२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

‘मानवअधिकार तथा सामाजिक न्याय विषयक प्रशिक्षणमूलक अन्तरक्रिया

सोमवार , आषाढ ३०, २०८२

रुपन्देही, ३० असार । मानवअधिकार एलाइन्स नेपालको २६ औं स्थापना दिवसको अवसरमा ‘मानवअधिकार तथा सामाजिक न्याय विषयक प्रशिक्षणमूलक अन्तरक्रिया कार्यक्रम’ पश्चिम नवलपरासीको परासीमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मानवअधिकार एलाइन्सका केन्द्रीय सदस्य एवं नवलपरासी र पाल्पाका इञ्चार्ज अनन्तराज सिलवालले नेपालमा मानवअधिकारको स्थितिलाई कमजोर हुन नदिन एलाइन्सले हरदम प्रयास गर्दै आइरहेको बताउनुभयो । उहाँले सामाजिक न्याय र मानवअधिकारको क्षेत्रमा अभियान जारी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–‘जतिबेलासम्म नेपालीहरुले पूर्णरुपमा मानवअधिकारको प्रत्याभूति गर्न पाउँदैनन्, त्यतिबेलासम्म देशको कुनै पनि क्षेत्र सुरक्षित र विकसित हुन सक्दैन । मानवअधिकारको समुचित प्रयोगले नै राष्ट्र निर्माणमा सहयोग पुग्नेछ ।’

मानवअधिकारको दुरुपयोग र अति स्वच्छन्दताले समेत समाजमा विकृति र विसंगति भित्रिने भएकाले सामाजिक न्यायका लागि मानवअधिकार अपरिहार्य रहेको उहाँले औंल्याउनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) का जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, सचिव धीरेन्द्र शर्माको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा एलाइन्सका जिल्ला र पालिका कमिटीका सदस्यहरुको सहभागीता थियो । एलाइन्सका जिल्ला अध्यक्ष तिलक पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन एलाइन्सकी सचिव हीरामाया थापाले गर्नुभएको थियो ।