा हुने र सधै सकारात्मक विचार उत्पन्न हुने विश्वास प्राप्ती हुन्छ । गुरु पूर्णिमा केवल एक पर्व मात्र नभइ संस्कार, संस्कृति र कृतज्ञता प्रकट गर्ने अनुपम अवसर हो । जीवनमा सफल बन्ने मार्ग देखाउने, अन्धकारबाट ज्ञानको ज्योतितर्फ डोर्याउने गुरुहरुको योगदानलाई सम्झनु हाम्रो कर्तब्य र दायित्व दुवै हो । यस दिन हामी सबैले गुरुहरुको सन्देशलाई आत्मसात गरी हाम्रो जीवनलाई सार्थक र सफलताको पुल निर्माणतर्फ अग्रसर हुनुपर्छ । त्यसैले आजको यो पवित्र दिनमा हामी गुरुको मार्गमा चल्ने, ज्ञानको बाटो अंगाल्ने र आफूलाई उज्यालो बनाउँदै समाजलाई उज्यालो बनाउने अभियानका साथ गुरु पूर्णिमालाई सफल बनाउन लाग्नुपर्ने हुन्छ ।