
आइतवार , श्रावण २५, २०८२
भैरहवा, २५ साउन । नेवाः खलः सिद्धार्थनगरको आयोजनामा आइतबार सामुहिक साःपारु (गाईजात्रा)को कार्यक्रम सम्पन्न भएको छ ।
खलका अध्यक्ष ई.चन्द्रभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्नुहुदै नेवार समुदायको संस्कति, पर्व, रितीरिवाजले नेपाल धनी रहेको बताउनुभयो । उहाँले नेवा खलको भवन निर्माणमा सहयोग गरे जस्तै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले स्थायी (पर्मानेन्ट) शेडको आवश्यकता र मागबमोजिम काम गर्ने बताउनुभयो ।
कार्यक्रममा खलका निवर्तमान अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले मन्त्रीबाट सहयोग पाउने विश्वास व्यक्त गर्दै भैरहवाको विकासमा सबैको साथ र सहयोगको कामना गर्नुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि दबाबमुलक कार्यक्रम अन्र्तगत आगामी उपनिर्वाचन बहिस्कार गर्न आग्रह गर्नुभयो ।
गाईजात्रा कार्यक्रममा निगुण भजन पितृहरुको सम्झनामा प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा संयोजक लता प्रधानको समूहले कारुणिक भजन प्रस्तुतीकरण गर्नुभएको थियो । गाईजात्रा कार्यक्रमका संयोजक विनिता श्रेष्ठको स्वागतमा भएको कार्यक्रमको सञ्चालन महासचिव विश्वराज श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र भुषाल, साहित्यकार वनमाली निराकार, पूर्व अध्यक्ष विजय सागर श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ, महेश्वर लाल श्रेष्ठ, दीपक श्रेष्ठ, सरस्वती श्रेष्ठ लगायतको आतिथ्यता थियो ।
कार्यक्रममा भजन संग्रहसहितको पुस्तक बिमोचन गरिएको थियो । औपचारिक कार्यक्रम पश्चात खलका पदाधिकारी तथा सदस्यहरु १ वर्षभित्र मृत्यु भएका घर घरमा पुगेर गाईजात्रा मनाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij