
सोमवार , भाद्र १६, २०८२
तिलोत्तमा, १६ भदौ । रुपन्देहीसहित देशैभरीका निजी विद्यालयका सञ्चालकहरूले सडकमा खाली बससहित विरोध प्रदर्शन गरेका छन् । आन्दोलन अन्र्तगत तिलोत्तमाको मुख्य राजमार्गमा पनि रुपन्देहीका निजी विद्यालयका सयौं बसहरु कालो झण्डासहित शिक्षा विधेयकको विरोधमा उत्रिएको देखिन्थ्यो ।
शिक्षा विधेयकको विरोध गरिरहेका निजी विद्यालयका सञ्चालकहरूले केन्द्रको निर्देशन अनुसार स्कूले बससहितको र्याली निकालेको प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालले जानकारी दिनुभयो । प्याब्सन, एन प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा तिलोत्तमाको ६ लेनमा खाली बस ठड्याएर विरोध जनाएको खनालले बताउनुभयो ।
सोमबार दिउँसो सिक्सलेन सडकखण्डको बुटवल, योगीकोटी, ड्राइभरटोल, नयाँमिल, मणिग्राम, कफी कम्पनी, मंगलापुर, भलवारी हुदै भैरहवासम्म नै सयौंको संख्यामा निजी विद्यालयका बसहरुलाई लामबद्ध रुपमा सडक छेउमा पार्किङ गरी राखिएको थियो ।
विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ लगायतका शब्द हटाउन माग गर्दै रुपन्देहीसहित देशैभरीका निजी विद्यालयका सञ्चालकहरु अहिले आन्दोलनमा छन् । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् । केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा निजी विद्यालयका स्कूलका बस निकालेर विरोध जनाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij