२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कोभिड–१९ रोकथामको लागि सिद्धार्थनगरले गर्‍यो कडाइ

बिहिवार , श्रावण २९, २०७७

भैरहवा, २९ साउन ।
कोरोना भाइरस (कोभिड–१९) का कारण दैनिक रुपमा नेपालका विभिन्न जिल्लामा संक्रमण बढिरहेको छ । सोहीअनुरुप रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्र भित्र पनि कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या बढेको भन्दै सो को रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले कडाइ गरेको छ । 

नगरप्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले सामूहिक भेला लगायतका कार्यक्रम गर्न रोक लगाउने लगायतका  निर्णय गरेको हो ।  

मानिसहरुको जमघट, भेटघाट बैठक समिक्षा गोष्ठी छलफल सामूहिक भेलाका कार्यक्रमहरु नगर्ने नगराउने बैठकले निर्णय गरेको छ । धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका अन्य गतिविधिहरु सञ्चालन नगर्ने तथा चाडपर्वहरु स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालन गरेर मात्र आ–आफ्ना परिवारका सदस्यहरुले मनाउने पनि नगरपालिकाले निर्णय गरेको छ । 

शैक्षिक संस्थाहरुका प्रशासनिक कार्य बाहेकका अन्य गतिविधिहरु अर्को थप निर्णय नभए सम्मका लागि सञ्चालन नगर्ने पनि निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले बताए । उद्योग–कलकारखाना तथा पसलहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गराइ मात्र सञ्चालन गर्ने निर्णय भएको मरासिनीले जानकारी दिए ।

उद्योगहरुले नै आफ्ना कामदारहरुलाई राख्न क्वारेन्टिन तथा आइसोलेसनका पुर्वाधारको व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । 

बैक, सहकारी लघुवित्त एवं अन्य वित्तीय संघ–संस्था लगायतका जनतासंग प्रत्यक्ष सम्पर्कमा रहि सेवा प्रभाव गर्ने सबै कार्यालय वा संघ संस्थाले कम जनशक्ति परिचालन गरी विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने पनि बैठकको निर्णय छ । 

नगरपालिका र वडा कार्यालयबाट स्वास्थ्य सेवा, सरसफाई दमकल र अन्य अत्यावश्यक सेवाबाहेकका बाँकी सबै सेवाहरु साउन २९ देखि भदौ ५ गतेसम्म सञ्चालन नगर्ने निर्णय पनि भएको नगरपालिकाले जनाएको छ । 

अत्यावश्यक सेवाका लागि सार्वजनिक विदा बाहेकका दिनमा बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म मात्र कार्यालय सञ्चालन गर्ने पनि नगरपालिकाको बैठकले निर्णय गरेको छ । 

यातायातका साधनहरु अत्यावश्यक कामका लागि बाहेक प्रयोग नगर्न सबैलाई अनुरोध गर्ने पनि जनाएको छ । विभिन्न संघ–संस्थाहरुलाई कारोनो संक्रमणबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिदिन पनि नगरपालिकाले आग्रह गरेको छ । 

घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, स्वास्थ्य सर्तकता अपनाउन सबैलाई अनुरोध पनि नगरपालिकाले गरेको छ । भारतीय सीमामा थप कडा गर्ने, अनुमति प्राप्त व्यक्ति मात्र प्रवेशका लागि आवश्यक व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय तथा प्रहरी कार्यालयमा अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ । 

कोराना भाइरसको संक्रमणको जटिलताका आधारमा नगरपालिकाले जुनसुकै समयमा पनि आवश्यक निर्णय गरी थप व्यवस्थापन पनि गर्न सक्ने निर्णय पनि बैठकले गरेको छ ।