लुम्बिनी, २१ साउन । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले सरकारले लुम्बिनी विकास कोषको लागि कानून बनाइदिए लुम्बिनी गुरुयोजना कोष आफैँले बनाउने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नीति बनाइदिए गुरुयोजनाका लागि सरकारसँग कुनै रकम नमाग्ने र कर्मचारीहरुको पारिश्रमीक पनि कोष आफैँले व्यहोर्ने जिकिर गर्नुभयो ।
उहाँले आफू आउने बित्तिकै सबैथोक कायापलट हुने आफूले नभनेको भन्दै ऐन बनाएर दिए लुम्बिनी बनाउने बताउनु भयो । उहाँले कोषअन्तर्गत साढे ३ सय कर्मचारी रहेको र उनीहरु सबैको पारिश्रमीक कोषले व्यहोरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म आइसकेपछि लुम्बिनी दिनको रात एकदमै चेन्ज हुन्छ त्यो आशा गर्ने पनि गलत हो, मैले त्यो आशा पनि गरेको छैन । तर राज्यले पोलिसी बनाइदिनुपर्छ । गुरुयोजना नेपाल सरकारबाट चाहिँदैन । हामी बनाउँछौँ । तपाईंहरुले नेपाल सरकारबाट हामीले राज्यको संयन्त्र बनाइदिनुस् । पैसा हामी ल्याउँछौँ । गुरुयोजनाका लागि नेपाल सरकारको पैसा चाहिँदैन । साढे ३ सय कर्मचारी छ, त्यो तलव पनि हामी व्यहोर्छौं । तर पोलिसी बनाइदिनुस् । हामीसँग पोलिसी छैन । यो गम्भीर कुरा हो ।’
आफू थाइल्याण्डको कार्यक्रम र युनेस्कोको कार्यक्रमबाहेक अन्य विदेश भ्रमणमा नगएको दाबी गर्नुभयो ।