२०८२, भाद्र ८ गते

Aug 24 2025 | २०८२, भाद्र ८ गते

बोगडी माविका विद्यार्थीहरुलाई एनसीसी तालिम

आइतवार , भाद्र ८, २०८२

  • 352
    Shares
  • 352
    Shares
  • भैरहवा, ८ भदौ । रुपन्देही कोटहीमाई गाउँपालिका–६ स्थित श्री बोगडी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु भएको छ । नेपाली सेनाले विद्यालयस्तरीय एकसय दिने तालिम शुक्रबारदेखि सुरु गरेको हो ।

    उक्त विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १५ जना छात्र र १५ जना छात्राहरुलाई सिनियर डिभिजनको तालिम सुरु गरेको बोगडी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गादत्त त्रिपाठीले बताउनुभयो । एकसय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम पुर्वी नवलपरासीको कावासोतीमा तालिम दिइने प्रधानाध्यापक त्रिपाठीले जानकारी दिनुभयो ।

    तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहीता, इमान्दारिता र बफादारीताबारे प्रशिक्षित गरिने तारा दल गण रामनगर बैरेक बुटवलका सेनानी रोसन बस्नेतले बताउनुभयो ।‘यसका अलावा सैन्यलगायत मानवीय, ठूलाबडालाई आदर सम्मान र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ’, उहाँले भन्नुभयो । उहाँका अनुसार विपद् व्यवस्थापन, सरसफाई तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइनेछ । तालिम पश्चात विद्यार्थीमा अनुशासन, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने अपेक्षा गरिएको सेनानी बस्नेतले बताउनुभयो ।

    नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वि.सं. २०२२ सालदेखि सुरु भएको उक्त तालिमा सिनियर डिभिजनतर्फ १३ हजार ९ सय २३ जना, जुनियर डिभिजनतर्फ ६८ हजार ४९ जना छात्रछात्रा तालिम लिएका उहाँले जानकारी दिनुभयो । तालिमपछि नेपाल सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन समेत गर्ने बस्नेतले बताउनुभयो । 

    तालिम शुभारम्भ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले यो तालिमपछि विद्यार्थीहरुलाई एक असल नेपाली नागरिकको अनुभुति गराउने बताउनुभयो । उहाँले तालिमले शारीरिक विकास, मानसिक विकास र सामाजिक जिम्मेवारीको विकास हुने बताउनुभयो । 

    WhatsApp Image 2025-08-24 at 12.43.53 PM.jpeg

    बोगडी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक राजेन्द्र यादवले एनसीसीको तालिम पाउने सबै विद्यार्थीहरुले भाग्यशाली रहेको बताउनुभयो । तालिमले असल नागरिकको मानसिक विकास, शारीरिक विकाससँगै देश रक्षकको भावनाको विकास हुने उहाँले बताउनुभयो ।