२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

मापदण्डविपरीत सुनचाँदी पसल संचालनमा

बिहिवार , बैशाख २, २०७८

भैरहवा, २ वैशाख ।
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाले सिद्धार्थनगर नगरपालिकामा रहेका सुनचाँदी पसलहरुको अनुगमन गरेको छ । निर्देशनालयका निरीक्षक अधिकृत मित्रलाल ढकालको संयोजकत्वमा नगरका १० सुनचाँदी पसलहरुको अनुगमन भएको थियो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रतिनिधि बालकृष्ण आचार्य, गुणस्तर तथा नापतौल कार्यालय बुटवलबाट प्रकाश बस्नेत, बोधराज ढकाल, उपभोक्ता मंचबाट भगवती भण्डारी, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीबाट मंगल भण्डारी, निर्देशनालयबाट राज कुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

भैरहवा बजारको गल्लामण्डी र बैंक रोडमा गरिएको अनुगमनका क्रममा धेरै पसलहरु सरकारी नियम तथा मापदण्डविपरीत सञ्चालन भएको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाले जनाएको छ ।

अनुगमनका क्रममा केही व्यवसायीहरु पसलहरु सटर बन्द गरेर भागेका थिए भने कतिपयले पसलहरुमा भएको सुनचाँदी लुकाएर व्यापार गर्न सामान नभएको भनेर अनुगमन टोलीलाई झुक्याउने गरेको अनुगमन टोलीका सदस्यहरुको भनाइ छ ।
मुल्यसूची नराखेको, तौल मेसीन नविकरण नगरेको, तौल कम गराउने मेसीन राखेको, बिल बिजक नभएका केही सुनचाँदी पसलहरु समेत अनुगमनमा भेटिएको थियो । बिल विजक प्रयोग नगरेको भेटिएपछि संगम सुनचाँदी पसल गल्लामण्डीलाई अनुगमनकै क्रममा  रु. ५ हजार जरिवाना गरिएको समेत अनुगमन टोलीले बताएको छ ।

सरकारले तोकेको सबै मापदण्ड अनुसार सञ्चालनमा रहेको वजरंगी ज्वेलर्स गल्लामण्डीलाई अनुगमन टोलीले प्रशंसा समेत गरेको थियो ।

धेरै सुनचाँदी पसलहरु नियमविपरीत सञ्चालनमा रहेको देखिए भने केही पसलहरु भने सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालनमा रहेको अनुगमन टोलीले जानकारी दिएको छ ।  अनुगमनलाई अब निरन्तरता दिने उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले जनाएको छ ।