
शनिवार , श्रावण ३१, २०८२
भैरहवा, ३१ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ स्थित मेउडिहवामा नवनिर्मित सामदायिक धर्मशालाको उद्घाटन गरिएको छ । शनिबार सामुदायिक धर्मशाला संरक्षण समिति सि.न.पा.–२ मेउडिहवाले आयोजना गरेको धर्मशाला उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभाकी उपसभामुख मेनुका खाँण के.सीले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै उपसभामुख खाँणले धर्मशालाको उद्घाटन गर्न पाउने सौभाग्य प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘यो भवन तपाईहरुको लागि मात्र मात्र नभइ साझा प्रतीक रुपमा स्थापित हुनेछ ।’
उपसभामुख खाणले पूर्वमन्त्री स्वर्गीय दीपक बोहराको पहलमा धर्मशाला निर्माण भएको जानकारी पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले धर्मशाला निर्माणमा सहयोग गर्ने सबै धन्यवादको पात्र भएको बताउनुभयो । ‘पञ्चायतदेखि गणतान्त्रिक व्यवस्थासम्म स्वर्गीय बोहराले रुपन्देही र सिंगो देशको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ, हामीले इतिहासलाई कहिल्यै भुल्नहुँदैन, इतिहासलाई सम्मान गर्यौं भने इतिहासले पनि हामीलाई सम्मान गर्छ, ’उहाँले भन्नुभयो ।
उपसभामुख खाणले स्वर्गीय दीपक बोहराले घरदैलामो मत माग्ने क्रममा आफ्ना वाचा पूरा गरेको तथा विशेष गरी कृषि र पर्यटन क्षेत्रको विकासमा जोड दिनुभएको बताउनुभयो । त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले राम्रो दिनमा राम्रो कार्यको शुभारम्भ भएको बताउनुभयो । उहाँले यो धर्मशालाबाट स्थानीयबासी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख खाँले स्वर्गीय दीपक बोहराको योगदानको प्रशंसा गर्नुभयो ।
नगर उपप्रमुख उमा अधिकारीले नगरपालिकाको कदममा नगरबासीको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले ई-रिक्सा चल्नुहुँदैन भन्ने पक्षमा नगरपालिका नरहेता पनि यसलाई व्यवस्थित भने गर्नुपर्ने बताउनुभयो । उहाँले ई-रिक्सा चालकसँग अनिवार्य लाईसेन्स, ब्लबुक हुनुपर्ने र पालिकामा दर्ता हुनुपर्ने बताउनुभयो ।
पूर्व नगरप्रमुख सागर प्रताप राणाले यो धर्मशाला निर्माणका लागि स्वर्गीय दीपक बोहराको योगदान रहेको बताउनुभयो । उहाँले आगामी दिनमा यो धर्मशालालाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले धर्मशालाका लागि सरकारले थप बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । सिद्धार्थनगर–२ का अध्यक्ष छेदीलाल श्रीवास्तवले धर्मशाला निर्माणका क्रममा केही अवरोध पनि आएको बताउनुभयो ।
राप्रपाका युवा नेता प्रज्जवल बोहराले स्वर्गीय दीपक बोहराको सफल राजनीतिक इतिहास निर्माणमा जनताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । श्री दुर्गा सामूदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले निर्माण भएको धर्मशालाको संरक्षण आवश्यक रहेकोमा जोड दिनुभयो ।
मायादेवी च्यारिटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले यो भवनले यस क्षेत्रका नागरिकलाई सुविधा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी भीम बहादुर दर्लामी, प्रज्ञान टोल सुधार समितिका अध्यक्ष सतिश कुमार पाण्डे, सिद्धार्थ दुर्गा युवा क्लबका अध्यक्ष भिम बहादुर थापा लगायतले बोल्नुभएको थियो ।
सामुदायिक धर्मशाला संरक्षण समिति मेउडिहवाका अध्यक्ष श्याम कोहारको अध्यक्षता, उपाध्यक्ष काली कोहारको स्वागत तथा विरेन्द्र कुमार कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा धर्मशाला निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
६६ लाख ६५ हजार ९ सय १७ रुपैयाँ (भ्याटसहित) मा भवन निर्माण भएको र अन्य संरचना (पर्खाल) लगायत स्थानीय सरकार, समाजसेवी तथा स्थानीयबासीको सहयोगबाट निर्माण भएको अध्यक्ष श्याम कोहारले बताउनुभयो । संघन शहरी तथा भवन निर्माण आयोजना भैरहवा, रुपन्देहीले आयोजना स्वीकृत गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij