२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

इमान्दारिता मेरो पहिलो प्राथमिकता : एसपी मनोज के.सी.

आइतवार , चैत्र २९, २०७७

भैरहवा, २९ चैत ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका नवआगन्तुक प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले स्वच्छता र इमान्दारिता आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । उनले इमान्दारिताका साथ काम गर्ने नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको ‘सञ्चारकर्मीहरुसंग चिया कार्यक्रम’ मा बोल्दै एसपी के.सी.ले भने, ‘म जति समयसम्म जिल्लामा बस्छु इमान्दारिताका साथ काम गर्छु, यहाँको सुरक्षा व्यवस्था अझ मजबुत बनाउन योजना बनाएर अगाडी बढछौं ।’ 

प्रहरी कार्यालयबाट हुने सेवा प्रवाहलाई अहिलेको भन्दा अझ चुस्तदुरुस्त बनाउने उनको भनाइ थियो । आश्वासन मात्र नभइ कामको हिसाबले अगाडी बढ्ने उनले बताए । 

अब प्रहरी इञ्चार्जहरुलाई प्रत्येक महिना ‘बेष्ट इन्टीग्रिटी अवार्ड प्रदान गरिने उनले बताए । ‘प्रत्येक महिना बेष्ट पुलिस अवार्ड नभई विभिन्न प्रहरी युनिटमा कार्यरत प्रहरी इञ्चार्जहरुलाई मुल्यांकन गरी ‘बेष्ट इन्टीग्रिटी अवार्ड’ प्रदान गर्नेछौं, एकै महिना ३/४ जना इञ्चार्जलाई अवार्ड प्रदान गर्दै जानेछौं, जुन इञ्चार्जले अवार्ड पाउनुहुँदैन, उहाँको कार्यसम्पादन कमजोर छ अथवा उहाँलाई त्यहाँबाट अन्यत्र पठाउने भन्ने बुझिन्छ, ’एसपी के.सी.ले भने । उनले जिल्लामा प्रहरी प्रमुखको रुपमा कति बस्ने भन्दा पनि कसरी बस्ने भन्ने विषय महत्वपूर्ण रहेको बताए । कोरोना महामारी रोकथामको लागि पहिलाबाट पनि पाठ सिकाइ भएकोले सोही अनुसार सतर्कता बढाइएको उनले बताए । 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले पत्रकारले सहज रुपमा सूचना पाउनुपर्ने बताए । उनले भने, ‘दोषी उम्किनुहुँदैन, निर्दोष फस्नुहुँदैन ।’

क्लबका उपाध्यक्ष सम्झना शर्माले प्रहरी र पत्रकारबीच समन्वय गरी शान्ति सुरक्षा मजबुत बनाउनुपर्ने बताइन् । क्लबका महासचिव कमल रायमाझीले प्रहरीको इमान्दारिताले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पत्रकार दीपक घिमिरेले शान्ति सुरक्षाको लागि प्रहरी प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

पत्रकार कृष्ण प्रसाद ढकालले स्रोतसाधन कमी भएकोले प्रहरीको आत्मबल बढाउनुपर्नेमा जोड दिए ।

पत्रकार भुवन पाण्डेले प्रहरी कार्यालयबाट छिटोछरितो सूचना पत्रकारलाई उपलब्ध गराउनुपर्ने बताए । पत्रकार मोहम्मद हबिबले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।