
बिहिवार , आषाढ २६, २०८२
बुटवल, २६ असार । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आकस्मिक कक्षको सेवालाई थप सहज बनाइने भएको छ । मेडिसिन बेडको संख्या थप गरेर आकस्मिक सेवातर्फको चाप कम हुने गरी सेवा विस्तारको काम भइरहेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट (मेसु) डा. इन्द्र ढकालले जानकारी दिनुभयो । हाल ४५ बेडमा सञ्चालित मेडिसिन वार्डलाई दोब्बर वृद्धि गरी ९० बेडको बनाउन लागिएको हो ।
आकस्मिक सेवाका लागि आउने सेवाग्राहीको संख्या अत्याधिक भएको र उक्त चापलाई मध्यनजर गर्दै सेवा विस्तारका लागि संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । आगामी असोजभित्र सञ्चालनका ल्याउने ल्याउने ट्रस्ट निर्माण, पाटेसन, शौचालय, रंगरोगन लगायत संरचनागत सुधारका कामहरु तीव्र रुपमा भइरहेको मेसु ढकालले जानकारी दिनुभयो । अस्पतालको आकस्मिक कक्ष रहेको भवनमा ट्रस्ट निर्माण गरी अहिले इन्टेरियरको काम भइरहेको छ । अस्पताल हाल ६० वटा आकस्मिक बेड तथा ४५ वटा मेडिसिन बेड रहेका छन् ।
आकस्मिक विभाग प्रमुख डा. सुनिल कुमार सुनारका अनुसार दैनिक १५० देखि २ सय जना बढी आकस्मिक स्वास्थ्य सेवाका लागि बिरामीहरु अस्पतालमा आउने गर्छन् । त्यसमध्ये ७० प्रतिशत बढी बिरामीलाई मेडिसिन वार्डमा राखेर उपचार गर्नुपर्ने खालका हुने गरेको उहाँले बताउनुभयो । मेडिसिन वार्डमा बेडको संख्या थोरै भएका कारण आकस्मिक कक्षमै एउटा बेडमा २÷३ जनासम्म राखेर उपचार सेवा दिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
‘आकस्मिक कक्षमा तत्काल उपलब्ध गराउनुपर्ने स्वास्थ्य उपचारपछि मेडिसिन वार्डमा पठाउनुपर्ने भए पनि बेड अभावका कारण आकस्मिक कक्षमै हप्ता दिनसम्म पनि राख्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ,’डा. सुनिलले भन्नुभयो–‘अब मेडिसिन वार्डमा बेड संख्या थप भएपछि विगतको समस्या ५० प्रतिशत बढीले घट्ने अपेक्षा गरेका छौं ।’ मेडिसिन वार्डमा बेड संख्या थप भएसँगै अब बिरामीले भूँईमा बसेर सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।
अस्पतालमा आकस्मिक सेवातर्फ पनि विभिन्न ३ वटा रंगहरुमा विभाजन गरिएको छ । जस अन्तरगत तत्कालै उपचार दिनुपर्ने बिरामीलाई रातो अर्थात ‘रेड जोन’ मा राखिन्छ भने मध्यम खालका बिरामीलाई हरियो अर्थात ‘ग्रीन जोन’ तथा सामान्य उपचारपछि घर पठाउन मिल्ने बिरामीलाई पहेलो अर्थात ‘एल्लो जोन’ मा राख्ने गरिएको डा. सुनिलले बताए । यसबाहेक थप केही दिन उपचार सेवा उपलब्ध गराउनुपर्ने बिरामीलाई मेडिसिन वार्डमा पठाउने गरिन्छ । यद्यपी मेडिसिन वार्डमा बेड संख्या निकै कम भएका कारण आकस्मिक कक्षमै एउटा बेडमा ३ जनासम्म राखेर उपचार दिनुपर्ने बाध्यता छ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवाका लागि आउने सेग्राहीको गुनासोलाई मध्यनजर गरी सेवा विस्तारको काम अघि बढाइएको बताउनुभयो । प्रयाप्त पूर्वाधार, जनशक्ति, उपकरण तथा प्रविधिको अभावका कारण स्वास्थ्य सेवाका कतिपय आधारभूत कुराहरु अझै नपुगेको बताउँदै उहाँले यसलाई पूर्णता दिनका लागि विकास समिति प्रयासरत रहेको दावी गर्नुभयो । ‘हामीलाई उपलब्ध सीमित साधनस्रोतका बाबजुद पनि धेरै भन्दा धेरै र गुणस्तरीय स्वास्थ्य सेवाका लागि हाम्रो प्रयास हो । सोही प्रयासअनुसार अस्पतालको आकस्मिक स्वास्थ्य सेवा थप सहज हुने गरी बेड संख्या थप गर्न लागिएको छ,’अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पनि मेडिसिन बेड संख्याको पाँच प्रतिशत आकस्मिक कक्षमा बेड हुनै पर्ने भन्ने छ, तर हामीकहाँ ठिक उल्टो छ । अब यसलाई सुधार गर्ने प्रयासमा हामी छौं ।’
अस्पतालमा हाल रहेको ६० वटा आकस्मिक बेड सेवाको हिसाबले पनि १२ सय मेडिसिन बेड संख्या हुनुपर्ने उहाँ बताउनुहुन्छ । यसका साथै अस्पतालका अन्य सेवाहरुको सुधार तथा विकास लागि समितिले योजनाबद्ध काम गर्दै जाने श्रेष्ठले बताउनुभयो ।
अस्पतालले गत वर्ष सार्वजनिक गरेको तथ्यांक अनुसार १ वर्षको अवधिमा ७२ हजार २ सय ४४ जना सेवाग्राहीले आकस्मिक कक्षमा सेवा लिएका छन् । यस तथ्यांकलाई आधार मान्दा दैनिक करिब २ सय बिरामी आकस्मिक कक्षमा स्वास्थ्य उपचारका लागि आउने गर्छन् ।
अस्पतालका मेसु डा. ढकालले लुम्बिनी प्रदेशमा मातृ–शिशु मृत्युदर उच्च रहेको भन्दै यसलाई कम गर्ने गरी पनि अस्पताले अघि बढ्ने बताउनुभयो । अस्पतालमा प्रसुती सेवालाई थप विस्तार गर्दै लैजाने आगामी योजना बताउँदै उहाँले असुरक्षित प्रजनलाई कम गरी मातृ–शिशु मृत्यु दर कम गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij