
सोमवार , भाद्र ९, २०८२
म आफैसँग लडिरहेको छु, मनमनै साहस खोजीरहेको छु, कहिले पूरा हार मेरो त कहिले दुःखको सागर, सुत्न खोज्छु निन्द्रा हराउँछ, उठ्न खोज्छु खुट्टा लरबराउँछ, खान खोज्छु भोक हराउँछ, बोल्न खोज्छु जिब्रो लरबराउँछ, हास्न पनि सक्दिन म रुन खोज्दा आँसु लुकिदिन्छ, दिल खोलर रुन मन छ, भित्र भएका सबै पीडा निकाल्न छ । तर, खै कहाँ जान्छ रुवाई पनि अनिभित्र भित्रै बेस्करी चिच्याउँछु न त कसैले सुन्छ यो म आफैभित्रको चिच्याहट मात्र एक मौन चित्याहट बनि रहि रहन्छ । आ........
माथिका हरफ जस्तै एक नराम्रो अनुभव हो डिप्रेशन, यसलाई गम्भीर मानसिक स्वास्थ्य समस्याको रुपमा लिने गरिन्छ । हेर्दा सबै सामान्य लागे पनि व्यक्तिभित्रको सोच, भावना, व्यवहार र दैनिक जीवनमा यसले गहिरो असर पारिरहेको हुन्छ । उ भित्रभित्रै रोएको हुन्छ, कराइरहेको हुन्छ, पीडा पोखिरहेको हुन्छ । तर, सुन्ने कोही हुँदैन आवाज निकाल्न उसले सक्दैन मलाई के नै भएको छ जस्तो देखाउँदै मनमनै रुँदै हिड्ने उ एक एक्लो यात्री जस्तो हुन्छ । सामान्य देखिन खोज्छ, आफ्नो कुराहरु शेयर गर्न खोज्छ । तर, खै केले रोक्छ उसलाई अनि मन भारी बनाउँदै नानाथरी नकारात्मक कुराहरु सोचिरहेको हुन्छ, बाहिरी दुनियाले हेर्दा ठीकठाक देखिन्छ । तर, उ भित्रभित्र गलिसकेको हुन्छ, पाकिसकेको हुन्छ । मनभित्रका पीडालाई भुल्न धेरै प्रयास गर्दा पनि नसकिरहेको परिस्थितिमा मनमा अनेकौ नकारात्मक तरंगहरु फैलिरहेको अवस्थामा अनि मन शान्त बनाउन गलत बाटोको सहारा लिन्छ अनि सवै दोष र पीडाको भारी बोक्दै जीवन बिलिन गराउँछ । यस्तो समयमा उसको रक्षा गर्ने र साथ अनि साहस दिने भनेको परिवारका सदस्य र निकट मित्रहरुले हो, परिवार र साथीहरु सबैले सबैको मनोभाव बुझ्न जरुरी हुन्छ । यस्तो बेलामा कसरी कुरा बुझ्ने त ? यदि कोही व्यक्ति लामो समयसम्म धेरै दुःखी वा निराश देखियो भने, उसले पहिला रमाइलो मानी गर्ने कामहरुमा रुची हराउँदैन गयो, धेरै थकान महसुस गर्न थाल्यो, रातीमा ननिदाउने, छटपटी गर्ने, खानपानमा रुचि नदेखाउने, आत्मग्लानी वा आफ्नो कमजोरी वा आफूलाई दोष देखाउने थाल्यो, एकाग्रता गुमाउन पुग्यो वा कहिले कहिले त आत्महत्याका कुराहरु गर्ने, त्यस्तै विषयवस्तुहरु अध्ययन गर्ने जस्तो महसुुस भएमा परिवारका सदस्यले यसलाई हल्का रुपमा लिनुहुँदैन यो एक गम्भीर समस्या वा संकेत हुन सक्छ ।
यो अवस्था यस्तो हो कि न त कतै घाउ देखिन्छ न कहीबाट रगत बग्छ, मात्र भित्रबाट मनमनै सिथिल हुने, आत्मग्लानी हुने अवस्था हुन्छ जसले गर्दा अरुले यो कुराको कुनै भनक समेत पाउँदैनन्, त्यसैले यसलाई गम्भिर प्रकृतिको रोगको रुपमा समेत व्याख्या गरेको पाइन्छ । डिप्रेशन भनेको मन खिन्न हुनु मात्र होइन यो त आफैभित्रको शत्रुसँगको नियमित लडाइ हो, अरुको हर्षभित्र आफ्नो पीडा लुकाउने माध्यम हो, हरेक दिन बिहान म किन बाँचिरहेछु भन्दै आपैmसँग लड्ने मन हो, निदाउन खोज्दा आँसु खसाल्ने क्षण हो । यो अत्यन्तै पीडादायी अवस्था हो यो समयमा आफैसँग आत्मग्लानी हुन, निरर्थकताको अनुभूतिहरु आउनु, मौन पीडामा जुन कसैलाई भन्न नसक्नु । यस्तो अचम्मको अवस्थामा सास त चलिरहेको हुन्छ तर, जीवन हराएको अनुभूति हुन्छ । अनुहार हाँसिरहेको हुन्छ । तर, भित्रभित्र एक ठूलो युद्ध चलिरहेको हुन्छ । शरीर त एक देखिन्छ तर भित्रभित्रै उ टुक्राटुक्रा भएको अनुभूति गरेको हुन्छ । यस्तो युद्ध जो आफैसँग हुन्छ न त हार न त जीत मात्र चलिरहेको हुन्छ मौनतामा निसासिदै दौडिरहेको....................
कुनै पनि व्यक्तिलाई डिप्रेशनका लक्षणहरु देखिनासाथ वा उसको हाउभाउ चालचलन फरक देखिनासाथ हामी कसैले पनि चाहे त्यो परिवारका सदस्य होस् वा साथीभाइ सबैले त्यसको निदानको बाटो अपनाउनुपर्ने हुन्छ । परिवारका सदस्यहरुले उसको कुरालाई सुनिदिने, झगडा नगरिदिने, सम्झाउने यो एक रोग हो कमजारी होइन भनी बुझिदिने, सकेसम्म उसलाई समय दिने, एक्लो महसुस हुन नदिने र हिम्मत बढाउन प्रेरणा प्रदान गर्नुपर्छ । यदि व्यक्तिले अलि बढी अत्महत्या सम्बन्धी कुराहरु गरिरहेको छ भने मानसिक स्वास्थ्यसम्बन्धी डाक्टरहरुको परामर्श तत्काल लिनुपर्छ । यो एक निकै नहुने रोग भने होइन यसको लक्षण समयमा नै आंकलन गर्न सकिएको अवस्थामा र व्यक्तिको नियमित जीवनशैलीलाई परिवर्तन गर्न सकिएको अवस्थामा ठीक गराउन सकिन्छ । यसका लागि निश्चित समयमा उठ्ने, खाने, सुत्ने गर्नुपर्छ भने योग, ध्यान र शारीरिक गतिविधिहरुलाई पनि निरन्तरता दिनु लाभदायक मानिन्छ ।
शरीरका लागि आवश्यक पर्ने सन्तुलित भोजन, मनपर्ने संगीत, विभिन्न लेखहरु लेख्ने बानी, चित्र बनाउने वा पुस्तकहरु पढ्ने बानीका साथै मनलाई सकेसम्म नकारात्मक सोचबाट टाढा गर्ने र सकारात्मक सोच राख्न सक्ने वा आफ्नो दृष्टिकोणलाई बदल्ने प्रयास गर्ने भने हामी वा परिवारका सदस्यहरुलाई डिप्रेशनको शिकार हुनबाट बचाउन सकिन्छ । यो रोग जो धेरै सोच्छ, जो अरुलाई खुसी राख्न आपूmलाई थिच्छ, जो भित्रभित्रै कमजोर छ तर, बाहिर बलियो देखिन्छ, सपनाहरु धेरै साथ दिने कोही छैन यस्ता व्यक्तिहरु धेरै जसो डिप्रेसनको शिकार भएको हुन्छ ।
निष्कर्षमा भन्नुपर्दा डिप्रेशन एउटा निको हुने मानसिक रोग हो यो अपराध होइन, आफुभित्रका पीडालाई रातपछि दिनको कल्पना गर्नु, प्रेम, प्रकृति, प्रार्थना र पाठमा समय दिने, नियमित योग ध्यान र मेडिटेशन गर्ने, विशेषज्ञको सल्लाह लिने, मनमा खेलिरहेका कुराहरुलाई परिवार वा नजिकको साथीसँग साटासाट गर्ने, आफूलाई दोष नदिने भने फेरी उज्यालो देखिन्छ भन्ने कुरामा आत्मविश्वास रहने हो भने यसबाट बाहिर आउन समय लाग्नेछैन । हामीले सम्झनैपर्ने कुरा के भने, कहिले न कहिले कसै न कसैलाई जीवनले पछार्छ, हार मान्नु पनि पर्छ तर, त्यो नै जीवनको अन्त्य हो भनेर सोच्नुभएन, जीवन दुःखद छैन, केवल केही अध्यायहरु मात्र कठिन हुन् भन्ने भावलाई तिमी आज रुन्छौ, ठीक छ तर पर्सी फेरि हाँस्नेछौ, उज्यालो जीवन देख्नेछौ, त्यसैले डिप्रेशन भनेको सहानुभूति, समझदारी र प्रेमले निको पारिने एउटा पीडा मात्र हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij