२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

मलाई गलत रुपमा प्रयोग गर्ने प्रयास नहोस् : प्रजिअ तामाङ

मंगलवार , चैत्र ३१, २०७७

बुटवल, ३१ चैत ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले राज्यले तय गरेका नीतिहरुको पालना गर्ने र गराउने विषयमा आफुले कुनै पनि प्रकारको सम्झौता नगर्ने बताएका छन् । उनले राज्यका नीति र ऐन कानुन मिच्ने वा पालना नगर्ने व्यक्ति र समूह सधै निगरानीमा रहने उल्लेख गर्दै नीत र ऐनको पालना नगर्नेहरु कै कारण मुलुकमा शान्ति सुरक्षामा समस्याहरु आउने गरेको बुझाइ रहेको बताए । उनले भने–‘मलाई कसैबाट पनि राज्यका नीतिनियम विपरीत गलत रुपमा प्रयोग गर्ने प्रयास नहोस् र म पनि इमान बेचेर कुनै काम गर्ने छैन् ।’  

नव वर्ष २०७८ को पूर्व सन्ध्यामा मंगलबार रुपन्देही व्यापार संघमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् । सो अवसरमा रुपन्देहीमा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी तामाङलाई संघकोतर्फबाट स्वागत तथा सम्मान गरिएको थियो । 

प्रजिअ तामाङले जिल्लामा रहदाँसम्म सबैको सहयोग र सबैसंगको सहकार्यमा यस क्षेत्रको समस्या समाधानमा दिनरात खट्ने प्रतिवद्ध व्यक्त गर्दै उद्योगी व्यवसायीहरुको सकारात्मक सहयोगको अपेक्षा आफुले राखेको बताए । उनले आफ्नो काम नागरिक र राज्यबीचको समन्वय गर्ने रहेको उल्लेख गर्दै बजारमा देखिने अराजकता र अनियमिता नियन्त्रण गर्दा प्रशासन र व्यवसाबीच द्वन्द्व हुन सक्ने हुँदा गलत कामलाई व्यवसायीहरुले स्थान दिने काम नगर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले नेपालको अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनको लागि निजी क्षेत्रको भूमिकालाई कसैले पनि नजरअन्दाज गर्न  नसक्ने बताउँदै राज्यका नीतिहरुमा रहेका समस्यालाई समाधान गर्दै जानुपर्ने धारणा राखे । उनले कोरोनाका कारण थला परेको व्यापार व्यवसायलाई फेरी दोस्रो चरणको कोरोना लहरले चिन्तित बनाउने त्रास बढेको उल्लेख गर्दै व्यवसाय सञ्चालन शैलीमा परिर्वतन गर्न सुझाव दिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टंकप्रसाद पराजुलीले नागरिकस्तरको काममा प्रशासनले कुनै प्रकारको झमेला हुने अवस्था आउने दिन नहुने बताए ।

संघका अध्यक्ष यमलाल लोहनीले २०७७ साल उद्योगी व्यवसायीहरुको लागि निकै नै कष्टकर रहेको उल्लेख गर्दै नयाँ वर्ष २०७८ साल उत्साहजनक बन्ने आशा व्यक्त गरे । उनले फेरी पनि कोरोना कहरका कारण समस्या बढेर जाने संकेत देखिएको हुँदा सबै सचेत र संयम बनेर व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेको स्वागत र महासचिव दयानिधि भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन संघका प्रथम उपाध्यक्ष दिल्ली भण्डारीले गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, सल्लाहकार, वस्तुगत समितिका संयोजकहरु तथा कर्मचारीको सहभागिता रहेको थियो । 

सोही अवसरमा संघ र कस्मेटीक तथा गिफ्ट उपसमितिद्वारा प्रकाशन गरिएको भित्ते क्यालेण्डर कार्यक्रमका प्रमुख अतिथि प्रजिअ तामाङले सार्वजनिक गरेका थिए । क्यालेण्डर प्रकाशनका लागि संघका कार्यसमिति सह–सचिव नामदेव पाण्डेको संयोजकत्वमा क्यालेण्डर प्रकाशन समिति गठन गरिएको थियो ।