२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आज गुरु पूर्णिमा

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं, २६ असार । आज शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा । आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइन्छ ।

वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिन्छ । साथै आज व्यास जयन्ती पनि मनाइँदै छ ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

नेपाल वेद विद्याश्रमका प्राध्यापक केशवप्रसाद अधिकारीले आज व्यास जयन्ती रहेको र यसलाई गुरु पूर्णिमाका रुपमा लिने गरिएको बताउनु भयो । ज्ञान दुई परम्पराअनुसार चल्दै आउने एउटा विन्दु परम्परा र अर्को वेद परम्परा रहेको बताउनु भयो । बिन्दु परम्परा भनेको छोरा नाती हुँदै जाने र वैदिक परम्परा भनेको एउटा गुरुबाट शिष्य हुँदै अघि बढ्ने परम्परा रहेको बताउनु भयो । ज्ञान नेपालमा कमजोर बनेको बताउँदै पैसाका लागि पढ्ने कुराले समाज बिग्रिरहेको बताउनु भयो ।

शास्त्रहरुमा गुरुलाई मार्ग दर्शकको रुपमा लिइएको र गरुकै कृपाले व्यक्ति सफल हुने भएकाले गुरुलाई पूजा गर्ने गरिएको बताउनु हुन्छ नेपाल वेद विद्याश्रमका बटुक अनिष त्रिपाठी । जीवनको अन्धकार हटाएर प्रकाशमय ज्वाला छर्ने व्यक्ति नै गुरु भएको बताउनु भयो ।