२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

गजे घले : भीसीदेखि भेडीगोठसम्म पुस्तक पढेपछि .... !

बिहिवार , भाद्र १२, २०८२

  • 166
    Shares
  • 166
    Shares
  • गजे घले, भिक्टोरिया क्रस पाउने नेपाली योद्वा हुन् । सन् १९१८ अक्टोबर १ मा गोरखाको बारपाकमा जन्मिएका उनले जापानी सेनाविरुद्व वर्मामा ब्रिटीस भारतीय सेनाकोतर्फबाट बहादुरीपूर्वक लडेवापत बेलायत सरकारले प्रदान गर्ने सहासी सैनिक पदक भिक्टोरिया क्रस प्राप्त गरेका थिए ।

    एकजना नेपाली योद्वाले भारतीय सेनामा भर्ति भएर जापानी सेनाकाविरुद्वमा जेहाद छेडेको र बुद्धिमतापूर्ण लडाइँबाट गोरखा सैनिकले सफलता हासिल गरेको युद्वकथा सुन्दा अचम्मै लाग्छ । सोही युद्वमा ज्यानको बाजी थापेर आफू बाँचे, साथीहरुलाई बचाए अनि विरोधीहरुलाई खुकुरीले मूला काटेजस्तै काटे, कर्कला छप्काएजस्तै छप्काए । त्यही भएर बेलायत सरकारले भिक्टोरिया क्रस प्रदान गर्याे, विकट ठाउँ गोरखाको बारपाकी गजे घलेलाई । उनमा रणकौशल अत्यधिक देखिन्छ । युद्व रणनीतिमा माहिर भेटिन्छन् उनी ।

    गोलीबाट बालबाल बाँचेका उनले घाइते हुँदा समेत वीरतापूर्वक लडेर आफ्नो टीमको सफलतामा टेको हालेको गजे घले पुस्तक पढेपछि थाहा लाग्छ । 
    सानै उमेरमा गोरखा पल्टनका लागि ब्यायजमा प्रवेश गरी लाहुरे बनेका गजेले भिक्टोरिया क्रस किन र कसरी प्राप्त गरे भन्ने कुरा उनकै बेलायती कमाण्डरबाट आकस्मिक रुपमा थाहा पाउँदा गजे अस्पतालको बेडमा उपचार्थ थिए ।

    गजेले चीनसम्म पुगेर नुन बोकेर ल्याउँदाका दर्दनात्मक कथा र भेडीगोठमा बिताएका क्षणलाई फिल्मी शैलीमा बयान गरेकी छन् लेखकले । साहित्यको सहाराले पुस्तकको महत्व ह्वात्तै बढेको छ । जीवनमा गजेबाट सिक्नुपर्ने कुरा धेरै छन् । त्याग्नुपर्ने कमै छन् ।

    निरक्षर गजेले व्यायजमा भर्ना भएपछि साक्षर हुने अवसर प्राप्त गरेका थिए । उनलाई बेलायत लैजाने कोशिस थियो । तर, उनले भारतको अल्मोडामा जीवनलीला समाप्त गरे । उनकै नाममा सोही ठाउँमा भव्य पार्क, शालिक बनाईएको छ ।  हालसालै नेपालको गोरखा बारपाकमा गजे घले स्मारक बनाईएको छ । उनका घरपरिवार र आफन्तीका सहयोगमा उक्त स्मारक बनाईएको हो । यसले गजे घलेलाई चीरस्मरण गराई रहनेछ ।

    उक्त पुस्तकले युद्वकालीन परिवेश, पहिलो र दोस्रो विश्वयुद्व ताकाको घटना र पुर्याएको क्षतिका बारेमा बुझ्न पनि गजे घले पुस्तक पढ्नुपर्ने देखिन्छ । परिवारजनले मात्र होइन, तत्कालीन राजा त्रिभुवन र राणा प्रधानमन्त्री जुद्व शम्सेरले गरेको सम्मान अतुलनीय छ । हुन त उनलाई बेलायती सरकारले बेलायतमै भव्य रुपमा सम्मान गरेको थियो ।  गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा देशकातर्फबाट उनलाई नेपाल ताराले सम्मान गरेको थाहा पाइन्छ । इतिहास विषयमा स्नातकोत्तर, गोरखामा जन्मिएकी लेखक रेखा भन्ताद्वारा लिखित सो पुस्तक हामी सबैका लागि संग्रहणीय र पठनीय छ । 
    भीसी गजे घले नेपाल तारा फाउण्डेशनले पहिलो पटक एक हजारप्रति पुस्तक प्रकाशन गरि हामी सबैलाई अमूल्य गुन लगाएको छ । क्याप्टेन गजेका दुई श्रीमती र आठ छोराछोरी भएको पुस्तक पढेपछि थाहा लाग्छ । निवृत्त सैनिक जीवन उनले भारतको अल्मोडामा बिताए । सन्  २००० मार्च २८ मा ८१ वर्षको उमेरमा उनले आफ्नो देह त्यागे ।

    हालसम्म १३ जना नेपालीले उक्त भिक्टोरिया क्रस प्राप्त गर्न सफल भएका छन् । भारतको कुँडाघाटमा भर्ति भएर बहादुरीताका साथ लडेर नेपालीको सान उचो राख्न सफल गजे घलेलाई लाख सलाम ।